कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैंसी किन्न सघाउँदै डेरी

बैंकद्वारा बिनाधितो प्रतिभैंसी ८० हजार रूपैयाँ ऋण प्रदान, डेरी जमानी बसेर हालसम्म ३८ भैंसी खरिद
टीकाप्रसाद भट्ट

रामेछाप — भैंसीको दूध पाउन छोडेपछि मन्थलीस्थित चिरन्जिवी डेरीका सञ्चालक भानु श्रेष्ठ भैंसी खरिद गर्न लगानी जुटाउने मेलोमा लागेका छन् । उक्त अभियानअन्तर्गत भैंसी पाल्ने किसानले कुनै धितो नराखी बैंकबाट ऋण पाउँछन् । ऋण तिर्ने जमानी डेरी बसिदिन्छ । ‘सबैजसो ग्राहक भैंसीको मात्रै दूध खोज्छन्,’ उनले भने, ‘किसान भने गाईकै मात्र बढी दूध ल्याउँछन् । त्यसैले भैंसीपालनलाई प्रोत्साहन गर्न लगानी जुटाउन थालेको हुँ ।’

भैंसी किन्न सघाउँदै डेरी

एक वर्षयता श्रेष्ठको अभियानमा सामेल भएर किसानले ३८ वटा भैंसी खरिद गरिसकेका छन् । सबै कारोबारमा डेरी जमानी बसेर किसानले बैंकबाट ऋण निकालेका छन् । भैंसी खरिदका लागि त्रिपक्षीय सम्झौता हुन्छ । डेरी र आधुनिक कृषि सहकारी संस्था बैंकमा जमानी बसिदिन्छन् । संस्थाको अध्यक्ष श्रेष्ठ आफैं छन् । किसानले लक्ष्मी बंैंकबाट बिनाधितो प्रतिभैंसी ८० हजार रुपैयाँ ऋण पाउँछन् । बैंकले एकै किसानलाई ३ वटासम्म भैंसी किन्न ऋण दिने गर्छ ।

लगानी जुटेपछि किसानहरूले डेरीमा भैंसीको दूध ल्याउने क्रम बढेको छ । ‘पहिले भैंसीको दूध पाउनै मुस्किल थियो,’ श्रेष्ठले भने, ‘अहिले दैनिक १ सय ८० लिटरसम्म दूध आइरहेको छ । तर पनि माग बमोजिम पुर्‍याउन सकिएको छैन ।’ उनका अनुसार दैनिक डेरीमा २ सय ५० लिटरभन्दा धेरै भैंसीको दूधको माग छ । भैंसीको दूध लिनकै लागि ग्राहक घण्टौंसम्म डेरीमा प्रतिक्षा गरेर बस्ने गर्छन् । २०६७ सालमा डेरी स्थापना गरेका उनले किसानबाट हाल दैनिक २ हजार २ सय लिटर दूध खरिद गर्छन् ।

लगानी धेरै र उत्पादन कम हुने भएकाले भैंसी पाल्ने किसान घटिरहेका छन् । ‘पहिले एक घर एक भैंसी हुन्थ्यो । अहिले भैंसी पाल्ने घर विरलै भेटिन्छ । भैंसी किन्न महँगो र दूध पनि कम दिने भएकाले यस्तो भएको हो,’ उनले भने, ‘अहिले भैंसीको दूध ल्याउने किसान पनि व्यावसायिक मात्र हुन् । एउटा भैंसी पालेर दूध ल्याउने छैनन् भन्दा पनि हुन्छ ।’

८० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने भैंसीले दैनिक ८ लिटरसम्म दूध दिन्छन् । जबकि एउटा गाईको दूध दैनिक कम्तिमा पनि १२ लिटरसम्म हुन्छ । ‘भैंसीको तुलनामा गाईंको दूध मिठो हुँदैन,’ स्थानीय मानबहादुर बस्नेतले भने, ‘गाईको दूध पातलो र खल्लो हुने भएकाले धेरैले भैंसीको नै रुचाउँछन् । जसका कारण मूल्य पनि १० रुपैयाँ महँगो छ ।’

डेरी र बैंकको सहकार्यमा भैंसी खरिद गर्ने किसानले १ वर्षमा बैंकको साँवा–ब्याज तिरिसक्छन् । महिनाको ७ हजार रुपैयाँ किस्ता बुझाउन कुनै कठिनाइ नहुने बस्नेतले दाबी गरे । वाग्मती प्रदेश सरकार र मन्थली नगरपालिकाले किसानलाई दूध बिक्रीमा प्रतिलिटर २/२ रुपैयाँ अनुदान दिने गरेका छन् । लिटरमै ४ रुपैयाँ अनुदान पाइने भएकाले किसानलाई दुग्ध व्यवसायमा लाग्न थप उर्जा मिलेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १६, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?