कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी परिसरमा निःशुल्क यातायात

पाँचवटा विद्युतीय बसबाट पर्यटकलाई दसैं अवधिभरि लुम्बिनी र नजिकका बुद्ध स्थलहरूको भ्रमण गराइने
कान्तिपुर संवाददाता

भैरहवा — दसैं अवधिभरि बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बौद्धस्थल भ्रमण गर्न चाहने यात्रु तथा पर्यटकलाई निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ । लुम्बिनी विकास कोषले बिहीबारबाट पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याएसँगै पर्यटन प्रवर्द्धनका लागि यस्तो व्यवस्था मिलाएको हो । लुम्बिनीबाट सञ्चालन हुने पाँचवटा विद्युतीय बसबाट दसैं अवधिभरि लुम्बिनी र नजिकका बुद्ध स्थलहरूको भ्रमणका लागि निःशुल्क यातायातको व्यवस्था मिलाइएको कोषका सदस्य–सचिव सानुराजा शाक्यले जनाए ।

लुम्बिनी परिसरमा निःशुल्क यातायात

‘विजयादशमीको अवसरमा पाँचवटा विद्युतीय बस परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ,’ लुम्बिनीमा आयोजित विद्युतीय बस सञ्चालन समारोहमा बिहीबार उनले भने, ‘यी बसबाट पर्यटक तथा यात्रुलाई बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमण गराउँछौं ।’

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रीय र रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा उद्घाटन गरेर ती बस सञ्चालन गरिएको छ । लुम्बिनीको वातावरण प्रदूषण न्यूनीकरण गर्न एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई तीन वर्षअघि उपलब्ध गराएको ती बस सञ्चालन गर्ने कार्यविधि र स्वामित्व कोषलाई हस्तान्तरण नगरिएकाले सञ्चालनमा आएका थिएनन् । पाँचवटा बससहितका १४ वटा विद्युतीय भ्यान सञ्चालनमा आउन नसकेर वर्षौंदेखि खुला आकाशमुनि घामपानी खाँदै लुम्बिनीमा थन्किएका थिए ।

कोषका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर ती बस बृहत्तर लुम्बिनी क्षेत्रमा सञ्चालन हुनेछन् । ती बसद्वारा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोटको साइड परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धको मावलीस्थल देवदह, लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ । दसैं अवधिका लागि ती बस केही दिन परीक्षणका रूपमा सञ्चालन गरी बस र चार्जिङ स्टेसनको यान्त्रिक अवस्थाबारे जानकारी लिएपछि स्थायी रूपमा सञ्चालन गर्न कार्यविधि तथा मापदण्ड बनाइनेछ । विद्युतीय बस सञ्चालनमा आएपछि स्थानीय पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रीयले बताए । कोभिड, लकडाउन र सञ्चालनका क्रममा उत्पन्न प्रक्रियागत केही जटिलताका कारण विद्युतीय ती सवारीसाधन सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ । विद्युतीय सवारीसाधन सञ्चालन गर्नेबारे लुम्बिनी विकास कोषले एक महिनाअघिदेखि प्रदेश पर्यटन र यातायात कार्यालयमा नम्बर प्लेट परिवर्तन गर्न निवेदन दिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जनाए । गृहमन्त्रीको निर्देशनपछि सरकारी नम्बर प्लेटमा रहेका ती सवारीसाधनलाई हरियो प्लटेमा सञ्चालन गर्न लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयले सहमति दिएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?