कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिजिटल दक्षिणा

दसैंको दक्षिणा बैंक खातामा पठाइदिनेदेखि घरायसी सामग्री किन्दासम्म ई–पेमेन्ट सजिलो
सजना बराल

काठमाडौँ — यसपालिको सोह्र श्राद्धमा पण्डित नीरु बरालले १४ घरमा श्राद्ध गरे । तीमध्ये पाँच वटा घरमा मोबाइलबाट गुरुदक्षिणा प्राप्त गरे । ‘पोहोर पनि एक जना यजमानले मोबाइलबाट मेरो बैंक खातामा दक्षिणा जम्मा गरिदिएका थिए,’ कपन बस्ने पण्डित बरालले भने, ‘यसपालि ई–सेवा, खल्ती, कनेक्ट आईपीएस छ कि छैन भनेर धेरै यजमानले मलाई सोध्नुभयो ।’

डिजिटल दक्षिणा

पूजापाठ गराउन थालेको एक दशकमा कोरोना महामारीपछि मात्रै मोबाइलबाट दक्षिणा पाउन थालेको उनले बताए । पहिला–पहिला खाममा हालेर दक्षिणा पाइने गरेकामा अचेल बैंक खातामा सीधै जम्मा हुँदा सजिलो हुने बरालको भनाइ छ । ‘आजभोलि हरेक कर्मकाण्डमा गौदान र भेटीबाहेक गुरुलाई दिने द्रव्य मोबाइलबाट पठाउने चलन आएको छ,’ उनले भने, ‘यो राम्रै हो, पैसा बचत गर्न सजिलो हुन्छ ।’ पोहोरको दसैंमा बुढानीलकण्ठका मोहनकुमार दाहालले आफन्तजनलाई खाममा पैसा हालेर दक्षिणा दिएनन् । सबैलाई मोबाइलबाट ट्रान्सफर गरिदिए । यसपालि पनि उनले पाँच र दस रुपैयाँका बाहेक नयाँ नोट लिएका छैनन् । आफूले दक्षिणा दिनुपर्ने सबैलाई मोबाइलमै पठाइदिने बताए ।

‘सबैको मोबाइलमा कुनै न कुनै डिजिटल वालेट वा बैंकका एप भइहाल्छन्,’ उनले भने, ‘त्यसमै पठाइदिन सजिलो हुन्छ । मेरी बूढी आमाले चाहिँ मोबाइल बोक्नुहुन्न । उहाँको बैंक खातामा दक्षिणा जम्मा गरिदिन्छु ।’ पूजा–आजा र भगवान्लाई भेटी चढाउन सिक्का पैसा र पाँच/दसका नयाँ नोट लिएको दाहालले बताए ।

मातातीर्थकी सपना बस्नेतले यसपालिको दसैंमा किनमेल गर्दा मोबाइलबाट पैसा तिरिरहेको जनाइन् । भाटभटेनीमा लुगा किन्दा फोनपेको क्यूआर कोड स्क्यान गरेको उनको भनाइ छ । ‘१२/१३ हजारका लुगाफाटो किन्दा एउटा झोला सित्तैमा पाइयो,’ उनले भनिन्, ‘फोनपे गर्दा त्यति सुविधा भयो ।’ असन बजारमा प्रेसर कुकर किन्दा खल्ती एपबाट पैसा तिरेको उनले जनाइन् । जता पनि मोबाइलबाटै पैसा तिर्न सकिने सुविधाले सहज भएको उनको भनाइ छ ।

दसैंलाई नगदरहित रूपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रयत्न गरिरहँदा सर्वसाधारण पनि त्यसमा अभ्यस्त हुन थालेका छन् । कोभिड महामारीयता दसैंको कारोबार डिजिटल माध्यमबाट हुने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकमा नयाँ नोट लिनेको भीड बर्सेनि पातलिँदै गएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

