कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ऊर्जा क्षेत्रमा महिला सहभागिताको खाँचो’ 

काठमाडौँ — नेपालको ऊर्जा क्षेत्रमा महिला सहभागिता बढाउन व्यवस्थापन तथा नेतृत्व विकास कार्यक्रम गरिएको छ । युएसएडअन्तर्गतको ऊर्जा नेपाल कार्यक्रमले ऊर्जा क्षेत्रसँग जोडिएका महिलाहरूका लागि शुक्रबार काठमाडौंमा यस्तो कार्यक्रम गरेको हो ।

‘ऊर्जा क्षेत्रमा महिला सहभागिताको खाँचो’ 

नेतृत्व विकास तथा व्यवस्थापन तालिममार्फत ऊर्जा क्षेत्रको आगामी पुस्ताका रूपमा महिलालाई पनि सशक्त रूपमा अघि बढाउने उद्देश्य रहेको युएसएडले जनाएको छ । परम्परागत रूपमा पुरुष प्रधान पेशा/व्यवसायमा महिलाको प्रतिनिधित्व तथा सहभागिता बढाउन उनीहरूले भोगिरहेका चुनौती र आगामी दिनमा प्रतिस्पर्धी वातावरण निर्माणका लागि आवश्यक प्राविधिक सीप समेतका लागि यो कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

ऊर्जा क्षेत्रसँग जोडिएका महिलाहरूका लागि दिइएको व्यवस्थापन तथा नेतृत्व विकास तालिमबाट अबका दिनमा समावेशी प्रतिनिधित्वको अपेक्षा गर्न सकिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले बताइन् । ‘नेपालको ऊर्जा क्षेत्रमा महिला र अल्पसंख्यको प्रतिनिधित्व न्यून रहेको बारे मैले बुझेकी छु, कार्यक्रमका सहभागीहरूसँगको अन्तरक्रियामा मन्त्री भुसालले भनिन्, ‘यूएसएआईडी र ऊर्जा नेपालले शुरु गरेको यो व्यवस्थापन तथा नेतृत्व विकास एक कोशेढुंगा साबित हुने विश्वास लिएकी छु ।’

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्ण कुमारी सुवेदीले महिला सशक्तिकरणका लागि हरेक क्षेत्रबाट प्रयास थालिनुपर्ने र नेपालले ऊर्जा क्षेत्रलाई विकासको आधार मानेका कारण यो क्षेत्रमा महिलाको सहभागिता अझ बढ्नुपर्ने धारणा राखिन् । ‘ऊर्जा क्षेत्रमा महिला सहभागिता बढाउन उचित अवसर र वातावरणको खाँचो छ । त्यसका लागि पहिलो प्राथमिकता इच्छाशक्ति हो,’ सुवेदीले भनिन्, ‘महिला बढी जोडिएका भान्सालाई पनि विद्युतीय भान्सा बनाउने भनेर हामी लाग्नुपर्छ ।’

यूएसएआईडी नेपाल मिसन निर्देशक सेपिद केभनसादले यो कार्यक्रमको उद्देश्य नेपालको ऊर्जा क्षेत्रमा आगामी पुस्ताका रूपमा महिला सहभागिता बढाउँदै लैजानु रहेको बताइन् । ‘विशेषगरी हामीले ऊर्जा क्षेत्रका भावी नेतृत्वलाई लक्षित गरी नेपालमा ऊर्जा क्षेत्रलाई अघि बढाउन सरकारसँग साझेदारी गरिरहेका छौं,’ उनले भनिन्, ‘यसले उनीहरूलाई ऊर्जा क्षेत्रमा आफ्नो स्थान बनाउन मद्दत गर्दछ ।’ सोही कार्यक्रममा ऊर्जासचिव सुशीलचन्द्र तिवारीले नेपालको आर्थिक विकासका लागि जलविद्युत् ठूलो सम्भावनाको क्षेत्र रहेको र त्यसका लागि सबै क्षेत्रमा महिलाको सहभागिता आवश्यक रहने बताए ।

प्रकाशित : आश्विन ७, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?