कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
मानव विकास सूचकांकमा नेपाल

एक स्थान उक्लियो, अंक घट्यो

हेमन्त जोशी

काठमाडौँ — मानव विकास सूचकांक (एचडीआई) मा नेपालले सामान्य सुधार गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सोमबार सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२१–२०२२’ अनुसार नेपाल अघिल्लो वर्षको भन्दा एक स्थान माथि उक्लिएको हो ।

एक स्थान उक्लियो, अंक घट्यो

सन् २०२२ को मानव विकास प्रतिवेदनअनुसार नेपाल ०.६०४ अंकसहित १४४ औं स्थानमा थियो भने अहिले ०.६०२ अंकसहित १४३ औं स्थानमा पुगेको छ । यूएनडीपीले विश्वभरका १९१ मुलुकलाई उनीहरूले प्राप्त अंकका आधारमा विभिन्न ४ समूहमा विभाजन गरेको छ । जसमा नेपाल ‘मध्यमस्तरीय मानव विकास’ रहेका मुलुकहरूको समूहमा छ । नेपाल सार्क मुलुकहरूमा श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेश र भारतभन्दा पछि छ भने पाकिस्तान र अफगानिस्तानभन्दा मात्रै अघि छ ।

लैंगिक असमानता सूचकांकमा भने नेपाल अघिल्लो वर्षको तुलनामा केही स्थान तल झरेको छ । सन् २०१९ को विश्वव्यापी लैंगिक असमानता सूचकांकमा नेपाल ११० औं स्थानमा रहेकोमा अहिले ११३ औं स्थानमा पुगेको छ । मानव विकास सूचकांकमा मुख्य ३ आधारभूत आयाम हेर्ने गरिन्छ । जसमा दीर्घ र स्वस्थ जीवन, ज्ञान तथा शिक्षामा पहुँच र राम्रो जीवनस्तर तथा प्रतिव्यक्ति औसत आयु पर्छन् । यी सूचकबाट मुलुकको दीर्घकालीन प्रगतिको समीक्षा गर्ने गरिन्छ ।

सन् १९९० देखि २०२१ बीचको ३ दशकमा नेपालको मानव विकास सूचकांकको मान ०.३९९ बाट ०.६०२ पुगेको देखिन्छ । जुन परिवर्तन ५०.९ प्रतिशत बराबर हो । यो अवधिमा नेपालको प्रतिव्यक्ति सरदर आयु १३.६ प्रतिशतले, विद्यालय जाने औसत उमेर २.८ वर्षले र विद्यालय जाने अपेक्षित उमेर २.८ वर्षले परिवर्तन भएको छ । त्यस्तै, यो अवधिमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४० प्रतिशतले बढेको छ । यद्यपि, मातृ मृत्युदर, महिला सांसदको प्रतिशत र श्रमशक्तिमा महिलाहरूको सहभागितालगायत क्षेत्रमा भने नेपालको प्रगति तुलनात्मक रूपमा न्यून रहेको देखाउँछ । अहिले नेपालको प्रतिव्यक्ति औसत आयु ६८.४ वर्ष छ । बहुआयामिक गरिबी सूचक ०.०७४ छ । जसअनुसार नेपालका १७.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ ।

‘नेपाल मानव विकास सूचकांक र वरीयतामा अगाडि बढिरहेको देखाउँछ तर हामीले अझै अगाडि बढ्नको लागि कडा मेहनत गर्नुपर्छ,’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एचडीआई प्रतिवेदन सार्वजनिक गर्दै भनिन् । शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, कृषिजस्ता क्षेत्रमा लगानीका लागि सरकारले जोड दिएको उनको भनाइ छ । नेपालले गत वर्षको तुलनामा केही सुधार गरे पनि यो पर्याप्त नरहेको नेपालका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि आइसानी मेदागनगोदा लाबेले बताइन् । ‘प्रतिवेदनले कोरोना महामारी र प्राकृतिक प्रकोपसहितका विभिन्न झट्काका बावजुद पछिल्ला २ वर्षमा नेपालले धेरै हदसम्म स्थिर मान कायम गर्न सफल भएकोतर्फ संकेत गर्छ । यद्यपि, यसको अर्थ ढुक्क हुनु भने होइन । किनभने, अन्य देशहरूको तुलनामा नेपाल पछि परेको छ,’ लाबेले भनिन्, ‘कोरोना महामारीजस्ता विश्वव्यापी रूपमा भएका घटनाहरूले मानव विकासमा नेपालको प्रगतिलाई पक्कै पनि प्रभावित गरेको हो र नयाँ अनिश्चितताहरूले भविष्यमा हासिल गरिने प्रगतिमा पनि अवरोध सिर्जना गर्ने सम्भावना छ ।’