‘विगतका वर्षको भन्दा यसपालि नयाँ नोट लिनेको संख्या र भीड कम भएको छ,’ उनले भने, ‘समग्र कारोबार डिजिटल माध्यमबाट हुन थालेकाले नयाँ नोटप्रतिको आकर्षण थोरै कम भएको हो ।’ हाल बजारमा चलनचल्तीमा रहेको मुद्रा २५ अर्बले बढेको उनको भनाइ छ । भदौ २६ बाट राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा नयाँ नोट दिन सुरु गरेको थियो । त्यस दिनदेखि असोज १५ गतेसम्म सानो र ठूलो दरका गरी ५६ अर्बका रुपैयाँ वितरण गरिएका छन् । ‘विगतका वर्षभन्दा यो कम हो,’ प्रवक्ता भट्टले भने, ‘यसको अर्थ, नयाँ नोट लिनुभन्दा डिजिटल कारोबारमा मानिसहरू लागेका हुन् भन्ने बुझ्न सकिएला ।’ अघिल्ला वर्षझैं यसपालि पनि बैंक, वित्तीय संस्था र डिजिटल वालेट कम्पनीहरूले डिजिटल दक्षिणा र डिजिटल दसैंका अनेक योजना सार्वजनिक गरेका छन् । दसैंमा पैसाको कारोबारलाई सुरक्षित बनाउन डिजिटल दक्षिणाको योजना ल्याउने गरेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘कोरोना संक्रमण उच्च रहेका बेला नोटबाट पनि संक्रमण सर्ने जोखिम थियो,’ उनले भने, ‘त्यसबाट बच्न डिजिटल दक्षिणा उपयोगी थियो । अहिले पनि दसैंमा डिजिटल कारोबार बढिरहेकै छ । र, अझै सहज बन्दै गएको छ ।’

अघिल्ला वर्षझैं नबिल बैंकले यसपालि पनि डिजिटल दक्षिणालाई प्रवद्र्धन गरिरहेको छ । अघिल्लो वर्ष माछापुच्छ्ेर बैंकले माछापुच्छ्रे मोबाइल मनीमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक प्रदान गरेको थियो । बैंक अफ काठमान्डूले डिजिटल दक्षिण योजनामा नगद उपहार दिने घोषणा गरेको थियो । त्यसअनुसार ग्राहकले तीन पटक तीन जनालाई मोबाइल बैंकिङ एप प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार रुपैयाँ वा सोभन्दा बढी भएमा ३ सय रुपैयाँ नगद उपहार दिने बताएको थियो ।

यसपालि बैंक वित्तीय संस्था र वालेट सेवा प्रदायकहरूले डिजिटल दक्षिणासँगै डिजिटल कारोबारसम्बन्धी योजनालाई धेरै प्रचार गरिरहेका छन् । डिजिटल कारोबार गर्दा क्यासब्याक, नगद र अन्य उपहार दिने घोषणा गरेका छन् । ई–सेवाले दसैंको उपलक्ष्यमा ‘दसैंको उमङ्ग, डिजिटल सपिङसँग’ योजना सार्वजनिक गरेको छ । यस स्किममा भाग लिएर विभिन्न उपहार पाउन सकिने ई–सेवाले जनाएको छ ।

‘ई–सेवा दसैं स्पेसलमा गई रु. १ मा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि नयाँ दिल्लीसम्मको हवाई टिकट प्राप्त गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘रु. १ मै दुई जना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जी मोबाइल प्राप्त गर्न सक्नेछन् ।’ खल्ती वालेटले पनि ‘खल्तीफुल दसैं’ योजनाअन्तर्गत दसैं सपिङमा १० प्रतिशत क्यासब्याकलगायत अफर ल्याएको छ । ‘चाडपर्वका बेला खुद्रा कारोबार बढी हुन्छ,’ खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘आममानिसको खर्च गर्ने टेन्डेन्सी बढ्छ । यो बेला विभिन्न अफर दिँदा ग्राहकले १०/२० प्रतिशत जोगाउन सक्छन् । विशेषत: डिजिटल कारोबारप्रति अभ्यस्त बनाउन हामीले योजनाहरू ल्याएका हौं ।’

दसैंका बेला कागजी नोट जतन गर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । डिजिटल कारोबारले त्यसमा मद्दत पुग्ने प्रवक्ता भट्टले बताए । नोटलाई जतनसाथ आवश्यक कामका लागि मात्रै प्रयोग गर्न, नोटमा रङ नलगाउन, केरमेट नगर्न, पानीमा नभिजाउन, टाँका वा स्टिच नलगाउन, नच्याउन राष्ट्र बैंकले आग्रह गरेको छ । यसको विकल्पमा मिलेजति स्थितिमा डिजिटल कारोबार गर्न भनेको छ । ‘दसैंका बेला टीका लगाउँदै हिँड्नेलाई गोजी वा पर्समा पैसा बोक्न झ्याउ हुन सक्छ,’ भट्टले भने, ‘कता–कता दौडिरहँदा नोट हराउने, बिग्रिने हुन्छ । टीका लाउने, लाइदिने दुवै जनाको मोबाइल त्यहीँ हुन्छ, फन्ड ट्रान्सफर गरे भयो । मोबाइलमै दक्षिणा आयो भने सजिलो हुन्छ । अहिले अप्ठ्यारो लागे पनि डिजिटल दक्षिणा बिस्तारै सामान्य कुरा बन्छ ।’

प्रकाशित : आश्विन १६, २०७९ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?