ई–सिम राखेपछि किन हरायो आईएमईआई नम्बर ?- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

ई–सिम राखेपछि किन हरायो आईएमईआई नम्बर ?

सजना बराल

काठमाडौँ — टेलिकमले लामै समय लगाएर टेस्ट (परीक्षण) गरिवरि ई–सिम बाँढेको बताएको थियो । कम्पनीका कर्मचारीकै मोबाइल डिभाइसमा समेत इन्स्टल गरेर जाँच गरिएको टेलिकमले बताए पनि अहिले उपभोक्ताको फोनमा समस्या देखिएको छ । ई–सिम इन्स्टल नभएपछि प्रयोगकर्ताले एनटीसी, एनसेल र स्मार्ट सेलका भौतिक सिमकार्ड हालेर फोन चलाउन खोजेका थिए । तर, ती पनि नचलेपछि उनीहरू निराश छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले भदौ ३१ बाट वितरण सुरु गरेको ई–सिम कार्ड जडानका क्रममा कतिपय सेवाग्राहीको मोबाइल फोनबाट आईएमईआई नम्बर हराएको छ । नेपाल टेलिकमले पर्याप्त परीक्षण गरेर ग्राहकहरूलाई ई–सिम कार्ड बाँढेको बताए पनि विशेषतः गुगलका फोनमा ई–सिमको सफ्टवेयर इन्स्टल गर्नासाथ डिभाइस नै करप्ट हुने (बिग्रिने) समस्या देखिएको छ ।

ई–सिम राख्न क्युआर इन्स्टल गर्दा आफ्नो फोनमा ‘इरर’ देखाएको र त्यसपछि भौतिक सिम कार्डसमेत नचल्ने गरी डिभाइस करप्ट भएको भक्तपुर, जगातीका विवेक मगरले बताए । ‘ई–सिम बाँढेको पहिलो दिन नै एनटीसीको सुन्धारा कार्यालयमा गई फर्म भरेर ई–सिमको लागि क्युआर स्क्यान गरेको थिएँ,’ विवेकले भने, ‘त्यो बेला इरर देखायो । धेरैपल्ट कोशिस गरेपछि त्यहाँका कर्मचारीलाई सोधिखोजी गरेँ । कसैलाई पनि यसबारे थाहा थिएन ।’ उनले गुगल पिक्सेल ६ फोनमा ई–सिम राख्न खोजेका थिए । टेलिटकम कार्यालयको ई–सिम वितरण गरिने कोठाको भित्तामा गुगल पिक्सेल ६ ले ई–सिम सपोर्ट गर्ने भनेर टाँसिएको छ ।

आईएमईआई नम्बर ‘अन्नोअन’ देखिएको ।

‘ई–सिम इन्स्टल नभएपछि मैले फिजिकल सिम हाल्न खोजेको थिएँ,’ सफ्टवेयर डेभेलपरका रूपमा काम गर्ने विवेकले भने, ‘तर, फिजिकल सिम पनि चलेन । के भएछ भनेर खोजी गर्दा डिभाइस नै करप्ट भएको थाहा भयो । सायद यो ईएफएक्स इरर हो । यही समस्या रहेछ भने हाम्रो फोनमा अब कहिल्यै पनि सिमकार्ड चल्दैन ।’ हाल विवेकको फोनमा आईएमईआई नम्बर देखिँदैन । आईएमईआई नम्बरबिना मोबाइल नेटवर्कमा जोडिन मिल्दैन । वाईफाई भने चल्छ । विवेकले आईएमईआई नम्बरका लागि एस्ट्रिक ह्यास ०६ ह्यास डायल गर्दा ‘अन्नोअन’ भनेर देखाउँछ ।

ई–सिम इन्स्टल गर्ने क्रममा आफ्नो महँगो फोन बिग्रिएपछि कालोपुलका देव श्रेष्ठ पनि असाध्यै चिन्तित छन् । केही समयअघि ७ सय अमेरिकी डलर (हालको दरअनुसार करिब ९० हजार रुपैयाँ) तिरेर उनले अमेरिकाबाट गुगल पिक्सेल ६ मगाएका थिए । आफूसँग यसको रसिद भएको उनले बताए । ‘ई–सिम आउनुअघि फिजिकल सिम हालेर चलाइरहेको थिएँ,’ उनले भने,‘मज्जाले चल्थ्यो । एमडीएमएस दर्ता भएको म्यासेज पनि आएको थियो । एनटीसीको ई-सिम राख्न खोेज्दा फोनै बिग्रियो ।’

यस्तै समस्या भोगेका पत्रकार सुवास हुमागाईँले यसबारे गुगल पिक्सेल हेल्प कम्युनिटिमा आफ्नो समस्या पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘मैले मेरो पिक्सेल ६ प्रो फोनमा ई–सिम इन्स्टल गर्न खोजेको थिएँ । तर, इन्स्टल भएन । इरर देखायो । त्यसले आईएमईआई नम्बरसमेत मेटाइदियो । अहिले मेरो फोनमा आईएमईआई विवरण देखिँदैन । फोनले फिजिकल सिम पनि सपोर्ट गर्दैन ।’ हेल्प कम्युनिटिमा अन्य केहीले पनि समान समस्या साझा गरेका छन् ।

