कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गमका जिल्ला सदरमुकाममा न्यून चामल, गाउँका डिपो रित्तै

प्रादेशिक कार्यालयबाट समयमै ढुवानी नहुँदा चाडबाडमा अभाव हुने चिन्ता
राजु चौधरी

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको ५ महिनामा गरिएका कामबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दिलेन्द्रप्रसाद बडूले दुर्गममा साविकको भन्दा खाद्यान्न ढुवानी कोटा बढाइएको बताए । खाद्यन्न आपूर्ति सहज बनाउन ढुवानी अनुदानलाई निरन्तरता दिइएको उनको भनाइ छ । ‘खाद्य सुरक्षा सुनिश्चित गर्न ढुवानी अनुदानलाई निरन्तरता दिएका छौं, दुर्गमका थप स्थानमा डिपो र भण्डारण क्षमता बढाइएको छ,’ मन्त्री बडूले भने, ‘खाद्य सुरक्षालाई सुनिश्चित गर्न साविकको १६ हजार ४ सय टनलाई बढाएर १८ हजार पुर्‍याइएको छ ।’

दुर्गमका जिल्ला सदरमुकाममा न्यून चामल, गाउँका डिपो रित्तै

मन्त्री बडूले खाद्यान्न आपूर्ति सहज बनाउन अनुदान र कोटा बढाइएको बताइरहँदा चाडबाडकै बेला दुर्गम जिल्लावासीलाई खाद्यान्न जोहो गर्नै चिन्ता छ । दुर्गम क्षेत्रमा मुख्यतः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानी गर्दै आएको छ । ढुवानीकै लागि सरकारले वार्षिक ४४ करोड रुपैयाँ अनुदान दिन्छ । तर, खाद्यले समयमै ढुवानी प्रक्रिया नगर्दा दुर्गमवासीले चाडबाडकै मुखमा अभाव भोग्नुपरेको छ ।

घटस्थापना आउन करिब दुई साता बाँकी हुँदा दुर्गमका धेरैजसो खाद्य डिपोमा चामल छैन । सदरमुकाममा केही परिमाणमा भए पनि गाउँका डिपो रित्तै छन् । ‘सबैभन्दा नाजुक अवस्था हुम्लामा छ । शाखा कार्यालय/सदरमुकाममा केही परिमाणमा चामल भए पनि दुईवटा डिपो र पाँचवटा बिक्री केन्द्रमा चामल छैन,’ हुम्ला शाखाका एक कर्मचारीले भने, ‘साउनमा एक पटक वितरण गर्‍यौं, त्यसपछि चामल नै छैन ।’ चाडबाडका लागि केन्द्रसँग मागे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

हुम्ला शाखा कार्यालय प्रमुख कृष्ण अधिकारीको भनाइ पनि उस्तै छ । सदरमुकाममा करिब १६ सय क्विन्टल चामल मौज्दात रहेको उनको भनाइ छ । त्यो चामल ३ गाउँपालिकाका लागि हो । सर्केगाड, देउसी, श्रीनगर, छप्रेला, तुम्च वालकुना र खार्पुनाथ याङ्चु बिक्री केन्द्रमा चामल नभएको अधिकारीले बताए । ‘सदरमुकामबाहेक अन्यत्रका सबै डिपो र बिक्री केन्द्र खाली छन्, चामल छैन । यी डिपोका लागि प्रादेशिक कार्यालय सुर्खेत र मुख्य शाखा कार्यालय नेपालगन्जबाट चामल चलानी हुनुपर्ने हो । तर ढुवानीका लागि बोलपत्र आशय स्वीकृत भइसकेको छैन,’ उनले भने, ‘दसैंअगाडि ढुवानीको सम्भावना कमै छ, सक्दो छिटो ढुवानीको माग गरिरहेका छौं ।’ यता केन्द्रले भने हुम्ला शाखा कार्यालयमा १ हजार ८ सय २७ क्विन्टल मौज्दात रहेको दाबी गरेको छ ।

