१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

अमेरिका–चीन चिप युद्ध

कान्तिपुर संवाददाता

एजेन्सी — बेइजिङ आपूर्ति हुने सेमिकन्डक्टर चिप र त्यसको निर्माणलाई आवश्यक पर्ने उपकरणको प्रवाहमा संयुक्त राज्य अमेरिकाले नयाँ प्रतिबन्ध लगाइदिएको छ । अक्टोबर ७ (असोज २१) मा अमेरिकी वाणिज्य विभागले उन्नत किसिमका सेमिकन्डक्टर चीनमा गरिने ढुवानीका लागि अनुमति प्रक्रिया लम्ब्याइदिएको थियो । चिप निर्यातसँगै अमेरिकी नागरिकलाई चीनका चिप कारखानामा काम गर्नसमेत प्रतिबन्ध लगाएको फोर्ब्सको समाचारमा उल्लेख छ ।

अमेरिका–चीन चिप युद्ध

अमेरिका–चीन चिप विवादका कारण हाल विश्वभरिका चिप उत्पादक कम्पनीको सेयर मूल्यमा गिराटवट आएको छ । सेमिकन्डक्टर निर्माता एनभिडिया कम्पनीको सेयर मूल्य पछिल्लो समय ६९ प्रतिशतले घटेको छ । इन्टेलको सेयर मूल्यमा ५६ प्रतिशत, माइक्रोनको ५० प्रतिशत र एमडीको ६७ प्रतिशतले कमी आएको एसिया टाइम्सले लेखेको छ । नेदरल्यान्ड्सको सेमिकन्डक्टर निर्माता कम्पनी एएसएमएलको सेयर मूल्य ५९ र जापानी निर्माता टोकियो इलेक्ट्रोन र स्क्रिन होल्डिङसको सेयर मूल्य क्रमशः ५० र ४४ प्रतिशतले घटेका छन् । अमेरिकी निर्यात नियन्त्रणपछि पश्चिमा आपूर्तिकर्ताहरूले समेत चिनियाँ चिप निर्माताहरूलाई सहयोग गर्न छाडेका छन् ।

चिप निर्माणलाई आवश्यक उपकरण उत्पादन गर्ने विश्वकै ठूला कम्पनीमध्येको एक एएसएमएलले अमेरिकास्थित आफ्ना कर्मचारीलाई कुनै पनि चिनियाँ चिप कारखानामा उपकरण वा सेवा नदिन भनेको छ । अर्को कम्पनी अप्लाइड म्याटेरियल्सले यो प्रतिबन्धका कारण चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा करिब ४० करोड डलर बराबरको बिक्री प्रभावित हुने द वासिङटन पोस्टलाई बताएको उल्लेख छ ।

दूरसञ्चार, कम्प्युटिङ, सैन्य प्रणाली, यातायात, स्वच्छ ऊर्जालगायत विविध क्षेत्रका विद्युतीय उपकरणलाई नभई नहुने सेमिकन्डक्टरलाई लिएर अमेरिका र चीनबीच यसअघि पनि तनाव भएको थियो । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई फाइभजी नेटवर्क विस्तारका लागि आवश्यक सेमिकन्डक्टर चिप वितरणमा अवरोध खडा गरिदिएका थिए ।

त्यो बेला कुनै एक निजी कम्पनीलाई लक्ष्य गरेर सेमिकन्डक्टर चिप प्रवाहमा रोक लगाएको अमेरिकाले यस पटक सिंगो देशमै आपूर्ति प्रतिबन्ध लगाएको बताइन्छ । अमेरकाले प्रविधि नियन्त्रणमा एकाधिकार कायम गर्न यो कदम चालेको जन हप्किन्स विश्वविद्यालयका प्रोफेसर हल ब्रान्ड्सले ब्लुमबर्गमा लेखेका छन् । अमेरिकाले एमभिडिया र एएमडीले बनाउने उच्चस्तरीय जीपीयू चिप र इन्टेल तथा एएमडीको सीपीयू चिप निर्यातमा कडाइ गरेको छ । यी चिप सैन्य प्रणालीका सुपरकम्प्युटरमा प्रयोग हुन्छन् ।

