२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने, कर्जाको बढ्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले कात्तिकमा भने नबढाउने भएका छन् । ब्याजदर बढाएकै भरमा निक्षेप नथपिने र अहिले बढाएको ब्याजदरले बढेको लागत आउँदो माघदेखि मात्र ब्याजदरमा जोड्न पाइने भएकाले कात्तिकमा ब्याजदर स्थिर राख्ने निष्कर्षमा बैकहरू पुगेका हुन् ।

कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने, कर्जाको बढ्दै

‘कात्तिक महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘सोही निर्णय अनुसार कात्तिकका लागि पनि बैंकहरुले असोजकै ब्याजदर प्रकाशित गर्नेछन् ।’ ब्याजदर घटाउने सम्बन्धमा सुझाव दिन गठित समितिबाट पनि कुनै स्पष्ट निर्देशन नआएको, एक महिनाअघि (असोज)मा मात्र ब्याजदर बढाइएको लगायत कारण कात्तिकमा निक्षेपको ब्याजदर स्थिर रहने एक बैंकरले बताए । उक्त निर्णय अनुसार अब बैंकहरुले कात्तिकका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । यो हालकै (असोज महिना) बराबर हो । जसअनुसार संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत कायम हुनेछ । व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिने बैंकले बचतमा कम्तीमा पनि ७.१३३ प्रतिशत ब्याज दिनुपर्नेछ ।

गत चैत देखि भदौसम्म वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर कायम गरिएको थियो । तर गत भदौमा बैंकहरुले १० प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर बढाएर १२.१३ प्रतिशत बनाउने निर्णय गरे । सोही अनुसार बैंकहरुले असोजको लागि ब्याजदर पनि प्रकाशित गरे । तर एउटा बैंकले १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गर्‍यो । त्यो ब्याजदर घटाउन संघमार्फत उक्त बैंकलाई आग्रह पनि गरियो । उक्त बैंकले ब्याजदर घटाउन अटेर गरेपछि राष्ट्र बैंकको राय लिएर सबै बैंकले एक वर्षे मुद्दती निक्षेपमा अधिकत १२.१३३ प्रतिशत नै ब्याजदर प्रकाशित गरे ।

राष्ट्र बैंकको निर्देशन अनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले याे महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन । यसपटक भने बैंकर्स संघको आग्रहमा राष्ट्र बैंकले दुई पटक ब्याजदर प्रकाशित गर्न अनुमति दिएको थियो ।

आउँदो कात्तिकदेखि बैंक तथा वित्तीय संस्थाले कर्जा (नयाँ पुराना दुवै) को ब्याजदर बढाउने भएका छन् । गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा भएको वृद्धिअनुसार कात्तिकदेखि लागू हुने गरी बढाउने भएका हुन् । गत असारको तुलनामा असोज मसान्तसम्म बैंकहरूको आधार दर औसत ०.६० प्रतिशत बिन्दुले बढ्ने देखिएको छ । सोही अनुपातमा कात्तिकदेखि लागू हुने गरी बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका हुन् ।

प्रकाशित : आश्विन २७, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?