हुल्लामा करिब ६० हजार सर्वसाधारणको बसोबास छ । यहाँ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल ढुवानी गर्दै आएको छ । तर, कमिसनको प्रलोभनमा महँगो ढुवानी दर कबोल गर्नेलाई जिम्मा दिन खोज्दा विवादमा पर्ने गरेको छ । यसले गर्दा पनि समयमै चामल ढुवानी हुन सकेको छैन । गत वर्ष पनि खाद्यले हवाईमार्गबाट हुम्लामा १० हजार क्विन्टल चामल पठाउन सिलबन्दी बोलपत्र आह्वान गरेपछि ४ कम्पनीले आवेदन दिएका थिए । तर, किलोमै ४२ रुपैयाँ महँगो कबुल्नेलाई ढुवानी अनुमति दिन खोज्दा विवाद भएको थियो । खाद्यका अनुसार गत वर्ष ३ लाख ८ हजार क्विन्टल ढुवानी गर्ने लक्ष्य लिइएकामा ७७.७१ प्रतिशत अर्थात् २ लाख ३९ हजार ३ सय ५८ क्विन्टल मात्रै ढुवानी भएको थियो । यसमध्ये खाद्यले कर्णाली र दुर्गम क्षेत्रमा १ लाख ८० हजार क्विन्टल ढुवानीको लक्ष्य राखेकामा १ लाख ६७ हजार ८ सय १ क्विन्टल मात्रै ढुवानी गरेको थियो, जसले गर्दा अभाव भएको हो ।

कालीकोटमा पनि चामलको अभाव नै रहेको जानकारहरू बताउँछन् । सदरमुकाममा ७ सय क्विन्टल चामल रहेको कालीकोट शाखा कार्यालय प्रमुख कमलराज पाण्डेले जनाए । तर डिपोहरूमा पर्याप्त चामल छैन । ‘यस क्षेत्रमा ४ डिपो र एउटा शाखा कार्यालय छ । चाडबाडका लागि करिब ४ हजार क्विन्टल चामल चाहिन्छ, मागको तुलनामा मौज्दात न्यून छ,’ पाण्डेले भने । केन्द्रले भने कालीकोट सदरमुकाममा १ हजार ६१ क्विन्टल चामल मौज्दात रहेको दाबी गरेको छ ।

मुगुमा गत वर्षकै ६ सय क्विन्टल चामल छ । नयाँ आर्थिक वर्षको नयाँ ठेक्का भने स्वीकृत भइनसकेको मुगु शाखा कार्यालय प्रमुख पुष्कर भामको भनाइ छ । ‘मुख्य शाखा कार्यालय नेपालगन्जबाट १ सय ७० क्विन्टल लोड भएको छ । तर त्यो पर्याप्त होइन,’ उनले भने, ‘दसैंतिहारका लागि एक हजारदेखि १ हजार २ सय क्विन्टल चामल चाहिन्छ । चामल माग गरिरहेका छौं । तर ढुवानी भइसकेको छैन ।’ भामका अनुसार जिल्ला खाद्य व्यवस्था समितिको भदौ २ को बैठकले तत्काल चामल माग गर्ने निर्णय गरिसकेको छ । रोल्पाका शाखा कार्यालय प्रमुख बुद्धिराम चौधरीले पनि बिक्री केन्द्रमा ४ सय क्विन्टल मात्रै चामल रहेको जनाए । उक्त परिमाण चाडबाडका लागि पर्याप्त नभएको उनले बताए ।

बझाङमा सय क्विन्टल चामल मौज्दात रहेको बझाङ शाखा कार्यालय प्रमुख ईश्वरीदत्त पाण्डेको भनाइ छ । खाद्य कम्पनीको चामलभन्दा स्थानीय बजारमा सस्तोमा पाइने हुँदा यहाँ अभाव नहुने उनको भनाइ छ । खाद्य कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने भने दुर्गमका लागि १८ हजार क्विन्टल चामल मौज्दात रहेकाले त्यही कोटाभित्र रहेर ढुवानी गरिने बताउँछिन् । ‘दुर्गममा साढे ३ हजार टन चामल ढुवानी भएको छ । बिक्री हुँदै गर्दा कम हुनेबित्तिकै खाद्यान्न पठाउँछौं,’ उनले भनिन्, ‘तराईमा भने मौज्दात राम्रो छ, अभाव हुन दिँदैनौं ।’

प्रकाशित : भाद्र २५, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?