१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

जजिराले थाल्यो भैरहवा–कुवेत दैनिक उडान

माधव ढुङ्गाना

भैरहवा — जजिरा एयरलाइन्सले शुक्रबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा दैनिक उडान सुरु गरेको छ । यसअघि गत जेठ २ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै उक्त एयरलाइन्सले भैरहवा–कुवेतबीच सातामा तीन उडान गर्दै आएको थियो ।

जजिराले थाल्यो भैरहवा–कुवेत दैनिक उडान

‘जजिराले दैनिक एउटा उडान सञ्चालन गरेसँगै उत्साह थपिएको छ,’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभास झाले भने, ‘नियमित रूपमा उडान सञ्चालन गरेपछि अब अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालन गर्नेमा आशावादी बनाएको छ ।’

विमानस्थल उद्घाटन भएपछि हालसम्म अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको जजिरा एयरलाइन्स मात्र हो । विमानस्थलका अनुसार हालसम्म जजिरा एयरलाइन्सले भैरहवा–कुवेतबीच १ सय १० वटा उडान सञ्चालन गरिसकेको छ । यसमध्ये कुवेतबाट भैरहवा विमानस्थलमा ६ हजार ५ सय ८७ जना यात्रु ओर्लेका छन् । भैरहवाबाट कुवेतका लागि भने ७ हजार २ सय ४० जना यात्रु प्रस्थान गरेका छन् ।

भैरहवा–कुवेतबीच हवाई यात्रुको चाप बढ्न थालेपछि जजिरा एयरलाइन्सले नियमित रूपमा दैनिक उडान सञ्चालन गरेको हो । भैरहवा–कुवेतबीच हवाई उडान सञ्चालन गरेदेखि नै जजिराले निकै राम्रोसँग सेवा दिइरहेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए । व्यावसायिक दृष्टिबाट पनि जजिराको भैरहवा–कुवेत उडान निकै उत्साहजनक रहेको उनको भनाइ छ । भैरहवा–कुवेतबीच दैनिक उडान सञ्चालनका लागि नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सहयोग प्राप्त भइरहेको छ । जजिराको ‘एयर बस ३२० निओ’ विमानले भैरहवा–कुवेतबीच हवाई उडान भर्दै आएको छ ।

कुवेतका लागि काठमाडौंबाट श्रम स्वीकृति लिएका नेपाली श्रमिकहरू भैरहवा पायक पर्ने भएकाले काठमाडौंको साटो भैरहवाबाट पनि उड्ने गरेका छन् । जजिराबाट काठमाडांै–कुवेतको भाडा दरभन्दा भैरहवा–कुवेतको भाडादरमा प्रतियात्रु ८ हजार रुपैयाँ सस्तो छ । भैरहवामा हवाई उडान सञ्चालन गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाएको विशेष सहुलियत जजिराले यात्रुलाई प्रदान गरेका कारण यहाँबाट जाँदा हवाई भाडा सस्तो पर्न गएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गरेबापत अन्तर्राष्ट्रिय एयरलाइन्सलाई अवतरण, विसान (पार्किङ), सुरक्षा र सञ्चार गरी चार शुल्क एक वर्षका लागि शतप्रतिशत छुट दिइएको छ । ग्राउन्ड ह्यान्डलिङमा पनि एक वर्षका लागि ५० प्रतिशत छुट दिइएको छ । यही छुटका कारण भैरहवामा उडान सञ्चालन गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सले प्रतिउडान सरदर साढे २ लाख रुपैयाँ छुट पाउने गरेका हुन् ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र पूर्वमा वीरगन्जसम्मका यात्रुले कुवेतको हवाई यात्रा भैरहवाबाट गर्ने गरेका छन् । आउँदो अक्टोबर ३० देखि बिज एयरले पनि भैरहवा–अबुधाबीबीच उडान सञ्चालन गर्ने भएको छ । हंगेरीको यो वायुसेवा कम्पनीले तत्कालका लागि सातामा तीन वटा हवाई उडान सञ्चालन गर्ने गरी टिकट काट्ने अनुमति एक महिनाअघि पाइसकेको निर्देशक झाले बताए । बिज एयरले वैदेशिक रोजगारीका लागि यात्रा गर्ने नेपाली श्रमिक र बाह्य पर्यटकलाई लक्षित गरेर उडान सञ्चालनको तयारी गरेको हो ।

‘अन्तर्राष्ट्रिय उडान थपिएसँगै भैरहवाबाट नेपालकै विभिन्न स्थानका लागि आन्तरिक उडान थपिने निश्चित छ,’ झाले भने, ‘भैरहवाबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सलाई अनुरोध गरिएको छ ।’ काठमाडौंमा हुने गरेको हवाई चाप घटाउन र भैरहवा विमानस्थललाई चलायमान बनाउन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक दुईभन्दा धेरै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई एउटा उडान भैरहवाबाट सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणले अनुरोध गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?