दसैंका लागि रुट परमिट खुला- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंका लागि रुट परमिट खुला

कान्तिपुर संवाददाता

काठमाडौँ — घट्स्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् ।

विशेष प्रकृतिका कारण कुनै बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीलाई भने रुट परमिट खुला नहुने र बन्देज कायमै रहने विभागले जनाएको छ । विभागका महानिर्देशक टोकराज पाण्डेका अनुसार यात्रुको चाप हुने काउन्टरहरूमा रुट परमिट खुला गरिएका सवारी उपलब्ध हुनेछन् । ‘दसैंमा उपत्यका बाहिर जाने यात्रुको चाप धेरै हुन्छ,’ महानिर्देशक पाण्डेले भने, ‘चाडपर्वमा यात्रुलाई सहज रूपमा घरसम्म पुर्‍याउन रुट परमिट खुला गरिएको हो ।’

पाण्डेका अनुसार केही काउन्टरमा बढी भाडा लिएको गुनासो आएकाले यात्रु कक्षमा रहेका विभागका कर्मचारी र ट्राफिक प्रहरीले समस्या समाधान गरिसकेका छन् । ‘कुनै पनि सवारीले तोेकेको भन्दा बढी भाडा लिन पाउने छैनन्,’ उनले भने, ‘बढी भाडा लिएको पाइए तुरुन्त यात्रु सहायता कक्षमा गएर जानकारी गराउन सबै यात्रुलाई आग्रह गरिएको छ ।’ उनले परिचयपत्र लगाएका कर्मचारीबाट टिकट लिन आग्रह गरेका छन् । यात्रुको चाप बढी भएकाले त्यहीअनुसार सवारी साधनको व्यवस्थापन गरिएको विभागले जनाएको छ ।

‘यातायात व्यवसायीको गुनासो सडक बिग्रिएकाले समयमै सवारी गन्तव्यमा आउन नसक्दा समस्या भएको भन्ने छ,’ उनले भने, ‘बढी समस्या नारायणगढ–बुटवल, ढल्केबर–कोशीब्यारेक सडक खण्डमा छ । त्यहा‍ँ खाल्डाखुल्डी पुर्नेबारे तयारी भएको छ ।’ गत असोज १ गतेबाट बसको टिकट बुकिङ खुला गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले अझै सडक मर्मत नगरिएकाले सवारी सञ्चालनमा समस्या भएको बताए । ‘सडक समस्याबारे सडक विभागका महानिर्देशकदेखि भौतिक मन्त्रीलाई समेत जानकारी गरायौं,’ उनले भने, ‘दसैं सुरू भइसकेको अवस्थामा पनि अहिलेसम्म सडक मर्मत गरिएको छैन ।’

बिग्रेका सडककै कारण यात्रुलाई समयमा गन्तव्यमा पुर्‍याउन नसकिएको स्वाँरले बताए । यातायात व्यवस्था विभागले भने यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेक अन्य ठूला सवारी साधनहरू सञ्चालनमा रोक लगाएको जनाएको छ । विभागका अनुसार ट्रेललगायत ठूला सवारीहरू असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाईएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्

जहाजहरू पूर्व पठाएपछि कर्णालीका यात्रुलाई सास्ती

डीबी बुढा

जुम्ला — दुई दिनअघि जुम्ला गुठीचौर गाउँपालिका ३ का ईश्वर बुढाले नेपालञ्जदेखि जुम्लाको लागि हवाइ यात्रा गर्न तारा एयरको टिकट लिए । उनी सहजै जुम्ला यात्रा हुनेमा ढुक्क थिए । तर एक्कासी जहाजले उडान क्यान्सिल गरेर पूर्वतिर गएको जानकारी दियो ।

बुढा भने नेपालगञ्जमै अलपत्र परे । ‘कर्णालीका लागि न भरपर्दो हवाइसेवा छ, न त सुरक्षित सडक यात्रा नै । दसैं-तिहार जस्ता चाडमा पनि ज्यानको बाजी लगाएर आउजाउ गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

कर्णालीमा उडान भरिरहेका निजी विमान कम्पनीले पर्यटक ओसार्न भन्दै जहाज पूर्वतिर पठाएपछि बुढा जस्तै कर्णालीका हजारौं हवाइ यात्रु अलपत्र परेका छन् । हुम्ला, मुगु, जुम्ला र डोल्पामा केही समययता जहाजले उडान भर्ने गरेका छैनन् ।

कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन् । तर यसरी चाडबाडका बेला जहाज नै उपलब्ध नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ ।

स्थानीयहरूले भने चाडबाडमा यात्रु धेरै हुने भएकाले जहाज नियमित उडान गर्नु पर्ने माग गरेका छन् । स्थानीय जगबहादुर रोकायाले जहाजले दैनिक एक उडान सबै जहाजले गर्नुपर्ने बताए ।

नेपाल एयरलाइन्सले पनि नियमित तालिका अनसार उडान नगरिदिँदा यात्रुहरूले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । जुम्ला सडक यातायातको पहुंचमा रहे पनि कर्णाली राजमार्गको स्तरोन्नतिको अभाव तथा बाटोको नाजुक अवस्थाले हवाइ यतायातकै बढी प्रयोग हुने गरेको छ ।

तर हरेक चाडबाडका बेला र पर्यटक आउने सिजनमा नेपाल एयरलाइन्सले पनि नियमित सेवा दिएको छैन । विशेषगरी निजी हवाइ कम्पनीका जहाजहरू पनि दसैं तथा तिहारका बेला जुम्लामा उडान गर्दैनन् । जहाजहरू पर्यटक ओसार्ने भन्दै पूर्वतिर सारेपछि कर्णालीका जनता सेवाबाट वञ्चित भएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नको लागि पहल गर्न माग गरिएको बताए । ‘कम्पनीहरूले सबै जहाज पूर्व पठाएर यात्रु बिचल्लीमा पार्ने काम जुम्ली जनतालाई सेवा नदिने नियत हो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आचार्यले भने ।

साथै निजी हवाइ सेवा प्रदायक कम्पनीहरूलाई प्रत्येक दिन कम्तीमा एउटा फ्लाइट र नेपाल एयरलाइन्सले समेत नियमित सेड्यूल फ्लाइट राख्न आवश्यक निर्देशनका लागि पत्र पठाइसकिएको आचार्यले बताए ।

भौगोलिक रुपमा अत्यन्तै कठिन र सहज यातायात नभएको कर्णालीका हिमाली जिल्लाहरूको एक मात्र विकल्प हवाइ यातायात सेवालाई लिइन्छ । यसैले पनि हवाइ सेवा नियमित गर्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।

प्रकाशित : आश्विन ११, २०७९ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×