कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजदेखि सहुलियत पसल, बढीमा ५० रुपैयाँसम्म छुट

छुटका खसीबोका घटस्थापनाको भोलिपल्टदेखि बिक्री हुने
मुस्ताङबाट सम्भव नभएपछि अब दार्चुलाको च्यांग्रा
राजु चौधरी

काठमाडौँ — दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तु हुन्, चिनी र घिउ । तर यिनै वस्तु नराखी सरकारले असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । यी पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्तुमा छुट दिने निर्णय भइसकेको छ । तर, शनिबारदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।

आजदेखि सहुलियत पसल, बढीमा ५० रुपैयाँसम्म छुट

चाडबाडमा सहुलियत दरमा चिनी मुख्यत: साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्छन् । घिउको हकमा दुग्ध विकास संस्थान (डीडीसी) ले छुट दिने गर्छ । तर, यी निकायसँग चिनी र घिउ मौज्दात छैन । ‘दूध अभावका कारण डीडीसीले घिउ नभएको जानकारी गराएको छ । चिनीका लागि सहुलियत चिनी आयात गर्न अर्थले सहमति नै दिएन,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले भनिन्, ‘घिउ र चिनी नभए पनि अन्य खाद्यका विषयमा भने विगतको वर्षभन्दा छुट रकम बढाएका छौं ।’

सहुलियत चिनी आयात गर्न आपूर्ति मन्त्रालयले जेठ २४ मा अर्थमा पत्र पठाएको थियो । पत्रमा साल्टका लागि ४० हजार टन र खाद्य कम्पनीका लागि १० हजार टन आयात सहमति मागिएको थियो । तर, अर्थले सहमति दिएन, जसकारण साल्ट र खाद्यका गोदाम रित्तै भएका हुन् ।

चिनीबाहेक अन्य खाद्यान्नमा प्रतिकिलो/लिटर १० रुपैयाँसम्म छुट दिइएको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश झाले जनाए । साल्टले ४२ कार्यालयमा रहेका आउटलेटबाट छुट दिने उनको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि ४१ जिल्लामा रहेका बिक्री केन्द्र/आउटलेटबाट छुट दिने निर्णय गरेको छ । विभिन्न ब्रान्डका चामल, दाल, चिउरा, नुन, तेल, आँटा र गेडागुडीमा छुट भए पनि चिनी बिक्री नहुने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए । बजारमा दूध संकलनमा कमी आउँदा घिउ अभाव भएको डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जनाए । ‘सबैभन्दा बढी उत्पादन हुने काठमाडौं आयोजनाबाट हो । खपत पनि उपत्यकामै हुन्छ । तर घिउ मौज्दात छैन,’ अधिकारीले भने, ‘घिउ उत्पादन नहुँदा सहुलियत पसलमा राख्न सकेनौं। जिल्लाका आयोजनाबाट थोरै मगाएर उपस्थिति जनाउने प्रयत्न गरिरहेका छौं ।’ डीडीसीले चाडपर्वका अवसरमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने जनाएको छ । तर यी वस्तुको उत्पादन पर्याप्त छैन ।

खाद्य कम्पनीले घटस्थापनादेखि खसीबोका भित्र्याउने जनाएको छ । घटस्थापनाको भोलिपल्टदेखि खसीबोका बिक्री गरिने थापाको भनाइ छ । ‘दाङ, हेटौंडा र धादिङमा खसीबोका खोजी सुरु गरेका छौं । घटस्थापनादेखि उपत्यका भित्र्याउन सुरु गर्छौं,’ उनले भने । खाद्यले यस वर्ष करिब १८ सय खसीबोका किन्ने योजना बनाएको छ । च्यांग्रा पनि करिब ५ सय ल्याएर बिक्री गर्ने थापाले जानकारी दिए । च्यांग्रा मुस्ताङबाट सम्भव नभएपछि दार्चुलाबाट ल्याउने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन १, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?