तीजले बढाएन पार्टी प्यालेसको कारोबार

कोरोनापछिको तीजले पार्टी प्यालेसलाई चलायमान त बनायो तर कोरोनाअघिको जस्तो व्यापार गराउन सकेन
सीमा तामाङ

रूपन्देही — कोरोना महामारीअघि हरितालिका तीजका अवसरमा एकै पटक ५ सय जनासम्मको कार्यक्रम हुने पार्टी प्यालेसमा अहिले ५० देखि ६० जना मानिसमै सीमित छन् ।

तीजले बढाएन पार्टी प्यालेसको कारोबार

कोरोना संक्रमण मत्थर हुँदै गए पनि सर्वसाधारण त्रासबाट बाहिर आउन नसकेको पार्टी प्यालेस सञ्चालकहरूको साझा बुझाइ छ । धेरै संख्यामा संघसंस्थाले आयोजना गर्ने दर खाने कार्यक्रम पनि अझै सुरुवात नभएको उनीहरू बताउँछन् । तीज आउन ६ दिन मात्रै बाँकी हुँदा पनि दर खाने कार्यक्रम बढ्न नसकेको उनीहरूले सुनाए ।

कोरोना महामारीअघि महिना दिन अघिदेखि दर खाने कार्यक्रम सुरु हुने भए पनि अहिले त्यस्तो हुन नसकेको कुपन्डोल ब्यांक्वेटका सञ्चालक अभिषेक ढुंगेलले जनाए । तीज नजिकै आइसके पनि अहिलेसम्म जम्मा ४ वटा मात्रै कार्यक्रम भएको उनले सुनाए । कोरोना संक्रमणका कारण अहिले बुकिङ पनि रद्द भइरहेको उनले गुनासो गरे । ‘विभिन्न संस्था तथा सहकारीले गर्न लागेका तीन वटा कार्यक्रम रद्द भइसके,’ उनले भने, ‘कोरोना संक्रमण बढेकाले कार्यक्रम रद्द गरेको उनीहरूले बताए ।’ पहिलाको तुलनामा पार्टी प्यालेसको संख्या बढेको र कोरोनाको त्रासबाट मुक्त हुन नसक्दा तीजको कार्यक्रम सुस्ताएको उनको भनाइ छ । ‘पहिला प्रतिदिनजसो ४/५ सय जनाको कार्यक्रम हुन्थ्यो, अहिले मुस्किलले २ सय नत्र सय जना मानिसको उपस्थितिमा कार्यक्रम हुन्छन्,’ उनले भने ।

तीजमा दर खाने कार्यक्रमले पार्टी प्यालेस भरिभराउ हुने सिजन भए पनि शनिबारबाहेक अन्य दिन कार्यक्रम शून्यप्रायः छन् । पहिला एक महिनाअघिदेखि नै दर खाने गरिए पनि अहिले परिवर्तन आएको उनीहरूको बुझाइ छ । अहिले सीमित मानिस भेला भई घरमै जमघट गर्ने, रेस्टुरेन्टमै भेटघाट गर्ने प्रचलनसमेत बढेको छ । ठूल्ठूला संघसंस्थाहरूले आयोजना गर्ने तीज कार्यक्रममा समेत कमी आएको छ । मानिसहरू दुई वर्षअघिको जस्तो तीजमा खुलेर खर्च गर्न डराएको बुद्धनगर पार्टी प्यालेसका सञ्चालक विष्णु भण्डारीको अनुभव छ । ‘पहिला कार्यक्रम गर्न पनि प्रतिस्पर्धा हुन्थ्यो, अहिले त्यस्तो छैन । तर तीजका कार्यक्रम नभएका भने होइनन्, फाटफुट भइरहेका छन्,’ उनले भने, ‘दुई वर्षयता पार्टी प्यालेसमा यस्तै समस्या छ, तीजकै सिजनले समेत राम्ररी छोएको छैन ।’

कुनै बेला तीज नजिकिनु पार्टी प्यालेसका लागि सिजन हुन्थ्यो । तर कोभिडले सुस्ताएको पार्टी प्यालेसको कारोबार यो तीजले चलायमान मात्र त बनायो । तर राम्ररी प्रभाव पार्न सकेन । आफ्नो ब्यांक्वेटमा अहिलेको तीजमा ५ वटाभन्दा बढी कार्यक्रम नहुने देखिएको नयाँ बानेश्वस्थित अल्फा हाउसकी सेल्स एन्ड मार्केटिङ शाखाकी सुस्मिता शर्माले बताइन् । ‘गत शुक्रबार एउटा भयो, आउने शुक्रबार छ,’ उनले भनिन्, ‘समग्रमा तीजका कार्यक्रम भए ४/५ वटा हुन्छन् होला, त्योभन्दा बढी हुँदैन, बुकिङ पनि छैनन् ।’ पहिला हल पाइँदैन भनेर प्रि–बुकिङ गर्नुपर्ने अवस्था हुने गरे पनि अहिले सहजै पाइने उनले सुनाइन् ।

तीजले पार्टी प्यालेसहरूलाई चलायमान बनाएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण पाण्डे बताउँछन् । तर कोरोना अगावैको जस्तो माहोल बन्न नसकेको उनको भनाइ छ । ‘तीजमा हुनुपर्ने धेरै कार्यक्रम हुन सकेका छैनन्,’ उनले भने, ‘महिनाको अन्तिममा तीज परेको खण्डमा अलि धेरै कार्यक्रम हुन्थ्यो कि ?’ अहिले हल भाडा तिरेर कर्मचारीलाई तलब खुवाउन सकिने अवस्था मात्रै रहेको उनले सुनाए । ‘कोभिडपछिको तुलनामा राम्रै हो । तर त्योभन्दा अघिको जस्तो भने माहोल बन्न सकेको छैन ।’ काठमाडौं उपत्यकामा झन्डै ४ सय हाराहारीमा पार्टी प्यालेस छन् । तीमध्ये पनि २० देखि २५ वटा कोरोना महामारीमा विस्थापित भइसकेको समेत पाण्डेले जनाए ।

प्रकाशित : भाद्र ८, २०७९ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?