कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न

करिब २ सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार
कान्तिपुर संवाददाता

काठमाडौँ — खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न

रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्ज्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा टुंगिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ । प्रसारण लाइनका लागि १०५ वटा टावर निर्माण गरिएको छ ।

आयोजना अन्तर्गत गर्ज्याङमा १३२ केभीको नयाँ सबस्टेसन र नयाँ खिम्ती सबस्टेसनमा १३२ केभीको बे निर्माण गरिएको छ । गर्ज्याङ सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी ६/८ एमभिए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । गर्ज्याङ सबस्टेसनबाटै स्थानीय रुपमा विद्युत दिइने भएकोले त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न भएपछि करिब २ सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘स्थानीयको अवरोधलगायतका कारणले समस्यामा परेको प्रसारण लाइनको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ, अब केही दिनमै सञ्चालन (चार्ज)मा ल्याउन परीक्षणका कामहरु भइरहेका छन्’, कार्यकारी निर्देशक घिसिङले भने ।

‘अहिले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक व्यवस्था गरी जोडिएको छ, अब ती आयोजनाहरुको विद्युत् गर्ज्याङ–खिम्ती प्रसारण लाइनमा जोडिन्छ, अब प्रसारण पूर्वाधार अभावमा विद्युत खेर जाने अवस्थाको अन्त्य भएको छ,’ घिसिङले भने ।

उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् गर्ज्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिएको छ । जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ ।

अनुमानित लागत २ करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजनाअन्तर्गत नयाँ खिम्ती सबस्टेसनमा २२०/१३२/३३, २०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिने छ । नयाँ खिम्ती सबस्टेसनको क्षमता अपुग हुने भएकोले क्षमता विस्तार गर्न लागिएको हो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी सबस्टेसनमा अहिले १०० एमभीएको पावर ट्रान्सफर्मर रहेको छ ।

प्रकाशित : आश्विन १३, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?