कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अब टेलिकमको ई–सिम

काठमाडौँ — सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ ।

अब टेलिकमको ई–सिम

‘यो सिम कसरी लिने, कहाँबाट लिने भनेर हामीलाई धेरै जिज्ञासा आइरहेका छन्,’ अधिकारीले भने, ‘जतिसक्दो चाँडो ग्राहकलाई दिने व्यवस्था मिलाउँदै छौं ।’ हाल टेलिकमका केही कर्मचारीको मोबाइल डिभाइसमा ई–सिम इन्स्टल (जडान) गरिएको छ । सबैबाट राम्रो प्रतिक्रिया आएकाले अब ग्राहकलाई बाँड्न समय नलाग्ने बताइएको छ ।

सुरुमा टेलिकमको काउन्टरबाट मात्रै ई–सिमका लागि आवेदन दिन मिल्छ । विस्तारै अरू माध्यमबाट पनि ई–सिम एक्टिभेट गर्ने सुविधा ल्याउने उनको भनाइ छ । ग्राहकले नयाँ सिम लिन वा भइरहेकै भौतिक सिम कार्डलाई इम्बेडेड सिममा परिवर्तन गर्न सक्नेछन् । यसका लागि कुनै शुल्क नलाग्ने बताइएको छ । भारतमा जिओ फोनका ग्राहकले आफ्नो सिमलाई ई–सिममा परिवर्तन गर्न ईआईडी र आईएमईआई नम्बर एसएमएस गरी पठाए पुग्छ । हामीकहाँ पनि क्रमशः त्यस्ता सुविधा विस्तार गरिने टेलिकमले जनाएको छ । मोबाइल नेटवर्कमा कनेक्ट हुन हाल मोबाइलको सानो प्वालमा ‘इजेक्टर’ ले घोचेर सिम ट्रे निकालेपछि त्यसमा प्लास्टिकको नानो सिम कार्ड राख्ने गरिन्छ । ती सिममा प्रयोगकर्ताको विवरण, मोबाइल नम्बर, कन्ट्यान्ट नम्बर आदि समावेश हुन्छन् । ग्राहकलाई सिम कार्ड वितरण गर्दा अपरेटरले उनीहरूको प्रोफाइल (विवरण) त्यसमा जडान गरेर दिने गरेको छ । ई–सिमचाहिँ हार्डवेयर चिपसेट हो, जुन डिभाइसभित्रै जडित हुन्छ, त्यो चिपसेटमा अपरेटरको प्रोग्राम इन्स्टल भएपछि डिभाइसले सीधै मोबाइल नेटवर्कसँग सञ्चार गर्न सक्छ । पहिले–पहिले मोबाइलमा ठूलो आकारको मिनी सिमकार्ड राखिन्थ्यो । त्यसपछि माइक्रो र नानो हुँदै हाल ई–सिम प्रचलनमा आएको छ । पछिल्लो समय विश्वमै ई–सिम जल्दोबल्दो विषय बनिरहेको छ । बुधबार सार्वजनिक एप्पलको आइफोन १४ र आइफोन १४ प्लस मोडलका फोनमा भौतिक सिम कार्ड राख्ने स्लट (खण्ड) हटाइएको छ । तिनमा अब ई–सिम मात्र रहनेछन् । टी–मोबाइल, एटीएन्ड टी र भेरिजोनजस्ता संयुक्त राज्य अमेरिकाका प्रमुख दूरसञ्चार सेवा प्रदायकहरूले ई–सिम प्रवर्द्धनका लागि एप्पलसँग सहकार्य गरेका छन् ।

ई–सिम दूरसञ्चार क्षेत्रको बिल्कुल नयाँ प्रविधि भने होइन । तर पछिल्ला वर्षमा विश्वका ठूला मोबाइल नेटवर्क अपरेटर र मोबाइल डिभाइस निर्माताहरू प्लास्टिक वा सिलिकनका सिमभन्दा यसतर्फ बढी आकर्षित भएका छन् । स्मार्ट वाच र ल्यापटपहरूमा पनि ई–सिम राख्न मिल्ने बनाउन थालिएको छ । ई–सिमकै प्रवर्द्धनका लागि एप्पलले भौतिक सिम राख्ने ट्रे हटाएर पूर्णतः ई–सिममा चल्ने बनाएको हो । तर यो सुविधा हाल संयुक्त राज्य अमेरिकामा मात्रै उपलब्ध हुने एप्पलकी आइफोन प्रोडक्ट मार्केटिङ विभाग उपप्रमुख काएन ड्रेन्सले बुधबारको ‘फार आउट’ कार्यक्रममा बताएकी थिइन् ।

‘ई–सिम भनेको डिजिटल सिम हो, जसले भौतिक सिम कार्डको आवश्यकता अन्त्य गर्छ,’ उनले भनेकी थिइन्, ‘एउटै डिभाइसमा धेरै सिम कार्ड राख्न सकिन्छ । यसको अर्थ धेरै वटा डाटा प्याकेज र फोन नम्बरहरू उपलब्ध हुनेछन् । भौतिक सिम कार्डभन्दा यो निकै सुरक्षित छ । भौतिक सिम जडित फोन हराउँदा सिमकार्ड पनि सँगै हराउँछन् । तर, ई–सिममा त्यो समस्या हुँदैन ।’ विभिन्न देशको भ्रमण गरिरहनेलाई ई–सिम असाध्यै सजिला र उपयोगी माध्यम हुने बताइएको छ । एप्पलले यसअघिका आइफोनका मोडलहरूमा पनि सिम कार्ड स्टल हटाउनेबारे चर्चा भएको थियो । यसपालि पहिलो पटक सिम कार्डको स्लटबेगरका फोन बजारमा आउन लागेका हुन् । आइफोन १५ बाट त झन् एप्पलमा भौतिक सिम कार्डको चलनै नहुने ब्लुमबर्गका प्रविधि रिपोर्टर मार्क ग्रुमम्यानले आफ्नो न्युजलेटरमा उल्लेख गरेका छन् ।

प्रकाशित : भाद्र २६, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×