चीनमा यो प्रतिबन्ध लगाए पनि सेमिकन्डक्टर उत्पादनमा आफ्नो प्रभुत्व पुनः कायम गर्न अमेरिकालाई चुनौती रहेको साउथ चाइना मर्निङ पोस्टका अमेरिकी संवाददाता मार्क म्याग्नियरले चिप विवादसम्बन्धीको समाचारमा लेखेका छन् । ‘लडाकु विमान, ड्रोन, जटिल सैन्य हार्डवेयरलगायत उपकरण निर्माणलाई चाहिने उन्नत चिप निर्माणमा एसियाली प्रतिस्पर्धीले अमेरिकालाई उछिनिसकेका छन्,’ म्याग्नियरले लेखेका छन्, ‘विश्वको सबैभन्दा उन्नत चिप्सको झन्डै ९० प्रतिशत उत्पादन ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले गर्छ । वा सामसङ सेमिकन्डक्टर ग्लोबल जस्ता कम्पनीसँग अमेरिकी चिप उद्योगले प्रतिस्पर्धा गर्न अब लामै समय कुनुपर्ला ।’ यद्यपि अमेरिकाले आफ्नो प्रयास जारी राखेको छ । जुलाईमा अमेरिकी संसद्ले ५२ अर्ब ७० करोड डलरको चिप्स तथा विज्ञान ऐन पारित गरेको थियो । सेमिकन्डक्टर चिप निर्यातमा प्रतिबन्ध लगाउनुअघि अमेरिकाले सेन्झेनमा रहेको प्रख्यात ड्रोन निर्माता कम्पनी डीजेआई टेक्नोलोजीको, हुवावे टेक्नोलोजी, बीजीआई जेनोमिक्स जस्ता प्रविधि कम्पनीमा प्रतिबन्ध लगाएको थियो । सेमिकन्डक्टर निर्यातमा रोक लगाइएको पछिल्लो कदमले भने अमेरिका–चीन प्रविधि युद्धलाई सघन बनाई दुईपक्षीय सम्बन्ध थप बिगार्ने बताइन्छ । पहिलो औद्योगिक क्रान्तिमा जीवाष्म इन्धनले ठूलो भूमिका निर्वाह गरेझैं अबको चौथो औद्योगिक क्रान्तिमा सेमिकन्डक्टरको भूमिका प्रमुख हुने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

डेटा र आर्टिफिसियल इन्टेलिजेन्सको अहिलेको दौडमा जसले सेमिकन्डक्टर निर्माण र निर्यातमा प्रभुत्व जमाउन सक्छ, ऊ नै अबका दिनमा सबैभन्दा प्रभावशाली हुने भएकाले ठूला देशमा यसमा हानथाप गरिरहेका छन् । नेपाल जस्ता गरिब देशमा सेमिकन्डक्टर आयात गरिन्छ । भारतसमेत सेमिकन्डक्टर आयातमै निर्भर छ । भदौमा गुजरात सरकारले सेमिकन्डक्टर र डिस्प्ले फ्याब स्थापनाका लागि वेदान्त र फक्सकन समूहसँग १.५४ लाख कारोडको समझदारी गरेको थियो । चीनले कच्चा तेलमा गर्ने खर्चभन्दा बढी मूल्यको सेमिकन्डक्टर आयात गर्ने बताइन्छ ।

बाइडेन प्रशासनको भनाइअनुसार पछिल्लो निर्यात नियन्त्रणको उद्देश्य सामूहिक विनाशका हत्यासहित व्यापारिक र सैन्य प्रविधिमा प्रयोग हुने महँगा र उन्नत सेमिकन्डक्टर चिपको चीनमा उत्पादन घटाउनु हो । हाई–टेक चिप उत्पादन तथा निर्यातमा हाल ताइवान, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्सजस्ता देशको दबदबा छ ।

डिजिटल डिभाइसहरूमा विद्युत्को प्रवाहलाई नियन्त्रण गर्न सेमिकन्डक्टर आवश्यक पर्छ । यसलाई विद्युतीय डिभाइसको दिमाग भन्ने गरिन्छ । सेमिकन्डक्टर चिपमार्फत नै डिभाइसहरूमा डेटा प्रोसेसिङको काम हुन्छ । स्मार्टफोनदेखि, कार, ल्यापटप, डोर बेलदेखि लडाकु विमानलगायत सबै इलेक्ट्रोनिक डिभाइसमा सेमिकन्डर चिप प्रयोग गरिन्छ ।

प्रकाशित : कार्तिक ६, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?