कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

राष्ट्रिय प्रसारणमा जोडियो दोर्दीको २५ मेगावाट बिजुली

सिभिल संरचना, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सबै उपकरणको परीक्षण सकियो
आश गुरुङ

लमजुङ — लमजुङको दोर्दीखोलामा निर्मित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दोर्दीखोलाको पानी प्रयोग गरेर दोर्दी गाउँपालिका–६ मा यो आयोजना निर्माण गरिएको छ ।

राष्ट्रिय प्रसारणमा जोडियो दोर्दीको २५ मेगावाट बिजुली

बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने भनिएकामा उत्पादन परीक्षणका क्रममा केही प्राविधिक समस्या आउने भएकाले शुक्रबारबाट मात्रै उत्पादन परीक्षण थालिएको आयोजनाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्र, विद्युत् व्यापार विभागसहितका ४ वटा विभागबाट इन्जिनियर आएका छन् । प्राधिकरणले नजिकै दोर्दी करिडोरको सबस्टेसन निर्माण गरेकाले आयोजनाले २ सय मिटर मात्रै प्रसारण लाइन निर्माण गर्नुपरेको छ । दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइसकेकाले दोर्दीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले उक्त आयोजना निर्माण गरेको हो । सिभिल संरचना, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सबै उपकरणको परीक्षणपछि परीक्षण उत्पादन थालिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जनाए । ‘हामीले परीक्षण उत्पादन थालेका छौं । अब प्रक्रिया पुर्‍याएर १५ दिनपछि हाम्रो विद्युत्को मिटर घुम्छ,’ उनले भने ।

गतवर्ष निर्माण कार्य सकिनै लागेको अवस्थामा असारमा दोर्दीखोलामा बाढीपहिरो आएपछि इन्टेकलगायत भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । पछिल्लो समय ०७६ चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । कोरोना महामारी, बाढीपहिरो र पछिल्लो समय प्रसारण लाइन समयमा निर्माण नहुँदा आयोजना निर्माण पूरा हुन ढिलाइ भएको लिबर्टीका प्रबन्ध निर्देशक डा. आत्मराम घिमिरेले जनाए ।

आयोजनाले ०७१ फागुनबाट निर्माण सुरु गर्दा ०७४ असार मसान्तभित्र निर्माण सक्ने लक्ष्य राखेको थियो । आयोजनाले ०७२ वैशाखको भूकम्प र त्यसपछि नाकाबन्दी खेपेकोमा पछि बाढीपहिरो र कोरोना संकट पनि बेहोर्नुपर्‍यो । तसर्थ आयोजना सक्न ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार खर्च हुने प्रक्षेपण गरिएकामा यसको लागत बढेर ४ अर्ब ६४ करोड ६१ लाख पुगेको आयोजना स्रोतले बताएको छ । सुरुमा ३ अर्ब ९६ करोडमा डिजाइन भएको थियो ।

नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ९ वटा बैंकले लगानी गरेको उक्त आयोजनामा ७० प्रतिशत बैंक कर्जा र ३० प्रतिशत प्रवर्द्धकको स्वपुँजी (इक्विटी) छ । आयोजनाले प्रभावित क्षेत्रको विकासका लागि ६ करोड विनियोजन गरेको थियो । दोर्दी करिडोरको विद्युत् प्रवाह बोक्न प्राधिकरणले दोर्दी गाउँपालिका ६, कीर्तिपुरबेंसीमा १३२/११ केभी सबस्टेसन निर्माण गरेको छ ।

बीचमा दोर्दी १ जलविद्युत् आयोजनाले निर्माण गरेको साढे ३ किमि र मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा स्विचयाड गर्न साढे १ किमिको सिंगल सर्किट निर्माण गरेको छ । वैकल्पिक रूपमा निर्मित प्रसारण लाइनले दोर्दी करिडोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न मद्दत पुगेको हो ।

प्रकाशित : आश्विन २९, २०७९ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?