कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंमा मात्र सडकका खाल्डा पुर्ने चिन्ता

‘सुस्त गति’ पछ्याइरहेको सडक विभागले दसैं–तिहारजस्ता विशेष चाडमा भने सवारी आवागमन बढी हुने देखेर देशभरजसो नै खाल्डा पुर्न थालेको हो
विमल खतिवडा

काठमाडौँ — जबजब दसैं आउँछ, सरकारलाई त्यति बेला मात्र सडक मर्मतको चिन्ता पर्छ । अरू समयमा आफ्नै ‘सुस्त गति’ पछ्याइरहेको सडक विभागले दसैं–तिहारजस्ता विशेष चाडमा भने सवारी आवागमन बढी हुने देखेर देशभरजसो नै खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिने गरेको हो । यसैअन्तर्गत यस वर्षको दसैंअघि राष्ट्रिय राजमार्गका सबै सडक मर्मत गर्ने तयारी रहेको विभागले बताएको छ ।

दसैंमा मात्र सडकका खाल्डा पुर्ने चिन्ता

बाढीपहिरोले अवरुद्ध राजमार्गसमेत दसैंअघि सञ्चालनमा आइसक्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको दाबी छ । अहिले तीन वटा राजमार्गमा यातायात ठप्प छ । बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडकको रसुवा खण्ड गत साउन २५ देखि अवरुद्ध छ । पहिरोका कारण ८० मिटर सडक बगेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदे खोला नजिकै ५० मिटर सडक भासिएपछि बिहीबारदेखि यातायात ठप्प छ । बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडकअन्तर्गत अम्कोट–बल्दे खण्ड साउन १८ देखि अवरुद्ध छ । ‘यी सबै सडक खुलाउने प्रयास भइरहेको छ,’ थापाले भने, ‘चाडपर्व नजिकिएकाले दसैंअघि सबै सडक सञ्चालन गर्ने गरी काम भइरहेको छ ।’

नारायणगढ–मुग्लिङ सडक खण्डको केराबारीमा पहिरो गएर यात्रुलाई सास्ती भएकाले दसैंअघि यो खण्डमा सहज रूपमा सवारी सञ्चालन गर्ने गरी काम गरिने विभागको भनाइ छ । पानी पर्ने क्रम नरोकिएकाले सडक मर्मत गर्न समस्या भएको विभागले जनाएको छ । पानी परिरहेको समयमा सडक कालोपत्र गर्न नमिल्ने विभागका प्रवक्ता एवं उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । दसैंताका सबै सडकमा सवारी चाप बढी हुन्छ । ‘बर्खापछि यात्रुलाई सजिलो होस् भनेर मुख्य सडकलाई खाल्डाखुल्डीरहित बनाउने तयारी गरेका छौं,’ उनले भने, ‘पानी कम हुनासाथ यसको काम सुरु गरिनेछ ।’

घटस्थापनाभन्दा १५ दिनअघि खाल्डाखुल्डी पुर्न थाल्ने योजना रहेको अधिकारीले सुनाए । ‘त्यसैले भदौ अन्तिमबाट यो काम थाल्ने योजना छ,’ उनले भने, ‘यस पटक दसैं चाँडै नै छ, त्यसअघि नै खाल्डाखुल्डी पुर्ने नियमित कार्यक्रम नै हो ।’ पहाडी क्षेत्रमा एकदमै सडक बिग्रिएको खण्डमा मात्र यातायात सञ्चालन गर्ने गरी मर्मत गरिने उनको भनाइ छ । ‘अहिले सामान्य मर्मत मात्र गरिनेछ, बर्खा नसकिँदासम्म बढी खर्च गरेर सडक मर्मत गर्दैनौं,’ उनले भने, ‘फेरि बिग्रिन सक्छ, सवारी ओहोरदोहोर गर्न समस्या नहोस् भनेर मात्र मर्मत गर्ने हो ।’

सडक मर्मतको काम सम्बन्धित डिभिजन र योजना कार्यालयहरूले गर्नेछन् । जहाँ–जहाँ खाल्डाखुल्डी छन्, त्यहाँ कालोपत्र गरेर पुरिनेछ । महानिर्देशक थापाका अनुसार पहिरो सफा गरेर सडक खोल्न सडक बोर्ड नेपालबाट २० करोड रुपैयाँ आएको छ । ‘यतिले मात्र पुग्दैन, सडक मर्मत गर्न थप १५ करोड रुपैयाँ लाग्ने अनुमान छ,’ थापाले भने, ‘ठाउँ–ठाउँमा पहिरो खसेर अवरुद्ध सडक खुलाउन र खाल्डाखुल्डी पुर्नमा यो रकम खर्च हुनेछ ।’ दसैंमा कुनै पनि सडकमा समस्या नहुने गरी काम गरिने थापाले बताए । सडक बोर्डमार्फत विभागलाई सडक मर्मतसम्भार गर्न १ अर्ब ६ करोड रुपैयाँ बजेट आएको छ । यो रकम ३३ डिभिजन सडक कार्यालय, योजना कार्यालयलाई बाँडिने प्रवक्ता अधिकारीले बताए । ‘वार्षिक सडक मर्मतसम्भार कार्य योजनाअनुसार यो बजेट आएको हो,’ अधिकारीले भने, ‘त्यही बजेटबाट चाडबाडअघि सडक मर्मत गर्छौं । निर्माणाधीन सडकमा समस्या भए ठेकेदारले नै मर्मत गर्नुपर्नेछ ।’ अहिले सामान्य मर्मत भए पनि आवधिक मर्मतका लागि भनेर उक्त बजेट आउने गरेको विभागको भनाइ छ ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले भने चाडबाड नजिकिँदै गए पनि सडकको अवस्था दयनीय रहेको बताए । ‘नागढुंगाबाटै सडकको समस्या सुरु छ, सानो खण्ड पार गर्न पनि घण्टौं समय लाग्छ,’ उनले भने, ‘दसैंताका सवारी चाप झन् धेरै हुन्छ, त्यो बेलासम्म सरकारले सबै सडक मर्मत गर्नुपर्ने र ठाउँ–ठाउँमा तैनाथ अवस्थामा मेसिन राखी सडक अवरुद्ध हुनासाथ खोल्ने वातावरण बनाउनुपर्छ ।’ सवारीमा अग्रिम बुकिङ खोलेपछि बाटोकै कारण समयमै गाडी नआए झन् बढी समस्या हुने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १८, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?