२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

२०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव ईयूद्वारा पारित  

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार प्रभावकारी रुपमा प्रतिबन्ध गर्ने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको छ । जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि पनि त्यस्ता कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान ईयूका मुलुक एकमत भएका छन् ।

२०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव ईयूद्वारा पारित  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यससम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने यूरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनीहरु पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् । ‘यो सहमतिले यूरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको कुरा पुष्टि गर्छ’ ईयू जलवायु नीति प्रमुख फ्रान्स टिम्मरम्यानले भने ।

साथै नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने प्रस्ताव पनि स्वीकृत भएको छ । यूरोपेली कार उद्योग संघ (एसीईए)ले कार्बन उत्सर्जन बढी गर्ने इन्जिनलाई प्रतिबन्ध गरी अति कम मात्रामा उत्सर्जन हुने इन्जिनलाई प्रोत्साहन गर्न प्रस्ताव गर्दै आएको थियो । ईयूले बिहीबार पूर्णता दिएको सहमतिअनुसार अब यूरोपियन युनियनले २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक मस्यौदा तयार गर्नेछ ।

प्रकाशित : कार्तिक ११, २०७९ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?