बुटवल-नारायणगढ सडक ठेकेदारलाई अन्तिम २१ दिने समय, प्रगति नदेखिए ठेक्का तोडिने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बुटवल-नारायणगढ सडक ठेकेदारलाई अन्तिम २१ दिने समय, प्रगति नदेखिए ठेक्का तोडिने

विमल खतिवडा

काठमाडौँ — निर्माणमा प्रगति नभएको भन्दै सूचना निकालेर ठेक्का तोड्ने तयारी गरिएको नारायणगढ–बुटवल ठेकेदार कम्पनीलाई फेरि थप २१ दिनको समय दिइएको छ । गत असोज ९ गते नारायणगढ–बुटवल सडक योजना कार्यालयले सार्वजनिक सूचना प्रकाशन गर्दै २८ दिनभित्र अपेक्षाकृत प्रगति नदेखिए सिधै ठेक्का तोडिने चेतावनी दिएको थियो । तर प्रगति नभएपनि ठेकेदारको आग्रहमा अन्तिम पटक २१ दिनको समय दिइएको योजना कार्यालयले जनाएको छ ।


थपिएको समय अनुसार कात्तिक २९ भित्र ठेकेदारले निर्माण प्रगति बढाउनु पर्ने छ । आयोजना निर्देशनालयका निर्देशक सुशीलबाबु ढकालका अनुसार उक्त समयभित्र प्रगति नबढे ठेक्का तोडिने छ । अन्तर्राष्ट्रिय परामर्शदाताबाट २१ दिनको समय दिने निर्णय भएको उनले जानकारी दिए । 'यसअघि दिइएको समयमा १० दिनजति अस्वभाविक वर्षा भएकाले सोचेजस्तो काम गर्न नपाएको भन्दै ठेकेदारले समय थप गर्न माग गरेको थियो' निर्देशक ढकालले भने । निर्माण कम्पनीले यसअघि थपिएको समयमा उल्लेख्य प्रगति गरेकाले पनि २१ दिनको समय दिने निर्णय भएको उनको भनाइ छ ।

‘पहिलाका सबै शर्तहरु कायम हुने गरेर समय थप गरिएको हो,’ उनले भने, ‘तर यो अन्तिम मौका हो, फेरि थपिएको समयमा प्रगति नभए बीचमै ठेक्का तोड्न सकिने छ ।’ २८ दिनको समयमा के कति प्रगति भयो भन्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुन थापासहितको टोली स्थलगत अध्ययनका लागि सोमबार जाने उनले बताए ।

‘पटक पटक सचेत गराउँदा पनि काम नगरे अन्तिम विकल्पका रुपमा ठेक्का तोड्ने नै हो,’ निर्देशक ढकालले भने, ‘त्यसैले अब राम्रो काम गरे काम गर्न दिइने छ, नभए कुनै बहानाबाजीमा ठेक्का तोड्न रोकिने छैन ।’ यसको ठेक्का आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । तर म्याद सकिँदा प्रगति बल्ल २० प्रतिशत हाराहारी छ । गत साउन २२ मा पूर्वी खण्डमा ३८४ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थपिएको छ । ‘थपिएको समयमा खाल्डाखुल्डी पुर्नुपर्छ भनिएको थियो, त्यो पुरा गरेको छैन,’ उनले भने, ‘प्रगति पनि बढाउन भनिएको थियो, त्यो पनि हुन सकेन, अब पटक पटक खाल्डाखुल्डी पुर्न भन्न नपरोस्, आफ्नो दायित्वभित्र परेपछि यो काम आफैं जानेर गर्नु पर्छ ।’

प्रकाशित : कार्तिक १३, २०७९ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्

पीएम कप : आर्मीमाथि एपीएफको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — पीएम कपको समूह ‘ए’ अन्तर्गत आइतबार भएको विभागीय डर्बीमा एपीएफले आर्मीलाई ५६ रनले हराएको छ । टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ४७.४ ओभरमा अलआउट हुन अगाडि २ सय १९ रन बनायो । त्यसमा प्रारम्भिक ब्याटर प्रदीप ऐरीले ८० बलमा ७१ रन बनाए ।

यस्तै सुदीप जोराले ६२ बलमा ५० रनको योगदान दिए । एपीएफका लागि विक्रम सोबले २३ रनमा चार विकेट लिए ।

जवाफमा आर्मीले ३२.१ ओभरमा अलआउट हुन अगाडि १ सय ६३ रनमात्र बनाउन सक्यो । त्यसमा हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाए पनि त्यो पर्याप्त रहेन । अमर रौटेलाले चार विकेट लिए ।

प्रकाशित : कार्तिक १३, २०७९ १६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×