कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दाको धन्दा : तेह्रथुम र धनकुटामा खेती, भारतमा बेचेर करोडपति

चन्द्र कार्की

तेह्रथुम — दुई दशकअघि आफ्नो बारीमा बन्दाकोभीको खेती सुरु गर्दा धनकुटा महालक्ष्मी नगरपालिका- १  का किसान टेकबहादुर गुरुङसँग एउटा बारी मात्र थियो । बन्दाको व्यवसायिक खेती सुरु गरेको दुई दशक अवधिमा गुरुङले १ करोड ७५ लाख रुपैयाँ बढीको सम्पत्ति जोडेका छन् । गुरुङ आफ्नो उत्पादन आफैं भारतीय बजारमा पुर्‍याउने यस क्षेत्रकै अगुवा कृषक हुन् । ४९ वर्षीय गुरुङ १ नम्बरका वडाध्यक्ष समेत हुन् ।

बन्दाको धन्दा : तेह्रथुम र धनकुटामा खेती, भारतमा बेचेर करोडपति

गुरुङलाई दोस्रो कार्यकालका लागि पनि वडाबासीले मत दिएर जिताएका हुन् । सोही वडाका ६० वर्षीय जगत काफ्ले १९ वर्षअघि काठ काट्ने मजदुरी गर्थे । मजदुरी कामले परिवार पाल्न मुश्किल भएपछि उनले पनि पाखोबारीमा व्यावसायिक बन्दाको खेती सुरु गरे । अहिले उनीसँग तरकारी ढुवानीका लागि २ वटा ट्रक छन् । झापामा एक बिघा खेत छ । पहाडमा बन्दा खेतीका लागि ३० रोपनी जग्गा जोडेका छन् । बेमौसमी बन्दाको खेतीबाटै आफूलाई सफलता मिलेको उनी बताउँछन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिका ४ चित्रेका अर्का किसान होम रायमाझी बन्दा खेती सुरु गरेको १५ वर्षमा तीन वटा गाडीका मालिक बनेका छन् । बन्दा खेतीबाट भएको आम्दानीले उनले ट्रक, ट्रयाक्टर र मोटरसाइकल जोडेका छन् । खेतीका लागि आवश्यक जग्गा जमिन किनेका छन् । बन्दा खेतीबाट छोटो समयमै करोडपति बनेका यी उदाहरणीय पात्र हुन् ।

बन्दाको खेतीबाट धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, तेह्रथुमको लालीगुराँस र म्याङलुङ नगरपालिका, छथर गाउँपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका ३० हजार बढी किसानले बेमौसमी बन्दा खेती मनग्य कमाएका छन् । यहाँका किसानले एक वर्षमा ५ लाखदेखि ३० लाख रुपैयाँसम्मको बन्दा बिक्री गरिरहेको सिंधुवा बजारस्थित कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए । बन्दा बिक्रीबाट आएको पैसाले पहाडका धेरै किसानले पूर्वी तराईमा घर घडेरी जोडेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुको भनाइ छ । आफ्नो उत्पादन बजारमा पुर्‍याउन किसान आफैंले ट्रयाक्टर र ट्रक खरिद गरेका छन् । जग्गा जमिन र मोटरसाइकल नजोडेका किसान सायदै होलान् । बन्दाको खेतीमा लागेका यहाँका प्रत्येक किसानले बर्सेनि तराईमा घडेरी जोड्ने गरेको धनकुटा महालक्ष्मी नगरपालिका– १ घुमाउनेका किसान गोविन्द पौडेलले बताए । स्थानीय सरकारले पनि किसानलाई बिउ र ढुवानीका साधनमा सहयोग गरेको छ ।

किसानले खेतीमा मात्रै नभई बजारीकरणका लागि समेत आफैं मेहनत गरेका छन् । व्यापारीले आफ्नो उत्पादन थोरै मूल्यमा खरिद गरी धेरै नाफा खाएर बिक्री गरेकाले किसानले आफ्नो उत्पादन तिनलाई नदिने निर्णय गर्दै सहकारी संस्था सञ्चालनमा ल्याई साे संस्थामार्फत् उत्पादन हुने बन्दालाई सोझै भारतीय बजारमा पुर्‍याउने काम गरिरहेको कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक गुरुङले बताए ।

सहकारी संस्था मार्फत् बन्दा बिक्री गर्दा तौलमा नठगिने र मूल्य पनि बढी पाइने गरेको किसानको भनाइ छ । यो वर्ष किसानले बारीबाटै प्रतिकेजी २२ देखि २५ रुपैयाँसम्ममा बन्दा बिक्री गरिरहेका छन् । तेह्रथुमसहित धनकुटा र संखुवासभाका ३० हजार बढी किसान व्यावसायिक रुपमा बन्दाको खेतीमा लागेपछि दुई दशकको अवधिमा यहाँका दूरदराजका गाउँमा आर्थिक क्रान्ति नै सुरु भएको छ । यी किसानको जीवन शैलीमा परीवर्तन आएको छ । धनकुटा सिंधुवाको बाटो भएर सिजनमा दैनिक ३५ ट्रक बढी बन्दा भारतीय बजारतर्फ जाने गरेको सिंधुवा बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । साउन महिनाको पहिलो साताबाट माघ महिनाको अन्त्यसम्म बन्दाको धन्दा हुने यो क्षेत्रमा ६ महिनाको अवधिमा ९५ करोड बढी भारतीय मुद्रा भित्रिने गरेको बजार व्यवस्थापक गुरुङको भनाइ छ । पहाडका गाउँमा बन्दाले भारतीय मुद्रा भित्र्याउन ठूलो सहयोग पुर्‍याएको कृषि ज्ञान केन्द्र धनकुटा सम्पर्क कार्यालयले जनाएको छ ।

