कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद सकिन २ दिनअघि ७ लघुबिमा कम्पनीको आवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — आवेदन दिने म्याद सकिन २ दिनअघि लघु बिमा कम्पनी सञ्चालनका लागि ७ वटा कम्पनीले आवेदन दिएका छन् । नियामक निकाय बिमा समितिले सबै प्रदेशमा एक/एक वटा गरी ७ वटा मात्र लघुबिमा लाइसेन्स वितरणका लागि आवेदन आह्वान गरेकोमा सोही संख्यामा आवेदन पर्नुलाई चासोका रुपमा हेरिएको छ ।

म्याद सकिन २ दिनअघि ७ लघुबिमा कम्पनीको आवेदन

समितिले गत भदौ १० मा लघुबिमा कम्पनीका लागि लाइसेन्स आह्वान गरेको थियो । आवेदनका लागि ३५ दिनको म्याद दिइएको छ ।

आवेदनमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबिमा रहेको समितिले जनाएको छ । जसअनुसार जीवन बिमातर्फ स्वेदशी लघु जीवन बिमा, जानकी जीवन बिमा कम्पनी र गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् भने निर्जीवनतर्फ कर्णाली माइक्रो इन्स्योरेन्स, नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् ।

यस्तै, कम्पनीको संख्या घटाएर गुणस्तर बढाउने उद्देश्यविपरीत बिमा समितिले सातै प्रदेशमा नयाँ इजाजतपत्र (लाइसेन्स) बाँड्न थालेको छ । एकातिर सञ्चालनमा रहेका ४१ बिमा कम्पनीलाई ‘बिजनेस’ पुगिरहेको छैन भने अर्कोतिर बिमा समितिले ती कम्पनीको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्न सकेको छैन ।

यस्तो अवस्थामा सातै प्रदेशमा लघुबिमा कम्पनी स्थापना गर्ने भन्दै बिमा समितिले इजाजतपत्रका लागि सूचना आह्वान गरेको हो ।

गत चैतमा बिमा समितिले कम्पनीहरूको चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ । निर्देशनअनुसार एक वर्षभित्र जीवन बिमा कम्पनीले कम्तीमा ५ अर्ब र निर्जीवन बिमा कम्पनीले कम्तीमा साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । हाल २० वटा निर्जीवन, १९ वटा जीवन र २ वटा पुनर्बिमा गरी जम्मा ४१ कम्पनी सञ्चालनमा छन ।

प्रकाशित : आश्विन १२, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?