कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भैरहवा भन्सार व्यवस्थापन अन्नपूर्णलाई

६८ करोड ४ लाख रूपैयाँमा पाँच वर्षको ठेक्का

भैरहवा — भैरहवा भन्सार कार्यालय परिसरको पार्किङ, गोदाम, सरसफाइ, सञ्चारलगायतको व्यवस्थापन पक्षको जिम्मेवारी अब अन्नपूर्ण टर्मिनल्स प्रालिले सम्हालेको छ । यसअघि १२ वर्षदेखि यसको जिम्मेवारी ट्रान्स नेपाल फ्रेड सर्भिस प्रालिले गर्दै आएको थियो । भैरहवा भन्सार कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा व्यवस्थापनको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्स प्रालिलाई हस्तान्तरण गरिएको हो ।

भैरहवा भन्सार व्यवस्थापन अन्नपूर्णलाई

भारतको लिफ्ट एन्ड सिफ्ट सर्भिस प्रालि र नेपालको विन्ध्यवासिनी लजिस्टिक प्रालिबीचको ज्वाइन्टभेन्चरमा ठेक्काबाट अन्नपूर्ण टर्मिनल्स प्रालि तयार गरी व्यवस्थापनको जिम्मेवारी दिइएको अन्नपूर्ण टर्मिनल्स प्रालिका कर्मचारी सुवास सुवेदीले बताए । ६८ करोड ४ लाख रुपैयाँको ठेक्कामा आगामी पाँच वर्षका लागि भैरहवा भन्सार परिसरको व्यवस्थापनको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्सले लिएको हो । भैरहवा भन्सार परिसरमा पार्किङ यार्ड पर्याप्त नहुँदा भैरहवा नाकाबाट आयात हुनुपर्ने मालसामान अन्यत्र नाकाबाट आउने गरेको अन्नपूर्ण टर्मिनल्स प्रालिका प्रबन्ध निर्देशक ऋषि बरालको भनाइ छ । यस विषयमा सबै सरोकारवाला निकायसँग समन्वय गरी समाधानका लागि पहल गरिने उनको भनाइ छ ।

पूर्वाधारको व्यवस्थापन सम्हालेपछि अन्नपूर्ण टर्मिनल्सले भैरहवा नाका हुँदै भारतबाट मालवाहक ढुवानी गरी आउने गाडीलाई उही दिन भैरहवा भन्सार कार्यालय परिसरमा आइपुग्न सक्ने वातावरण मिलाइदिन भन्सार एजेन्टहरूले आग्रह गरेका छन् । भैरहवा भन्सार कार्यालयको पार्किङ यार्ड पर्याप्त नभएकाले भैरहवा नाका हुँदै आयात गरिएको मालवाहक गाडी भारततर्फ दुई/तीन दिनसम्म सडकमै राख्नुपर्ने र यसले गर्दा ढुवानी लागत बढाएको भन्सार एजेन्टहरू बताउँछन् । अन्नपूर्णले यस किसिमका समस्या समाधानमा पहल गरिदनुपर्ने उनीहरूको भनाइ छ ।

भैरहवा नाकाबाट आयात गर्ने गरेका व्यवसायीले यसको विकल्पमा अन्य नाकाबाट आयात गर्न थालेका छन् । अन्नपूर्ण टर्मिनल्स प्रालिले अब भन्सार परिसरमा आएका मालवाहक गाडीसँग पार्किङ शुल्क उठाउने र विभिन्न शुल्क असुली गर्नेतर्फ मात्र नभएर भौतिक पूर्वाधार तयार पार्नेतर्फ पनि ध्यान दिनुपर्नेमा भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष डा. शान्तकुमार शर्माको जोड छ ।

भारतबाट आयातित ढुवानीसहितको गाडी एकै दिन भन्सारमा आइपुग्ने वातावरण गराउनुपर्ने उनले बताए । भैरहवा नाकाबाट आयात गरिएको मालसामानसहितको गाडी भैरहवा भन्सार परिसरमा पार्किङ स्थलको अभावले पास हुन तीन दिन लाग्ने गरेको र त्यतिन्जेल उक्त गाडी भारततर्फ नै सडकमै राख्नुपर्ने भएकाले ट्रान्सपोर्ट व्यवसायीले तीन दिनको डिटेन्सन जोडेर बल्ल गाडी लोड गर्ने गरेको भैरहवा भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष कृष्णप्रसाद घिमिरेले जनाए ।

प्रकाशित : भाद्र १८, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×