निगमको जापान उडान ११ घण्टा ढिला

सुरज कुँवर

काठमाडौँ — नेपाल वायु सेवा निगमका उडानहरू बुधबार जापानको कम्तीमा ११ र नयाँदिल्लीको झन्डै ४ घण्टा ढिला भएका छन् । अर्को जगेडा जहाज नहुँदा निगमको मंगलबार राति जापानको नारिता जानुपर्ने उडान ११ घण्टा ढिला उडेको थियो भने दिल्ली जाने वाइडबडीका लागि एउटा पांग्रा व्यवस्थापन ढिला हुँदा बुधबार डेढ बजे हुनुपर्ने उडान साँझ ५ बजे मात्रै भएको थियो । 

निगमको जापान उडान ११ घण्टा ढिला

निगमको विमानस्थल कार्यालयका कर्मचारीहरूका अनुसार १ सय ८४ यात्रु बोकेर जापानका लागि मंगलबार राति ११ बजे उडेको जहाजमा धूवाँ देखिएपछि आधा घण्टामै फर्काएर काठमाडौं अवतरण गराइएको थियो । निगमका एक निर्देशकका अनुसार उक्त वाइडबडी विमानको कार्गो कम्पार्टमेन्टमा धूवाँ देखिएको थियो ।

काठमाडौंमा अवतरण भएको जहाजको विकल्पमा प्रयोग गर्न अर्को जहाज नभएकाले निगमले यात्रुहरूलाई राति सिनामंगलस्थित एयरपोर्ट होटल र ज्ञानेश्वरको कावेरी इनमा राखेको थियो । प्राविधिकहरूले उक्त जहाजलाई राति नै मर्मत गरे पनि चालक दलको १० घण्टाको ड्युटी सीमा लागू हुने भएको भन्दै उडान ढिला गरियो ।

बुधबार बिहान साढे १० बजे मात्रै उक्त जहाज ती यात्रुलाई लिई पुनः नारिताका लागि उडेको थियो । त्यहाँबाट काठमाडौं फर्किन २ सय ४६ जनाले टिकट लिएका थिए । नारिताबाट समयमै नफर्किंदा उक्त वाइडबडीको बुधबार राति साढे २ बजे नेपाली सेनाले दक्षिण सुडानका लागि तय गरेको चार्टर उडान एक घण्टा डिले हुने भएको छ ।

यता पांग्रा सप्लायर कम्पनीलाई समयमै रकम भुक्तानी नगर्दा निगमको दिल्ली उडान झन्डै ४ घण्टा डिले भएको छ । यसरी बेलैमा पांग्रा नहुँदा उडान प्रभावित भएको यो दोस्रो घटना हो । यसअघि साउन पहिलो साता पनि निगम व्यवस्थापनले पांग्रा खरिदमा ढिलाइ गर्दा दिल्ली जाने २ सय ५० जना यात्रु काठमाडौंमा अलपत्र परेका थिए भने उताबाट फर्किने यात्रु पनि दिल्लीमा घण्टौं कुर्न बाध्य भएका थिए ।

वाइडबडीको पछाडिका ८ वटामध्ये फेर्नुपर्ने एउटा पांग्रा बेलैमा उपलब्ध नहुँदा उडान प्रभावित भएको हो । बिहान १० बजे विमानस्थलमा पुगेका २ सय २० जना यात्रुहरू अलपत्र परेका थिए । निगमको तालिकाअनुसार आरए २१७ नम्बरको उडान हरेक दिन काठमाडौंबाट १ः२५ मा दिल्ली जाने र उताबाट भारतीय समयअनुसार ४ः२० मा काठमाडौं फर्किनुपर्छ ।

निगमको विमानस्थल कार्यालयका अनुसार दिल्ली जानुपर्ने यात्रुले उड्न नपाएपछि उनीहरूलाई सुरक्षा जाँचपछि विमानस्थलमा रहेका सोल्टी र र्‍याडिसन होटलका लाउन्जमा खाना–खाजाको व्यवस्था गरिएको थियो । दिल्लीबाट अर्को जहाज चढेर तेस्रो मुलुक जानुपर्ने अर्जेन्ट भएका यात्रुलाई भारतीय एयरलायन्समा टिकट काटेर पठाइएको थियो ।

दिल्ली स्टेसनले पनि बुधबार ३ घण्टाभन्दा कम समय अवधि बाँकी भएका ट्रान्जिट यात्रुलाई निगमको उडानबाट नपठाउन भनेको थियो । उता दिल्लीबाट निगमको जहाज २ सय ७० जना बोकेर बेलुकी साढे ९ बजे काठमाडौं फर्किएको थियो ।

निगमसँग २ सय ७४ सिट क्षमताका दुइटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुइटा न्यारोबडी विमान छन् । यीमध्ये तीन वटा मात्रै हाल उडानमा छन् । एउटा न्यारोबडी महिना दिनदेखि काठमाडौंमा ग्राउन्डेड छ ।

प्रकाशित : भाद्र ३०, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?