कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भद्र सहमति तोडेर बैंकले आफूखुसी ब्याज बढाउन खोजे : व्यवसायी 

व्यवसायीले भने - सरकारले जायजेथा किनोस्, हामी ब्याज खाएर बस्छाैं
विनोद भण्डारी

विराटनगर — बैंकहरुले भद्र सहमति तोड्दै असोजदेखि निक्षेपमा ब्याजदर बढाएपछि व्यवसायीले आलोचना गरेका छन् । बैंकहरुले कर्जाको ब्याज बढाउनका लागि निक्षेपमा ब्याज बढाएको भन्दै उनीहरुले ब्याजदरकै कारण व्यवसाय गर्न नसक्ने अवस्था आएको गुनासो गरे । 

भद्र सहमति तोडेर बैंकले आफूखुसी ब्याज बढाउन खोजे : व्यवसायी 

तरलता अभाव, आयातमा गरिएको कडाइ लगायतका कारण औद्योगिक र व्यवसायिक क्षेत्र चरम समस्यामा रहेका बेला बैंकको ब्याजले थप मार पारेको व्यवसायीको भनाइ छ । मोरङ व्यापार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष नविन रिजालले भने ‘लगानीयोग्य पुँजीको अभावमा उद्योगी र व्यवसायीले आफ्नो क्षमता अनुसार कारोबार गर्न सकिरहेका छैनन्, बैंकले आफूखुसी ब्याज बढाएर उद्योग बन्द गर्न बाध्य तुल्याएका छन् ।’ कोभिडपछि विस्तारै लयमा फर्कँदै गरेको अर्थतन्त्रलाई समेत उच्च ब्याजदरको धक्का लाग्ने उनले बताए ।

ब्याजदर बढाउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भूमिका रहेको भन्दै व्यवसायीले आलोचना गरे । रिजालले भने 'सरकारले व्यवसायीको सम्पत्ति किनोस्, त्यो रकम बैंकमा राखेर ब्याज खाएर बस्न हामी तयार छौं ।' संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले राष्ट्र बैंकले २७ वटा वाणिज्य बैंकलाई ट्रयाकमा ल्याउन २७ हजारभन्दा बढी उद्योगीलाई पलायन गर्ने प्रयत्न गरेको आरोप लगाए । राष्ट्र बैंकले प्रभाव पर्ने क्षेत्रको हेक्का नराखी नीति बनाउँदा उद्योगी मारमा परेको उनको भनाइ छ । ‘बैंककै कारण उद्योगी पलयान हुने स्थिति आएको छ’ उनले भने ‘यस्तो अवस्थामा सरकार मौन बस्नु दु:खद हो’ उनले भने । निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले सरकारले आफूहरुको उद्योग खरिद गरेमा बैंकको ब्याज खाएर बस्न राजी भएको बताए । ‘एकातिर देशका युवा र उद्योगी पलायन भइरहेका छन्’ मुन्दडाले भने ‘यस्तो अवस्थामा पनि उद्याेगलाई मार पर्नेगरी ब्याजदर बढाउँदा राज्य चुप लाग्नु दु:खद हो ।’

प्रकाशित : आश्विन २, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?