२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सवारी आयात प्रतिबन्ध फुकुवाको माग

रोकावटले मुद्रा सञ्चितिमा ठूलो योगदान नगरेको व्यवसायीको दाबी
विमल खतिवडा

काठमाडौँ — जिप, कार र भ्यान आयातमा लगाएको प्रतिबन्धले विदेशी विनिमय सञ्चितिमा ठूलो योगदान नगरेको भन्दै फुकुवा गर्न व्यवसायीले माग गरेका छन् । आयात प्रतिबन्धका कारण उल्टै सरकारको राजस्व गुमेको भन्दै तत्काल प्रतिबन्ध खोल्नुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।

सवारी आयात प्रतिबन्ध फुकुवाको माग

सवारीसाधन आयात प्रतिबन्धले अर्थतन्त्रमा सहयोग पुर्‍याउनुको सट्टा थप असर गरेकाले आयात खुला गर्नुपर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए । ‘जे उद्देश्यले आयातमा प्रतिबन्ध लगाइएको छ, त्यसमा सुधार हुँदै गएको छ,’ उनले भने, ‘त्यसैले आयात खुलाउनुपर्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशन गर्दै विदेशी विनिमय सञ्चिति कम भएको भन्दै १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । दोस्रो पटक गत असार ३१ मा राजपत्रमा सूचना प्रकाशन गर्दै मन्त्रालयले पुनः उक्त वस्तुहरूको आयातमा भदौ १४ सम्म बन्देज लगाएको थियो । जसमध्ये ४ वटा वस्तुको आयातमा पुनः असोज २८ सम्म रोक लगाइएको छ ।

‘नेपालमा १६ खर्बका विभिन्न सामान आयात हुन्छन्, त्यसमा १८ अर्ब रुपैयाँ हाराहारीका कार, जिप भ्यान र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात हुन्छन्,’ उनले भने, ‘त्यसैले यसको आयात खोल्दा विदेशी विनिमय सञ्चितिमा खासै ठूलो असर पर्दैन ।’ कुल राजस्वमा अटोमोबाइल क्षेत्रको योगदान ९ प्रतिशत रहेको र प्रतिबन्धले सरकारलाई उल्टै घाटा भएको थापाले बताए ।

‘सवारी आयातमा कहिलेसम्म प्रतिबन्ध लगाउने हो ?,’ उनले भने, ‘अटोमोबाइल क्षेत्रले प्रत्यक्ष रोजगारीमा १ लाख र अप्रत्यक्ष रूपमा झन्डै १० लाखलाई रोजगारी दिएको छ । आर्थिक वर्ष ०७८/७९ मा करिब ९९ अर्ब बराबरको सवारीसाधन आयात हुँदा सरकारलाई ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाइएको छ ।’

कुल आयात बराबर नै राजस्व बुझाउनेमा अटोमोबाइल क्षेत्र पर्ने उनले जनाए । वैशाखमा आयात प्रतिबन्ध लगाउनुअघि प्रतीतपत्र (एलसी) खोलेका सवारीसाधन असार, साउनमा आएको र त्यसपछि बजार सुस्ताउँदै गएको उनको भनाइ छ ।

‘प्रतिबन्ध लगाइएको तासको आयात खोलिसकिएको छ, भोलि मदिराको आयात खोलेर सवारी आयातको प्रतिबन्ध कायमै राखे के गर्ने ?,’ उनले भने, ‘घाटा सरकारलाई नै छ ।’ सबैभन्दा बढी सवारीसाधन दसैं–तिहारमा बिक्री हुन्छन् । तर यस पटक चाडपर्वमा पनि सवारीसाधन बिक्री नभएको उनले बताए ।

‘अघिपछि कुल आयातको ४० प्रतिशत सवारीसाधन असोज, कात्तिक र मंसिरमा मात्र बिक्री हुन्थे,’ उनले भने, ‘यस पटक पहिल्यै एलसी खोलेर मौज्दात रहेका केही कार, जिप बिक्री भए । तर धेरैको मौज्दात भदौमै सकिएको थियो, माग भए पनि सवारीसाधन नहुँदा बिक्री गर्न पाइएन ।’

असोज २८ सम्म लगाइएको प्रतिबन्ध खोले सवारीसाधन पुसमा मात्र आउने उनले जनाए । ‘त्यसैले जति ढिलो आयात खोल्यो,’ उनले भने, ‘त्यति नै सवारी आयातमा ढिला हुन्छ ।’ असोज ६ मा नाडा ईभी एक्स्पो उद्घाटनका क्रममा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अवस्था हेरेर रोक्का गरिएका सवारीसाधन आयात फुकुवा गर्ने तयारीमा सरकार रहेको बताएका थिए ।

‘प्रतिबन्ध लगाइएका धेरै वस्तुको आयात खुलिसकेको छ,’ त्यतिबेला उनले भनेका थिए, ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालय प्रतिनिधिसहितको समितिले गरेको निर्णय हो, केही दिनपछि अवस्था हेरेर प्रतिबन्ध लगाइएका सवारीको आयातमा नयाँ निर्णय लिइनेछ ।’

विदेशी विनिमय सञ्चितिमा कमी आएपछि राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले पनि सवारीसाधन आयातमा कमी आएको उनको भनाइ थियो । ‘नाडा सरकारलाई सबैभन्दा बढी राजस्व बुझाउने र रोजगारी सिर्जना गर्ने काममा अघि छ,’ अर्थमन्त्री शर्माले भनेका थिए, ‘आयात फुकुवा गर्ने कुरामा छलफल गरेर अघि बढ्न सकिन्छ ।’

तर उनले यस्तो अभिव्यक्ति दिएको महिना दिन बित्दा पनि आयात प्रतिबन्ध खोल्ने निकाय मौन छ । आयात प्रतिबन्ध खोल्नेबारे अहिलेसम्म केही निर्णय नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायाले बताए ।

‘विदेशी विनिमय सञ्चितिका लागि आयात रोकिएको हो, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल नगरी यसबारे केही भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘यसबारे मन्त्रालयमा मंगलबार छलफल गर्छौं ।’ अर्थ मन्त्रालयलाई राजस्वको चाप परेको हुन सक्ने उनको भनाइ छ । ‘त्यसैले प्रतिबन्ध खोल्नैपर्ने कुरा छ, सबैभन्दा बढी राजस्व गाडी, मदिराबाटै आउने हो,’ उनले भने, ‘यसमा हामीले मात्र निर्णय गर्न मिल्दैन, सबैसँग सल्लाह गरेर मात्र निर्णय हुनेछ ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशी विनिमयको सञ्चितिमा झिनो सुधार छ ।

गत साउनमा कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो १.५ प्रतिशतले घटेको हो । गत असारमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो ।

सरकारले गत वैशाखमा सबै प्रकारका तयारी मदिरा, स्मार्ट फोन, जिप, कार, भ्यान, १५० सीसीभन्दा माथिका मोटरसाइकललगायत १० वस्तुको आयात रोकेको थियो । सरकारको यस कदमले आयातमा कमी आएकाले पछिल्ला महिनामा विदेशी मुद्रा सञ्चितिमा झिनो सुधार देखिन थालेको छ ।

यद्यपि गत भदौमा सरकारले यसअघि रोक्का गरेका १० वस्तुमध्ये ६ वटाको आयात प्रतिबन्ध खुलाइसकेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७९ असारमा ९ अर्ब ५४ करोड रहेकोमा ०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : आश्विन २५, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?