‘एकल खेती, सामूहिक व्यवस्थापन’ नारा दिएर भण्डारको व्यवस्थापनमा तेह्रथुम, संखुवासभा र धनकुटाका ६ स्थानीय तहका किसानले उत्पादन गरेको बन्दा भारतीय बजार सिलगुढी र कलकत्तासम्म पुग्ने गरेको छ । तेह्रथुमको वसन्तपुर, सुङनाम, फुलेक, हमरजुङ, आङदिम, संखुवासभाको तामाफोक र धनकुटाको मूर्तिढुंगा, मारेककटहरे, परेवादिन, सान्ने, पाख्रीबास, भिरगाउँ, तेलीया लगायतका सडक दायाँबायाँ गाउँका किसानले उत्पादन गरेको बन्दा बारीबाट काटेको दिन नै भारतीय बजारमा पुग्ने गरेको छ ।

सहकारी संस्थामा आवद्ध भएर बन्दाको खेतीमा लागेका किसानको संख्या पनि १५ हजार नाघेको छ । पहिले नेपालको पूर्वी तराईका बजारमा मात्र खपत हुने बन्दाको माग केही वर्षदेखि भारतीय बजार सिलगुढीमा अत्याधिक छ । किसानले यो सिजनदेखि भारतको कलकत्तालाई पनि आफूले उत्पादन गरेको तरकारी बिक्री गर्ने अर्को गन्तव्य बनाएका हुन् । ‘अर्गानिक भन्दै यो वर्षबाट धेरै मात्रामा कलकत्ताबाट बन्दाको माग आएको छ’ बजार व्यवस्थापक गुरुङले भने । अहिले किसानले घरबाटै भारतीय बजारमा बन्दाको मूल्य थाहा पाउँछन् ।

दुई दशक अघि सिप्रेड नामक संस्थाले यस क्षेत्रका कृषकलाई मौसमी र बेमौसमी बन्दासहित अन्य ताजा तरकारी उत्पादन गर्न तालिम र बिउ उपलव्ध गराएपछि किसानले यसको व्यावसायिक खेती सुरु गरेका हुन् । सिप्रेडले त्यस समय सिकाएको बन्दा उत्पादन गर्ने सीप अहिले यहाँका किसानलाई वरदान सावित भएको छ । बाह्रै महिना चिसो रहने यी क्षेत्रमा बन्दा खेतीका लागि सुहाउँदो हावापानी रहेको कृषि प्राविधिकहरुको भनाइ छ । कृषकले यो क्षेत्रको भिरालो र काम नलाग्ने जग्गामा समेत बेमौसमी बन्दाको खेती गर्दै आएका छन् । उत्पादन गुणस्तरीय भएकाले बन्दालाई बजारको समस्या नभएको किसान काफ्लेले बताए ।

बेमौसमी बन्दा खेती गर्न र बजार लैजान भने सहज छैन । समय समयमा बन्दामा लाग्ने रोग कीराको प्रकोपले किसानलाई सताउने गरेको छ । बारीमा रोपेको केही समयपछि लाग्ने पात तथा डाँठ कुहिने रोगले प्रत्येक वर्ष किसान हैरान छन् । कृषि ज्ञान केन्द्रमा रहेका न्यून प्राविधिक जनशक्तिले किसानलाई सहयोग पुर्‍याउन नसेको लालीगुराँस नगरपालिका १ साब्राका किसान डम्बर दाहालले बताए ।

रोगले गर्दा किसानले प्रत्येक वर्ष धेरै नोक्सान व्यहोर्नु परिरहेको गुनासो गर्छन् । किसानले उब्जाएको बन्दालाई बजारसम्म पुर्‍याउने क्रममा प्रत्येक जिल्ला समन्वय समितिले कर लिने गरेका छन् । समन्वय समितिले किसानसँग प्रति ट्रक २ सयदेखि ५ सय रुपैयाँसम्म कर लिने गरेको किसान पोष्टराज रायमाझीले बताए । बारीबाट भारतीय बजारसम्म एक ट्रक बन्दा पुर्‍याउँदा भाडा बाहेक १० हजार रुपैयाँसम्म खर्च हुने गरेको किसानको भनाइ छ । किसानले कृषि उत्पादनलाई जुनसुकै बजारसम्म पुर्‍याए पनि सबै प्रकारका कर खारेजीको माग सरकारसँग गरिरहेका छन् । त्यस्तै बन्दाको व्यवसायिक खेतीमा लागेका किसानले प्रत्येक वर्ष मल र बिउको अभाव झेल्दै आएका छन् ।

प्रकाशित : भाद्र १५, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?