कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेगनास–रूपा जलविद्युत् आयोजना अघि बढाइने

लालप्रसाद शर्मा

पोखरा — प्रारम्भिक अध्ययनपछि थन्किएको बेगनास–रूपा पम्प जलाशययुक्त जलविद्युत् आयोजनाको काम अघि बढ्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पोखरा–३१ स्थित बेगनास तालबाट विद्युत् निकालेर पानी रूपातालमा पठाउने र रूपातालको पानीलाई पम्पबाट पुन बेगनासमा पठाउने योजनालाई अघि बढाउने भएको हो ।

बेगनास–रूपा जलविद्युत् आयोजना अघि बढाइने

विद्युत्को अत्यधिक माग हुने साँझको ४ घण्टाको समयमा मात्र उत्पादन गर्ने गरी आयोजना बन्न लागेको प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारीले बताए । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय, आयोजना विकास विभागले बुधबार सरोकारवालासँग अन्तरक्रिया गर्दै १५० मेगावाट क्षमताको आयोजनाबारे हालसम्म गरिएको प्राविधिक, वातावरण तथा सामाजिक पक्षको अध्ययन प्रतिवेदन प्रस्तुत गरेको थियो । ‘साँझ ५ देखि ९ बजेसम्म बेगनास तालको पानीबाट विद्युत् उत्पादन गरिनेछ,’ भण्डारीले भने, ‘राति १२ बजेदेखि बिहान ४ बजेसम्म फेरि रूपातालबाट पानी तानेर बेगनासमा पठाइनेछ ।’ दैनिक ४ घण्टा मात्रै विद्युत् उत्पादन गरेर अत्यधिक मागलाई धान्ने बनाउने उनले बताए ।

बेगनास तालमा बन्ने इन्टेकबाट पानीलाई ३.०९ किमि लामो प्रवेशमार्ग (सुरुङ) मार्फत रूपातालमा झारेर त्यहाँ बन्ने पावरहाउसबाट विद्युत् उत्पादन हुनेछ ।

रूपाताल बेगनासभन्दा ६८.२९ मिटर होचो छ । बिजुली निकाल्दा बेगनास तालमा पानीको सतह १ मिटर घट्नेछ । रूपातालमा भने ४ मिटर सतह बढ्नेछ । आयोजनाको ईआइए र डिटेल डिजाइन भने गर्न बाँकी रहेको भण्डारीले बताए । प्राधिकरणले ताल बिगार्ने नभई अधिकतम फाइदा लिने योजना रहेको जनाएको छ । प्राधिकरणका निर्देशक नसीममान प्रधानले हालसम्मको प्राविधिक अध्ययनबारे जानकारी गराउँदै आयोजना निर्माणमा २० अर्ब लाग्ने बताए ।

प्राधिकरणका सहायक प्रबन्धक प्रकाश गौडेलले दुवै तालमा यसअघि नै बाँध भएकाले अन्यत्रजस्तो जलाशय बनाउँदा खर्च बढी नलाग्ने बताए । आयोजनाबाट वार्षिक २०६.१४ गिगावाट उत्पादन हुने तर २८५.१३ गिगावाट वार्षिक विद्युत् खपत हुने उनले जनाए । रूपातालमा गएको पानीलाई तानेर फेरि बेगनासमा पुर्‍याउनुपर्ने भएकाले विद्युत् खपत बढ्ने उनको भनाइ छ । जग्गा अधिग्रहणमा पनि ठूलो समस्या छैन । ‘पर्यटकीय आकर्षण पनि थपिनेछ । वातावरणीय असर पनि ठूलो नपर्ने अवस्था छ,’ उनले भने, ‘माछालगायत जलचर प्राणीको अवस्थाबारे पनि प्रारम्भिक अध्ययन गरिएको छ ।’ दुवै तालको अहिलेको प्राकृतिक अवस्था, सुन्दरता र जैविक अवस्थितिलाई पनि कुनै प्रभाव नपारिने प्राधिकरणले जनाएको छ ।

आयोजनाले पहिलो पम्प जलाशययुक्त आयोजनाका रूपमा २०७४ कात्तिक २३ मा सर्वेक्षण अनुमति पाएको थियो । त्यसपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा प्रारम्भिक अध्ययन गरेको थियो । आयोजना नवीकरणका लागि २०७८ कात्तिक २० मा आवेदन दिइएको र अनुमति पाउनसाथ बाँकी सर्वेक्षण तथा अध्ययन अनुसन्धान अघि बढाइने प्राधिकरणले जनाएको छ । भण्डारीले आयोजना पोखरामा पर्यटकीय ब्रान्ड हुने विश्वास गरे । प्राधिकरणले अहिले ३६४ मेगावाट विद्युत् भारत निकासी गरिरहेको छ । तर डिसेम्बरदेखि मेसम्म भने ७ सयदेखि ८ सय मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेकाले पम्प र जलाशययुक्त आयोजनाको आवश्यकता भएको भण्डारीले बताए । ‘धेरै आयोजना नदीको बहाव (रन अफ दि रिभर) को आधारमा भएकाले हिउँदमा नदी खोला सुकेर एक तिहाइ मात्र उत्पादन हुने भएकाले विद्युत् अभाव हुन्छ,’ उनले भने, ‘अब जलाशययुक्त आयोजनामा जोड दिनुको विकल्प छैन ।’ नेपालमा अहिले जलाशययुक्त आयोजना कुलेखानी १, २ र ३ मात्रै हुन् ।

अन्तरक्रियामा स्थानीय र सरोकारवालाले बेगनास तालबाट गरिएको सिँचाइमा असर पर्न नहुने बताएका थिए । साथै स्थानीय क्षेत्रको विकास, रोजगारी, डुंगा व्यवसायमा असर नपार्ने, इको सिस्टममा नखलबलाउन र सम्भावित डुबान (रूपातालतर्फ) मा ध्यान दिन आग्रह गरेका थिए । पूर्वमन्त्री खगराज अधिकारीले जलाशययुक्त विद्युत् आयोजना आजको आवश्यकता रहेको भन्दै यसलाई सकारात्मक रूपमा लिएर अघि बढाउनुपर्नेमा जोड दिए । ‘योजना बनाउन ढिला गर्नु हुँदैन,’ उनले भने । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले आयोजना बनाउँदा पर्यटकीय गतिविधि पनि बढाउने गरी बनाउनुपर्ने बताए । रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आयोजना सम्पन्न गर्न सहयोग गर्ने बताउँदै आयोजनाले पनि स्थानीयस्तरमा सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताए । बेगनास ताल डुंगा व्यवसाय समितिका कार्यवाहक अध्यक्ष रविराज कँडेलले सबैसँग समन्वय गरेर अघि बढ्न सुझाए ।

प्रकाशित : आश्विन ६, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?