कृषि, ऊर्जा, पर्यटन र निर्यात प्रवर्द्धन नेपालका लागि तुलनात्मक लाभका क्षेत्र : पवन गोल्यान


विराटनगर — बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले नेपालका लागि कृषि, नवीकरणीय ऊर्जा, पर्यटन र निर्यात प्रवर्द्धन नेपालका लागि तुलनात्मक लाभका क्षेत्र रहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले शनिबार विराटनगरमा आयोजना गरेको उज्यालो पूर्व कार्यक्रमको ‘पूर्वको पौरख’ सत्रमा बोल्दै गोल्यानले नेपालको आर्थिक विकासका लागि यी क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् । ‘हाम्रो तुलनात्मक लाभका क्षेत्र के हुन् भनेर पहिचान गर्न आवश्यक छ । जसमा कृषि, नवीकरणीय ऊर्जा, पर्यटन र निर्यात प्रवर्द्धन हो । हामी यी क्षेत्रमा केन्द्रित हुनुपर्छ,’ गोल्यानले भने ।
नेपालका दुईवटा प्रदेशहरु प्रदेश १ र मधेस प्रदेशले मात्र नेपालका लागि चाहिने खाद्यान्न उत्पादन गरेर निर्यातसमेत गर्न सक्ने सम्भावना रहेको उनले बताए । त्यस्तै नेपाली उत्पादनको ब्रान्डिङ र प्याकेजिङमा ध्यान दिनु आवश्यक रहेको गोल्यानको भनाइ छ ।
‘ब्रान्डिङ नगरिकन नेपालबाट ७ सय रुपैयाँ प्रतिकिलोमा अलैंची बिक्री भइरहेकोमा भारतले त्यसलाई राम्रो ब्रान्डिङ र प्याकेजिङ गरेर प्रतिकिलो १७ सय रुपैयाँमा बिक्री गरिरहेको छ,’ गोल्यानले भने, ‘हामी आफैं ब्रान्डिङमा र प्याकेजिङमा ध्यान दिने हो भने हाम्रा उत्पादनहरु विश्व बजारमा प्रतिपर्धा गर्न सक्छन् र त्यसको मूल्य पनि राम्रो पाइन्छ ।’
विश्वभर उत्पादन हुने अलैंचीको ४० प्रतिशत नेपालमा मात्रै उत्पादन हुने गरेको पनि उनले बताए । त्यस्तै उद्योगहरुले मजदुरले पाउने अधिकार दिइनुपर्ने विषयमा पनि ख्याल गर्न सक्नेपर्ने उनको भनाइ छ ।
प्रकाशित : आश्विन ८, २०७९ १६:२३