कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलनले युक्रेनको स्टारलिंक इन्टरनेट सेवामा थप लगानी नगर्ने

युक्रेनको एक मात्र इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई खतम गर्न रुस लागिपरेको मस्कको भनाइ
कान्तिपुर संवाददाता

काठमाडौँ — युक्रेनलाई उपलब्ध गराउँदै आएको स्टारलिंक इन्टरनेट सेवाको शुल्क स्पेस एक्सले सँधैभरी तिरिरहन नसक्ने इलन मस्कले बताएका छन् । किभसँगको सम्बन्ध बिग्रिँदै गएपछि युक्रेनलाई आवश्यक इन्टरनेट सेवाका लागि आफ्नो सट्टा अमेरिकी सरकारले लगानी गनुपर्ने खर्बपती मस्कले बताउन थालेका छन् ।

इलनले युक्रेनको स्टारलिंक इन्टरनेट सेवामा थप लगानी नगर्ने

गएको फेब्रुअरीमा मस्कले युक्रेनी सैनिक र नागरिकलाई अनलाइन सञ्चारमा जोडिरहन आफ्नो कम्पनीको स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराएका थिए । ‘हामीले विगतका खर्च फिर्ता मागेका होइनौं तर अनिश्चितकालका लागि पैसा तिरिरहन पनि सक्दैनौं,’ मस्कले ट्वीटरमा थप लेखेका छन्, ‘भूउपग्र र ग्राउन्ड स्टेसनहरू बनाउन, सञ्चालन र ममर्त गर्नेदेखि टेलिकम कम्पनीहरूलाई इन्टरनेट पहुँच विस्तारका लागि हामीले शुल्क तिर्नुपर्छ । साइबार आक्रमण र इन्टरनेट अवरोधविरुद्ध पनि लडिरहेका छौं, यो महँगो हुँदै गएको छ । मासिक २ करोडजति खर्च हुन्छ ।’

युक्रेनमा स्याटलाइट इन्टरनेटमार्फत् ब्रोडब्यान्ड सेवा प्रदान गर्दै आफ्नो कम्पनी, स्टारलिंकले थप सेवा दिन नसक्ने विषयमा मस्कले पछिल्ला दिनहरूमा धमाधम ट्वीट गरिरहेका छन् । रुसबाट युक्रेनी जमिन फिर्ता ल्याउन स्टारलिंकको इन्टरनेट युक्रेनी सेनालाई निकै महत्वपूर्ण भइरहेको छ । तर, रुसले आफ्नो भनेका भूभागहरूमा जनमत संग्रह गरी त्यहाँका बासिन्दाले युक्रेन र रुसमध्ये जे रोज्छन्, ती जमिन त्यतै गाभिनुपर्ने मस्कको पछिल्लो विचारले युक्रेन र उनीबीच विवाद बढाएको छ ।

बीबीसीको समाचारअनुसार सयभन्दा बढी रुसी हमलापछि बिग्रिएका पूर्वाधार पुनः निर्माणका लागि यो साता युक्रेनले स्टारलिंकलाई सहयोग गरेको छ । तर, यसका लागि मासिक २ करोड डलर चाहिने मस्कले बताएका छन् । युक्रेनलाई अनलाइन सेवा उपलब्ध गराउन स्पेस एक्सले हालसम्म ८ करोड डलर खर्च गरेको मस्कको भनाइ छ ।

मस्कसँगको विवाद मत्थर गर्ने अभिप्रायले युक्रेनका उप–प्रधानमन्त्री मिखाइलो फेडोरोभले युक्रेनलाई सहयोग गर्ने विश्वका ठूला दाताहरूमध्ये मस्क एक भएको ट्वीटरमार्फत् बताएका छन् । स्टारलिंक सेवा जारी राख्न युक्रेनले कुनै न कुनै उपाय पहिल्याउने युक्रेनी राष्ट्रपतिका सल्लाहकारले बताएको बीबीसीले जनाएको छ । युक्रेनमा स्टारलिंक एक मात्र इन्टरनेट सेवा प्रदायक भएको र यसलाई सखाप पार्न रुस लागिपरेको मस्कले शनिबार बताएका छन् ।

‘युद्धग्रस्त क्षेत्रमा इन्टरनेट फाइबर, फोन लाइन, सेल टावर र अन्य सञ्चार माध्मयहरू सबै ध्वस्त पारिएका छन्,’ मस्कले ट्वीटर लेखेका छन्, ‘हाललाई एक मात्र बचेको भनेको स्टारलिंक हो । यसलाई खतम गर्न रुस सक्रिय रूपमा लागिपरेको छ । प्रतिरक्षाका लागि स्पेस एक्सले ठूलो साधनस्रोत जुटाइरहेको छ । त्यति हुँदा हुँदै पनि स्टारलिंक युक्रेनमा नरहन सक्छ ।’

प्रकाशित : आश्विन २९, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?