‘यो एनटीसीको लापरबाही हो,’ विवेकले भने, ‘मैले यसबारे गुगल सपोर्टलाई ईमेल पठाएको थिएँ । गुगल टिमले यो स्थानीय सेवा प्रदायकको समस्या हुनुपर्छ भनेर जवाफ पठाएको छ । नेपालमा गुगल फोनको आधिकारिक बिक्रेता नभएकाले जहाँ किनेको त्यहीँ सम्पर्क गर्न भनेको छ ।’ एनटीसीको सफ्टवेयरले गुगलको सफ्टवेयरलाई सपोर्ट नगरेको उनले बताए । गुगल फोनमा टेस्ट नगरी ई–सिम बाँढिएकाले यस्तो समस्या आइपरेको विवेकको बुझाइ छ ।

नेपाल टेलिकमका इन्जिनियरहरूले गुगल पिक्सेलमा ई–सिम इन्स्टल नगर्न भने पनि कर्मचारीहरूबीच बुझाइमा त्रुटि भएर यो समस्या आएको टेलिकम स्रोतले जानकारी दिएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने आफूहरूले समस्या पहिचान गरिरहेको बताए । ‘हाम्रो लागि पनि यो नयाँ प्रविधि हो,’ उनले भने, ‘कतिपय सेटमा चलाएर हेरेका थियौं । सबै सेटमा टेस्ट गर्न सम्भव पनि हुँदैन । अहिले गुगलका फोनमा समस्या आएको छ । समस्या पहिल्याएर समाधानका उपाय खोज्छौं ।’

भदौ ३१ बाट ई–सिम वितरण गरेको कम्पनीले हालसम्म २ हजार वटा ई–सिम ग्राहकलाई दिइसकेको छ । आइफोन १३, १३ प्रो, १३ प्रो म्याक्स, १३ मिनि, सामसङ ग्यालेक्सी अल्ट्रा फाइभजी, सामसङ ग्यालेक्सी फोल्ड, गुगल पिक्सेल ६, ६ प्रो, पिक्सेल ५ लगायतमा एनटीसीको ई–सिम चल्ने भनिएको छ । गुगलका फोनमा समस्या आए पनि एनटीसीले ग्राहक सेवा केन्द्रमा टाँसिएको ‘ई–सिम सर्पोटेड ह्यान्डसेट’ को सूचीबाट गुगललाई हटाइएको छैन । न त आफ्ना ग्राहकलाई समस्या समाधानको उपाय दिएको छ ।

एनटीसीको ग्राहक सेवा केन्द्रमा टाँसिएको ‘ई–सिम सर्पोटेड ह्यान्डसेट’ को सूची ।

प्रकाशित : आश्विन ६, २०७९ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिको असंवैधानिक कदमको सुरुवात कटवाल प्रकरणमा भएको थियो : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिले चाल्ने असंवैधानिक कदमको सुरुवात तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गरेको थमौतीबाट सुरु भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम चालेको उल्लेख गर्दै भट्टराईले उक्त कुरा भनेका हुन् । 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा 'मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री' पुस्तकको विमोचन कार्यक्रममा बिहीबार भट्टराईले उक्त कुरा बताएका हुन् ।

कटवाल प्रकरणमा आफूले पनि भूमिका खेलेको भनेर थापाले लेखेको भट्टराईले बताए । 'कटवाल प्रकणमा उहाँले पनि भूमिका खेल्नुभएको रहेछ । त्यसलाई स्वीकार गर्नुभएको छ । त्यतिबेला माओवादीले सेना नै कब्जा गर्न खोजेको भन्ने आगो लगाएको थियो । त्यो तथ्यसंगत थिएन,' भट्टराईले भने, 'राजाप्रति निष्ठावान सेना जनताप्रति निष्ठावान गर्नुपर्छ भन्ने हो । मन्त्रिषरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले; अहिले पनि राष्ट्रपतिको असंवैधानिक कदम आएको छ, सुरुवात त्यतिबेला नै भएको थियो ।'

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति कटवाललाई बर्खास्त गरिएको थियो । २०६६ वैशाखमा कटवाललाई हटाइएकोमा तत्कालीन राष्ट्रपति यादवले उल्ट्याइदिएका थिए ।

थापाको पुस्तकमा तत्कालीन ७ राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे सम्झौतालाई भारतमा भएको भनेर लेखिएको कुरा पनि तथ्यसंगत नभएको भट्टराईले बताए ।

त्यस्तै, थापाले पुस्तकमा पञ्चायत कसरी सुरुवात भयो भन्ने कुरा उल्लेख भएको भट्टराईले बताए । आर्थिक लाभका निम्ती राज्यको दोहन गरेको कुरा थापाले पुस्तकमार्फत स्वीकार गरेको पनि भट्टराईले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×