कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछाप–लुक्ला उडान सुरु

टीकाप्रसाद भट्ट

रामेछाप — निजी क्षेत्रका तीन वटा हवाई कम्पनीले रामेछापबाट सोलुखुम्बुको लुक्ला विमानस्थलका लागि शनिबारदेखि उडान सुरु गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले ती कम्पनीलाई काठमाडौंबाट उडान कटौती गरी रामेछापबाट लुक्कातर्फको उडान गर्न निर्देशन दिएको थियो ।

रामेछाप–लुक्ला उडान सुरु

प्राधिकरणको निर्देशनअनुसार शनिबारदेखि वायुसेवा कम्पनीले रामेछाप–लुक्ला उडान थालेका हुन् । निजी क्षेत्रको तारा, सीता र समिट एयरले रामेछाप–लुक्लाका लागि उडान गर्न शुक्रबार नै केही जहाज रामेछाप विमानस्थलमा रात्रिकालीन पार्किङ गरेका थिए । लुक्लाका लागि उडान हुने सिजन भर अब रामेछाप भएरै उडान गर्ने तालिका ती कम्पनीको छ । त्यसका लागि जहाज र उडानसँग सम्बन्धित सबै कर्मचारीहरूलाई रामेछापमा नै राख्ने व्यवस्था वायुसेवा कम्पनीले मिलाएका छन् ।

रामेछाप विमानस्थल, नागरिक उड्डयन कार्यालयका एटिसी केदार सत्यालका अनुसार शनिबार तारा र समिटका २/२ र सीताको १ गरी ५ वटा जहाजले लुक्लाका लागि यात्रु ओसारेका थिए । काठमाडौंबाट सडक मार्ग हुँदै रामेछाप पुग्ने यात्रुलाई जहाजमा लुक्ला तर्फ लैजाने र त्यस तर्फबाट रामेछाप ओर्लिने यात्रुलाई सडक मार्गबाट काठमाडौं पठाउने गरी प्रबन्ध मिलाइएको छ ।

काठमाडौंबाट बीपी राजमार्ग हुँदै १ सय ३० किलोमिटर दूरीमा रामेछाप विमानस्थल छ । उक्त सडक यात्रा गर्न करिब ४ घण्टा समय लाग्छ । सडक मार्गबाट पुग्ने पर्यटकहरूलाई सोही दिन नै सकभर लुक्लातर्फ पठाउने गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उडान र अवतरणका लागि होल्डमा बस्नुपर्ने भएकाले विकल्पको रुपमा रामेछाप विमानस्थललाई प्रयोगमा ल्याइएको हो । काठमाडौंभन्दा रामेछापबाट जहाज उडान गर्दा पर्यटकलाई भनेको समयमा गन्तव्यमा पुर्‍याउन सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रामेछापमा उडान र अवतरणका लागि जहाज होल्डमा बस्नु पर्दैन ।

प्रकाशित : आश्विन १५, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?