२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुक्खा बन्दरगाहमा थन्किए ४० करोडका नयाँ गाडी, किन लैजान खाेज्दैनन् व्यापारी ?

कान्तिपुर संवाददाता

पर्सा — आयातकर्ता (व्यापारी) ले जाँचपास गराएर नलैजाँदा सिर्सिया सुक्खा बन्दरगाहको यार्डमा आयातित पाँच दर्जन बढी महँगा सवारी साधन थन्किएका छन् । ती सवारीसाधनको मूल्य करिब ४० करोड रुपैयाँ बराबर रहेको छ । बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले बन्दरगाहको यार्डमा तेस्रो मुलुकबाट आयातित ६५ वटा महँगा कार रहेको बताए ।

सुक्खा बन्दरगाहमा थन्किए ४० करोडका नयाँ गाडी, किन लैजान खाेज्दैनन् व्यापारी ?

‘आयातकर्ताले जाँचपास गराई लैजान चाहेका छैनन्,’ उनले भने, ‘वाणिज्य बैंकले अटो लोनमा लगानी बन्द गरेपछि आयातकर्ताले ग्राहकको अभावमा यसो गरेको हुन सक्छन् ।’ ग्राहकले सोरुममा आएर गाडी बुक गरेपछि मात्रै कतिपय आयातकर्ताले यहाँबाट सवारी साधन छुटाएर लैजाने प्रवृत्ति रहेको पनि उनले बताए ।

‘विशेषगरी काठमाडौंमा रहेका सोरुमहरुले यसो गर्छन्,’ उनले भने, ‘काठमाडौंमा गोदाम राख्नु भन्दा बन्दरगाहमा बिलम्ब शुल्क तिर्न सस्तो पर्ने भएकाले पनि उनीहरुले यहीं थन्काउने गर्छन् ।’ बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्यालीका प्रशासकीय अधिकृत अतुल शर्माले हाल बन्दरगाहको यार्डमा रहेका कारमध्ये एउटा ‘मसिर्डिज’ सन् २०१८ देखि थन्किएको छ । २०१९ देखिका १५ वटा, २०२० देखि २ वटा इलेक्ट्रिक कार यहाँ थन्किएका छन् । २०२१ देखिका ११ र २०२२ यताका २० कार रहेको उनले बताए । बन्दरगाहमा यस्ता कारको मासिक ६ हजार रुपैयाँ मात्र भाडा लाग्ने भएकाले कार आयातकर्ताले भन्सार यार्डलाई गोदामकै रुपमा प्रयोग गर्ने प्रवृत्ति रहेको उनले बताए ।

करिब ४० करोड रुपैयाँ बराबरको कार हाल भन्सारको यार्डमा रहेको उनको भनाइ छ । भन्सार यार्डमा रहेका नयाँ सवारीमा अधिकांश चीनबाट आयात भएका हुन् । नेपालमा सवारी साधन खरिद गर्ने कुल ग्राहकमध्ये २० प्रतिशतले मात्र डाउन पेमेन्ट र बाँकी ८० प्रतिशतले बैंक लोन मार्फत सवारी साधन खरिद गर्ने गरेकोमा हाल बैंकले नै लोन नदिएकाले सवारी साधनको खरिद बिक्री घटेकाले पनि यहाँ थन्किएको जानकार बताउँछन् ।

प्रकाशित : कार्तिक ४, २०७९ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?