कोभिडले थलिएको आरोहण क्षेत्र जुर्मुराउन थालेको छ : माया शेर्पा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिडले थलिएको आरोहण क्षेत्र जुर्मुराउन थालेको छ : माया शेर्पा

कान्तिपुर संवाददाता

विराटनगर — ट्रेकिङ गाइडबाट काम सुरु गर्दै पर्वातारोहणमा कहलिएकी माया शेर्पाले कोभिड महामारीले यो क्षेत्र थिलथिलो बनाएको बताएकी छन् । कोभिड महामारीले ठप्प भएको आरोहण क्षेत्र अहिले भने जुर्मुराउने क्रममा रहेको उनले बताएकी छन् ।

हाल सगरमाथा, मनास्लु, चो यु, अमादबलम, मेरा पिकजस्ता पूर्वका साना–ठूला हिमालमा आरोहीको राम्रो चलहपलह हुने गरेको उनको भनाइ छ ।

‘वार्षिक सयौंको संख्यामा विदेशी अरोही बढिरहेका बेला कोभिडले एक वर्ष ठप्प पार्‍यो,’ सगरमाथा आरोही संघकी अध्यक्षसमेत रहेकी शेर्पाले भनिन्, ‘त्यसपछि हाम्रा स्थानीय आरोही र भरियाहरू साहसपूर्वक काममा फर्किए भने बहराइनका राजकुमारजस्ता पर्यटक आएपछि आरोहण व्यवसायले गति लियो ।’

कान्तिपुर मिडिया ग्रुपले शनिबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको चौथो सत्र ‘पूर्वको पौरख’ मा उनले पर्वातारोहणका कारण हिमाली क्षेत्रका बासिन्दाको जीवनस्तर माथि उठिरहेको बताएकी छन् । ‘नेपाली आरोही, भरिया, स्थानीयबासीले रोजगारी पाउने गरेका छन्,’ उनले भनिन्, ‘साना–साना पसलदेखि होटलहरूले ग्राहक पाउँछन् । यसले गर्दा सगरमाथालगायत हिमाली क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्सिरहेको छ ।’

प्रकाशित : आश्विन ८, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्

कृषि, ऊर्जा, पर्यटन र निर्यात प्रवर्द्धन नेपालका लागि तुलनात्मक लाभका क्षेत्र : पवन गोल्यान

कान्तिपुर संवाददाता

विराटनगर — बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले नेपालका लागि कृषि, नवीकरणीय ऊर्जा, पर्यटन र निर्यात प्रवर्द्धन नेपालका लागि तुलनात्मक लाभका क्षेत्र रहेको बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले शनिबार विराटनगरमा आयोजना गरेको उज्यालो पूर्व कार्यक्रमको ‘पूर्वको पौरख’ सत्रमा बोल्दै गोल्यानले नेपालको आर्थिक विकासका लागि यी क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् । ‘हाम्रो तुलनात्मक लाभका क्षेत्र के हुन् भनेर पहिचान गर्न आवश्यक छ । जसमा कृषि, नवीकरणीय ऊर्जा, पर्यटन र निर्यात प्रवर्द्धन हो । हामी यी क्षेत्रमा केन्द्रित हुनुपर्छ,’ गोल्यानले भने ।

नेपालका दुईवटा प्रदेशहरु प्रदेश १ र मधेस प्रदेशले मात्र नेपालका लागि चाहिने खाद्यान्न उत्पादन गरेर निर्यातसमेत गर्न सक्ने सम्भावना रहेको उनले बताए । त्यस्तै नेपाली उत्पादनको ब्रान्डिङ र प्याकेजिङमा ध्यान दिनु आवश्यक रहेको गोल्यानको भनाइ छ ।

‘ब्रान्डिङ नगरिकन नेपालबाट ७ सय रुपैयाँ प्रतिकिलोमा अलैंची बिक्री भइरहेकोमा भारतले त्यसलाई राम्रो ब्रान्डिङ र प्याकेजिङ गरेर प्रतिकिलो १७ सय रुपैयाँमा बिक्री गरिरहेको छ,’ गोल्यानले भने, ‘हामी आफैं ब्रान्डिङमा र प्याकेजिङमा ध्यान दिने हो भने हाम्रा उत्पादनहरु विश्व बजारमा प्रतिपर्धा गर्न सक्छन् र त्यसको मूल्य पनि राम्रो पाइन्छ ।’

विश्वभर उत्पादन हुने अलैंचीको ४० प्रतिशत नेपालमा मात्रै उत्पादन हुने गरेको पनि उनले बताए । त्यस्तै उद्योगहरुले मजदुरले पाउने अधिकार दिइनुपर्ने विषयमा पनि ख्याल गर्न सक्नेपर्ने उनको भनाइ छ ।

प्रकाशित : आश्विन ८, २०७९ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×