कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

भारतीय केराको आयात नरोकिए आन्दोलन थाल्ने किसानको चेतावनी

रमेशकुमार पौडेल

काठमाडौँ — चितवनका केरा उत्पादक किसानहरूले भारतीय केराको आयात नरोकेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । चितवन केरा उत्पादक संघले बुधबार बिहान रत्ननगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भने ‘चाडपर्वका बेला हुने मागलाई धान्ने केरा हाम्रै देशमा उत्पादन भएको छ । त्यसैले बाहिरबाट केरा आयात गर्न आवश्यक छैन ।’

भारतीय केराको आयात नरोकिए आन्दोलन थाल्ने किसानको चेतावनी

साउन सकिए लगत्तै धमाधम भारतीय केरा आउन सुरु भएका कारण नेपाली किसानहरु मर्कामा परेको संघका महासचिव जनकराज पन्तले बताए । साउनसम्म भारतीय केराको आयात कम भएका कारण नेपाली केराको खपत राम्रै रहेको पन्तले बताए । केरा आयात गर्न पनि एलसी अनिवार्य गरेपछि अग्रिम पैसा जम्मा गर्नु पर्ने भएका कारण आयात कम भएको थियो ।

तर एलसी खोले नखोलेको बारेमा नियमनमा कडाइ नभएकाले पनि भारतीय केराको आयात बढेको पन्तले सुनाए । यसको असर नेपाली केराको मूल्यमा परेको छ । नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार जेठमा मालभोग केरा दर्जनको ९० रुपैयाँ र हरियो केरा ‘जी नाइन’ दर्जनको ६० रुपैयाँमा बारीबाटै बिक्री भएको थियो । अहिले हरियो केरा दर्जनको ३० रुपैयाँमा झरेको पन्तले जानकारी दिए ।

‘आउँदो दुई महिनासम्म मुख्य सिजन हो । यो सिजनलाई देशभर तीन लाख ५० हजार मेट्रिक टन केरा आवश्यक पर्दछ । त्यति केरा हामी उत्पादन गर्न सक्दछौं । त्यसैले केरा आयात गर्नु पर्ने अवस्था छैन’ महासंघका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले भने । अहिले भारतबाट काठमाडौंमा मात्रै दैनिक ८ देखि १० गाडी केरा आउन थालेको उनले बताए । जसले गर्दा व्यवसायीले स्वदेशी केरा खरिद घटाएका छन् ।

‘नेपाली किसानले सरकारको कुनै सहयोगविना उत्पादन गरेका छन् । मलका लागि सास्ती छ । जग्गा भाडामा पाउन उत्तिकै समस्या छ’ पन्तले भने ‘गुणस्तरमा धेरै फरक छैन । सस्तो हुने भएका कारण व्यापारीले भारतीय केरा मगाउँछन् ।’ मुख्य सिजनमा नेपाली केरा बिक्री नहुने र मूल्य नपाउने भए धेरै किसानको उठिबास लाग्ने पन्तले बताए । ‘किसानहरुलाई पलायन हुनबाट रोक्न भारतीय केरा नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए । ‘२९ गतेपछि पनि भारतीय केराको आयात भइरहे हामी चरणवद्ध आन्दोलनमा जान्छौं’ चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले चेतावनी दिए ।


प्रकाशित : भाद्र २२, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×