थपिँदै तारे होटल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थपिँदै तारे होटल

सडकसँगै पर्यटकीय पूर्वाधार विकासको लहरले होटल-रेस्टुरेन्टमा पनि लगानी थप्ने होड
पर्वत पोर्तेल

काठमाडौँ — ५ वर्षअघि पूर्व–पश्चिम राजमार्गको निन्दा खोला वारिको जमिनमा थुप्रै पोखरी थिए । अहिलेको दृश्य भिन्न छ । त्यो जमिनमा पाँचतारे होटल मेची क्राउन उभिएको छ । ‘यति छोटो समयमा होटल ठडिएला भन्ने लागेकै थिएन’, होटल आसपासमा बसोबास गर्ने संविधानसभा सदस्य चन्द्र मेचेले सुनाए, ‘पाँचतारे होटल बनेपछि त हाम्रो गाउँको नक्सा नै बदलियो ।’ 

भेगास इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यो होटल अत्याधुनिक छ । कुल १ सय ५ कोठा रहेको यो होटलमा ५ सुइट रुम, १० भिल्ला, २० वटा क्लब रुम र ७० वटा डिलक्स रुम छन् । दुई वटा रेस्टुरेन्ट छ । ब्यांकेट हलसहित हेलिप्याडको सुविधासमेत छ । आठ बिघा क्षेत्रफल रहेको होटल परिसरमा एक हजार बिरुवा वृक्षरोपण गरिएको छ । जसले वातावरण सुहाउँदो बनाउन सहयोग पुग्ने लगानीकर्ताको विश्वास छ । स्विमिङ पुल छ । स्पा सेन्टर, स्टिम बाथ, जिम हल, टेनिस कोर्ट र ब्युटिपार्लर भवन परिसरमै छ । ‘होटलमा आगन्तुकलाई आवश्यक पर्ने सबै सेवा भित्रै उपलब्ध हुनेछन्,’ लगानीकर्तामध्येका एक बलराम सापकोटाले भने ।

कोभिड महामारीपछि प्रदेश १ का विभिन्न जिल्लामा सुविधासम्पन्न होटल निर्माणमा लगानी बढिरहेको छ । ग्रामीण बजारहरूले क्षेत्र विस्तार गर्दै छन् । होटल रेस्टुरेन्ट व्यवसायमा व्यापारिक घरानाका युवा पुस्ता अघि सरेका छन् । खासगरी झापा, मोरड र सुनसरीमा तारे होटलमा लगानी भइरहेको छ । नेपाल पर्यटन विभागका अनुसार पूर्वमा तारे होटल मात्रै आधा दर्जनभन्दा बढी भइसकेका छन् । जसमध्ये झापामा पाँचतारे होटल मेची क्राउन र किंग्सवेरी छन् । मोरङमा विग र रत्ना चारतारे र नेपाली रिका तीनतारे होटल दर्ता भई सञ्चालित छन् । मोरङमा ४, झापामा ३, सोलुखुम्बु र खोटाङमा २–२ तथा ताप्लेजुङ र सुनसरीमा १/१ तारे होटल सञ्चालनको तयारीमा छन् । मेचीनगर र बिर्तामोडमा दुइटा पाँचतारे र एउटा तीनतारे होटल निर्माण अन्तिम चरणमा छन् ।

विराटनगरको भृकुटी चोकमा डेढ अर्ब लगानीमा ‘लेमन ट्री प्रिमियर’ पाँचतारे होटलको निर्माण भइरहेको छ । शुभ इन्टरनेसनल हस्पिटालिटी प्रालिले विराटनगरमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँ लगानीमा पाँचतारे होटल खोल्ने भएको हो । होटल ८० वटा कोठाको हुनेछ । झापा मेचीनगरको धुलाबारीमा होटल इस्टर्न नेपाल प्रालिले यस वर्षको अन्त्यतिर पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेको हो । निर्माणाधीन उक्त होटलले १८ रोपनी ७ आना क्षेत्रफल ओगटेको छ । यसमा क्यासिनो र ब्यांकेट पनि हुनेछ । करिब ९३ करोड ४० लाख रुपैयाँ अनुमानित लागतमा बन्ने उक्त होटलमा सुइट र डिलक्स गरेर ८७ कोठा रहनेछन् । होटल एसोसिएसन नेपाल (हान) का प्रदेश अध्यक्ष राजन श्रेष्ठका अनुसार पूर्वका होटलमा करिब २५ देखि ३० अर्ब हाराहारीमा लगानी भइसकेको बताएका छन् । कोभिड महामारीपछि सुविधासम्पन्न होटल निर्माणको लहर चलेको बताउँदै उनले लगानीको क्रम थपिइरहेको जानकारी दिए । ‘होटलमा लगानी निकै बढेको छ । लगानी नडुब्ने वातावरणका लागि सरकारले भरथेग गर्न जरुरी छ,’ उनले भने ।

विराटनगर, बिर्तामोड, इटहरी, झापा जस्ता तराईमा मात्रै हैन, पहाडी जिल्लाहरूमा पनि तारे होटल निर्माणको क्रम सुरु भएको छ । सोलुखुम्बु, खोटाङ र ताप्लेजुङ, इलाम जस्ता पहाडी जिल्लाहरूमा पनि तारे होटल निर्माणमा व्यवसायीहरूको आकर्षण बढेको नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुरिजम एजेन्ट (नाटा) का प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताएका छन् । तारे होटलका कारण भारतका विभिन्न सहर तथा भुटान, बंगलादेश लगायतबाट पनि पर्यटकहरू भित्रिन थालेको उनी बताउँछन् । ‘यसले प्रदेशको मात्रै होइन समग्र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आशा छ,’ उनले भने, ‘विदेशी पर्यटकहरूको चहलपहलले आर्थिक विकासमा नपत्याउँदो ढंगले सहयोग पुगिरहेको हुन्छ ।’

