कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंको मुखमा सडक मर्मतको काम ठप्प

विमल खतिवडा

काठमाडौँ — पानीले गर्दा सडक मर्मतमा समस्या भएको सडक विभागले जनाएको छ । विभाग स्रोतका अनुसार आपतकालिन सडक मर्मतका लागि सडक बोर्ड नेपालबाट ५० करोड रुपैयाँ आएको छ । उक्त रकम सडकको खाल्डाखुल्डी टाल्न र पहिरो पन्छाउन खर्च गरिने जनाइएको छ ।

दसैंको मुखमा सडक मर्मतको काम ठप्प

दसैंका लागि घर जाने टिकट काट्न काउन्टरहरूमा यात्रुकाे भिड छ । तर, घर जाने बाटाहरू भने ठाउँ-ठाउँमा अवरुद्ध छन् । सडक विभागका अनुसार पाँच स्थानमा पहिरोका कारणा अझै सडक ठप्प छन् । बाजुरा जोड्ने साँफेबगर–मार्तडी–कोल्टी सडक गत साउन १८ गतेदेखि अवरुद्ध छ । लेदो सहितको पहिरो आएपछि ठप्प बनेको सडक दसैंअघि सञ्चालनमा आउन नसक्ने सडक विभागले जनाएको छ । सडक अवरुद्ध भएपछि आवत-जावत बन्द छ । सडकले गर्दा खाद्यान्न ढुवानीमा समस्या भएको बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले बताईन् ।

‘सडक बन्द भएपछि पहिरो गएको ठाउँबाट मान्छेले खाद्यान्न बोकेर ल्याउने गरेका छन्,’ उनले भनिन्, ‘दसैं आउन लागिसक्यो, अहिले खप्तड छेडेदह गाउँपालिका हुँदै वैकल्पिक सडक बनाइँदै छ ।’ उनका अनुसार दसैंका लागि भनेर उक्त सडक बनाउन थालिएको हो । ‘वैकल्पिक सडक बनाउन थालेपछि पानी परीरहेको छ, बनाइराखेको सडकभन्दा तल बस्ती छ,’ उपप्रमुख थापाले भनिन्, ‘फेरि पहिरो खसेर बस्ती पुरिने डर छ । सावधानी अपनाएर सडक बनाउने काम भइरहेको छ ।’ दसैं नजिकिएको समयमा सडककै कारण बढी सास्ती भएको उनको गुनासो छ ।

यता बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडक साउन २५ गतेदेखि ठाउँ–ठाउँमा पहिरो गएर अवरुद्ध छ । यो सडक केही दिनभित्रै खुल्ने सडक विभागको दाबी छ । त्यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक भदौ १६ देखि ठप्प छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार डुम्रे–बेंसीसहर–चामे सडक भदौ २९ देखि बन्द छ । कर्णाली राजमार्ग अन्तर्गत जमुनाहा–नेपालगन्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा सडकमा भदौ ३१ गते गएको पहिरोका कारण यातायात ठप्प छ । एक दर्जनभन्दा बढी सडक एकतर्फी रूपमा सञ्चालनमा भए पनि पहिरो झर्ने क्रम रोकिएको छैन । पानी पर्ने क्रम नरोकिएकाले उक्त सडक खण्ड जुनसुकै बेलामा पनि अवरुद्ध बन्न सक्ने विभागको भनाइ छ ।

दसैं, तिहार, छठ लगायत चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गहरू यथाशिघ्र मर्मत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आइतबार सडक विभागलाई निर्देशन दिएका थिए । पानीले गर्दा सडक मर्मतमा समस्या भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘पानीका कारण सडक मर्मत गर्न पाइएको छैन,’ महानिर्देशक थापाले भने, ‘दसैंमा कर्मचारीहरूलाई समस्या भएका स्थानहरूमा खटाउनुको विकल्प छैन ।’ उनका अनुसार सडक मर्मत थालिए पनि पानीले गर्दा रोकिएको छ । ‘दुई/तीन दिन घाम लागिदिए सडकका खाल्डाखुल्डी पुर्न सजिलो हुन्थ्यो,’ थापाले भने, ‘पानी परिरहेको बेला काम गरेको कुनै अर्थ हुँदैन ।’ उनका अनुसार पहिरोकै कारण सडक ठप्प छन् । बाजुराको सडक खुल्ला गर्न एक हप्ता घाम लाग्नुपर्ने उनको भनाइ छ । सुदुरपश्चिमतिर पानी पर्ने क्रम नरोकिएकाले बढी समस्या भएको उनले बताए ।

असोज १ गतेबाट बसको टिकट बुकिङ खुल्ला गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले दसैंमा सडक सहज नभए यात्रुलाई गन्तब्यसम्म पुर्‍याउन गाह्रो हुने बताए । ‘धेरै ठाउँमा पहिरो गएर सडक अवरुद्ध छन्,’ उनले भने, ‘ दसैंमा अग्रिम बुकिङ खोल्नुअघिदेखि नै सडक सहज बनाउनुपर्ने माग राख्दै आएका थियौं । तर, अहिलेसम्म अवरुद्ध सडकसमेत सञ्चालनमा आउन सेकेका छैनन् ।’

प्रकाशित : आश्विन ५, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?