नेपालमा व्याप्त विभिन्नखाले असमानताका कारण मानव विकासमा उल्लेखनीय क्षति व्यहोरिरहेको देखिन्छ । ‘लैंगिक, जातिगत, भौगोलिक र अन्य क्षेत्रमा विद्यमान असमानताका कारण नेपाललाई मानव विकासमा २५ प्रतिशतभन्दा बढी क्षति पुग्न गएको छ,’ यूएनडीपीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२१ मा पुरुषहरूको ०.६२१ को तुलनामा महिलाहरूको मानव विकास सूचकांक ०.५८४ छ । जसका कारण लैंगिक विकास सूचकांकको मान ०.९४२ हुन पुगेको छ ।’ लैंगिक असमानता सूचकांकले प्रजनन स्वास्थ्य, सशक्तीकरण र श्रम बजार गरी ३ वटा प्रमुख आयामहरूमा विद्यमान लैंगिक असमानताहरूको मापन गर्छ ।

‘अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ शीर्षक दिइएको मानव विकास सूचकांक प्रतिवेदनले कोरोना महामारी र रुस–युक्रेन तनावका कारण विश्वका हरेक १० मध्ये ९ मुलुक मानव विकासमा पछि पर्न गएको उल्लेख गरेको छ । अर्थात्, ९० प्रतिशत मुलुकको मानव विकास सूचकांक घटेको छ ।

‘हामी चिन्ताको संसारमा बाँचिरहेका छौं । कोरोना महामारीले विश्वका हरेक मुलुकको मानव विकासमा असर गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘रुस–युक्रेन तनावले थप मानवीय पीडा सिर्जना गरेको छ । उच्च तापक्रम, बाढीपहिरोलगायत प्राकृतिक प्रकोपले विश्वभरका प्राणीलाई समस्या सिर्जना गरेको छ ।’ एकपछि अर्को संकटको सामना गर्नुपर्दा मानव विकासको अवस्था सन् २०१६ को जस्तो अवस्थामा पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । यसबाट ल्याटिन अमेरिकी, क्यारेबियन, अफ्रिकी र दक्षिण एसियाली मुलुकहरू बढी प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघले मुलुकहरूलाई ४ वर्गमा राखेर विभाजन गरेको छ । ०.५५० सम्म अंक ल्याउनेलाई न्यून मानव विकास सूचकांक भएको मुलुक मानिएको छ । ०.५५० देखि ०.६९९ लाई मध्यम, ०.७०० देखि ०.७९९ सम्मलाई उच्च र ०.८०० भन्दा धेरै अंक हासिल गरेका मुलुकहरूलाई अति उच्च मानव विकास सूचकांक भएका मुलुकको सूचीमा राखिएको छ । मानव विकास सूचकांकमा स्विट्जरल्यान्ड ०.९६२ अंकसहित पहिलो स्थानमा छ । स्विट्जरल्यान्ड गतवर्ष पनि पहिलो स्थानमा थियो । त्यस्तै, सन् २०२० मा पहिलो स्थानमा रहेको नर्वे ०.९६१ अंकसहित दोस्रो र आइसल्यान्ड ०.९५९ अंकसहित तेस्रो स्थानमा छ । हङकङ, अस्ट्रेलिया, डेनमार्क र स्विडेन क्रमशः चौथो, पाँचौं, छैटौं र सातौं नम्बरमा छन् । आयरल्यान्ड आठौं, जर्मनी नवौं र नेदरल्यान्ड्स दसौं नम्बरमा छन् ।

राष्ट्रसंघले १९१ मुलुकको विवरण सार्वजनिक गरेकोमा दक्षिणी सुडान सबैभन्दा पुछारमा छ । दक्षिण एसियाली मुलुकहरूमा श्रीलंका ७३ औं, माल्दिभ्स ९० औं र भुटान १२७ औं स्थानमा छन् । त्यस्तै, बंगलादेश १२९ औं, भारत १३२ औं, पाकिस्तान १६२ औं र अफगानिस्तान १८० औं स्थानमा छन् ।

प्रकाशित : भाद्र २८, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?