पर्यटन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वमा करिब १५ वटा एकतारे होटल दर्ता भएका छन् । बाँकी १५ वटा १ देखि ५ तारेसम्मका होटल धमाधम निर्माण भइरहेको छ । कार्यालयका अनुसार पर्यटन भ्रमण वर्षका कारण पूर्वका व्यवसायीले स्तरीय होटलहरूमा लगानी बढाएका थिए । तर, कोभिड महामारीले कतिपय होटल निर्माण अनि सञ्चालनमा समस्या पनि भएको छ । ‘कोभिडपछि धमाधम तारे होटल थपिँदै छन्,’ पर्यटन कार्यालयका सूचना अधिकारी निरोज कट्टेलले भने, ‘सेवामा आधारित व्यवसायले विस्तारै गति लिइरहेको छ ।’ तारे होटलहरू दर्ताको इजाजत प्रदेश सरकारलाई पनि छैन । विगतमा भने होटल तथा ट्राभल एजेन्सी दर्ताको सम्पूर्ण जिम्मा पर्यटन कार्यालयलाई थियो । तर, संघीयतापछि भने यो जिम्मेवारी केन्द्र सरकारको अधीनमा छ ।

झापाको मेचीनगरमा देशकै ठूलो क्यासिनो भेगास त छँदै छ । सँगै दुई मिनी क्यासिनो पनि सञ्चालनमा छन् । काँकडभिट्टामा दुई मिनी क्यासिनो छन् । सीमा सहरको पुरानो परिचय नै फेरिने अवस्थामा पुगेको छ । मेचीनगर निकट भविष्यमै क्यासिनोहरूको सहर बन्ने यत्नमा छ । धुलाबारीमा पाँचतारे होटलसँगै क्यासिनो पनि सञ्चालनको तयारी भइरहेको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा भने एउटा मिनी क्यासिनो छ । भारतको पश्चिम बंगाल र विहारसँग सीमा जोडिने झापा र विराटनगरका तारे होटल र क्यासिनोका मुख्य ग्राहक भारतीय नै हुन् । सिक्किम, गोवालगायत सहरबाट क्यासिनो खेल्नका लागि ग्राहक आउँछन् । कतिपय बंगलादेशी ग्राहक पनि आउने गरेको पाइएको छ ।

झापाको बिर्तामोडको किंग्सबेरीले पनि क्यासिनो सञ्चालनको तयार गरिरहेको छ । सरकारबाट इजाजतका लागि अन्तिम चरणमा पुगेको किंग्सबेरीका एक सञ्चालकले जनाए ।

‘पूर्वमा एउटा स्तरीय होटलको आवश्यकता थियो,’ मेची क्राउनका सञ्चालक सापकोटाले भने, ‘हामीले त्यो आवश्यकता पूर्ति गरेका छौं ।’ उनका अनुसार क्यासिनो खेल्नकै लागि दैनिक सयौं भारतीय मेची तरेर आइपुग्छन् । भारतको बागडोगरा एयरपोर्टबाट करिब २० किलो मिटर नजिक रहेका कारण पनि क्यासिनो खेल्न ग्राहकहरू जहाज चढेर आइपुग्छन् । क्यासिनो

भेगासका अनुसार यहाँ दैनिक करोडौं भारुको कारोबार हुन्छ ।

प्रकाशित : आश्विन ८, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

‘बैंकको ब्याजदर नघटे मोरङ व्यापार संघ आन्दोलनमा उत्रिन्छ’

कान्तिपुर संवाददाता

विराटनगर — बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको निर्णय फिर्ता नगरे आफूहरू सडक आन्दोलनमा उत्रिने मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुले बताएका छन् । ब्याजदरवृद्धिले लागत बढ्ने भएकाले उद्योग व्यापार सञ्चालन गर्न नसक्ने अवस्था आएका कारण ब्याजदर घटाउनुको विकल्प नभएको उनको भनाइ थियो ।

कान्तिपुर दैनिकले आयोजना गरेको ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमअन्तर्गत ‘प्रदेशको परीक्षा’ विषयक सत्रमा उनले यस्तो बताएका हुन् ।

‘बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको निर्णय फिर्ता लिनका लागि पहल गरिदिन सरकार, निजी क्षेत्रका संघसंस्था, संघीय सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत निकायसँग अनुरोध गरेका छौँ,’ उनले भने, ‘यसबारेमा ती निकायले पहल नगरे हामी सडक आन्दोलन गरेरै भए पनि फिर्ता गराउँछौं ।’

यद्यपि, आन्दोलन आफूहरूको रहर नभएर बाध्यता भएको उनले बताए । ‘हामीसँग आन्दोलन गर्ने फुर्सद छैन । तर, संघीय राज्यले गर्दै आएका नीति-नियमका कारण आन्दोलनमा जानै पर्ने बाध्यता हामीलाई छ,’ उनले भने, ‘यो अवस्था आउन नदिन सरकारले स्थानीय उद्योगी व्यवसायीहरूको समस्या बुझेर उनीहरूसँग छलफल गरेर मात्र नीति बनाउनुपर्‍यो ।’

प्रकाशित : आश्विन ८, २०७९ १२:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×