कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तीन साताभित्र ३० हजार टन युरिया आउँदै

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजरले पठाएको दर रेट स्वीकृत गरेर कृषि सामग्री कम्पनीले ३० हजार टन युरिया मलको भुक्तानीसमेत पठायो
राजेश मिश्र

नयाँदिल्ली — भारतबाट पहिलो खेप युरिया मल नेपाल भित्रिने निश्चित भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले पहिलो खेपका लागि ३० हजार टन युरिया मल खरिद प्रक्रिया पूरा गरेको छ । जीटूजी सम्झौताअन्तर्गत पहिलो पटक मल किन्न लागिएको कम्पनीका महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले जनाए ।

तीन साताभित्र ३० हजार टन युरिया आउँदै

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) ले पठाएको दर रेट स्वीकृत गरेर कम्पनीले ३० हजार टन युरिया मलको भुक्तानीसमेत पठाएको छ । ‘बढीमा आगामी तीन साताभित्रै भारतबाट मल भित्रिन सुरु हुन्छ,’ उनले भने, ‘गहुँ तथा मकैलगायत बालीका लागि समयमै मल आपूर्ति हुनेछ ।’

गत फेब्रुअरीमा भारतसँग सरकारीस्तरमा मल खरिदको सम्झौता भएको थियो । तर त्यसको महिनौंपछि जुलाई १७ मा मात्रै मलको कारोबार गर्ने भारतीय सरकारी कम्पनी आरसीएफ र कृषि सामग्री कम्पनीबीच खरिदबिक्रीको सहमति भएको थियो । त्यही सहमतिअनुसार मल ल्याउने अन्तिम चरणमा रहेको कार्कीले बताए । यसअघि ग्लोबल टेन्डरबाट मात्रै मल खरिद गरिँदै आएको थियो । पहिलो पटक भारत सरकारअन्तर्गतको कम्पनीबाट सीधै सरकारी तहमा भएको सम्झौताअनुसार मल ल्याउन लागिएको हो ।

ग्लोबल टेन्डरको तुलनामा अहिलेको प्रक्रियामा मलको मूल्य सस्तो तथा कम झन्झटिलो भएको कार्कीको भनाइ छ । ग्लोबल टेन्डरबाट प्रतिस्पर्धा गराउँदा सरदर शून्य दशमलव ४६ प्रतिशत (०.४६) मात्रै सस्तो पाइने गरेकामा यस पटक अनुमानित बजार मूल्यभन्दा झन्डै दुई प्रतिशत सस्तोमा मल किनिएको उनको दाबी छ । अन्तर्राष्ट्रियस्तरको मूल्य मूल्यांकनका आधारमा अहिले १ दशमलव ९४७ (१.९४७) प्रतिशतले सस्तो परेको उनले जानकारी दिए । प्रतिटन ७ सय ६८ अमेरिकी डलरमा भारतबाट युरिया मल किनिएको हो । त्यसमा नेपालको पोइन्टसम्म ढुवानी तथा प्याकेजिङलगायत खर्च पनि समावेश छन् ।

भारतीय कम्पनी आरसीएफले विराटनगर, वीरगन्ज र भैरहवाको नेपाली सीमा क्षेत्रमा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म मलको ढुवानी गर्नेछ । सरकारी तहमा भएको सम्झौताअनुसार ५ वर्षका लागि भारत आफूले तेस्रो मुलुकबाट किनेकै मूल्यमा नेपाललाई तोकिएको अनुपातमा मल दिनेछ । पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार र चौथो अनि पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग किन्न पाउनेछ । त्यसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी हुनेछ । कृषि मन्त्रालयले वार्षिक रूपमा ५ लाख २० हजार रासायनिक मल किन्ने लक्ष्य राखेको छ । ‘पहिलो अभ्यास गर्न लागिएको हो, अहिलेको अनुभवपछि थप मल ल्याउने प्रक्रियामा जानेछौं,’ कार्कीले भने ।

प्रकाशित : कार्तिक १३, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×