कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
८ ट्रक सुपारी बरामद प्रकरण

भन्सार विभागले म्याद नबुझ्दा पेसी सर्‍यो

देवनारायण साह

मोरङ — भन्सार विभागले म्याद तामेली पत्र बुझ्न नमानेपछि सुपारी बरामद प्रकरणको पेसी पुन: सरेको छ । उच्च अदालत विराटनगरले भन्सार विभाग त्रिपुरेश्वरले म्याद तामेली गर्न नमानेको भन्दै अन्तरिम आदेश दिने/नदिने छलफलका लागि भदौ २ गतेलाई पेसी सारेको हो । 

भन्सार विभागले म्याद नबुझ्दा पेसी सर्‍यो

मंगलबार न्यायाधीशद्वय रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई आउँदो बिहीबार बोलाउने आदेश सुनाएको हो । म्याद बुझ्न इन्कार गरेका भन्सार विभाग प्रमुखलाई म्याद तामेलीमा बाधा अवरोध गरे कानुनअनुसार कारबाही गरिनेसमेत आदेशमा उल्लेख छ ।

‘विपक्षीले अदालतबाट जारी भएको म्याद सूचना बुझिलिन इन्कार गरेउपर यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी अदालतबाट जारी भएको म्याद सूचना बुझिलिन इन्कार गरेमा वा म्याद सूचना तामेलीमा बाधा अबरोध खडा गरेमा कानूनबमोजिम कारबाही हुन सक्ने व्यहोरा भन्सार विभाग प्रमुखलाई ध्यानाकर्षणसमेत गराई रितपूर्वक म्याद तामेली गरी नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ ।

यसअघि उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको एकल इजलासले आइतबार ट्रकको सिलबन्दी यथास्थितिमा राख्न र अन्तरिम आदेशका लागि छलफलमा दुवै पक्षलाई मंगलबार उपस्थितिका लागि बोलाउन आदेश गरेको थियो ।

भारत निर्यात भएको ८ ट्रक सुपारी रि–रुट गरेर लग्ने क्रममा प्रहरीले विराटनगरस्थित रानीबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयमा बुझाएपछि सुपारी निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले उच्च अदालतमा सुपारी तत्काल छाड्न र भारतको जोगबनी भन्सार कार्यालयले लगाएको सिल यथास्थितिमा राख्न अन्तरिम आदेशका लागि गत बिहीबार रिट निवेदन दायर गरेका थिए । घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

मनकामना ट्रेडर्सले भारतको आइसा एक्सपोर्ट कोलकातालाई बिक्री गरेको ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी लोड भएको ८ वटा ट्रक प्रहरीले रानीबाट साउन ५ गते नियन्त्रणमा लिएर कारबाहीका लागि साउन ७ गते राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो । उक्त सुपारी एकीकृत भन्सार जाँच चौकी विराटनगरबाट जाँच पास भएर भारतको जोगबनी एकीकृत भन्सारले समेत पास गरी रि–रुट गरेर भारत लग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजस्व अनुसन्धान विभागले भारत निर्यात भइसकेको सुपारीको अनुसन्धान गर्ने अधिकार आफूसँग नभएको भन्दै २६ दिनदेखि ८ ट्रक सुपारी र तीनका चालकसमेतलाई इटहरीस्थित कार्यालयमा राखेको छ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार इन्डोनेसियाको सुपारी थाइल्यान्ड र सिंगापुरको पोर्टबाट विराटनगरका ६ वटा व्यापारिक फर्मले गत आर्थिक वर्षमा ७५ करोड ४९ लाख ३२ हजार मूल्य बराबरको ५ हजार ७८४ दशमलव २६ मेट्रिकटन आयात गरेका छन् । बरामद भएको समेत गरी ९० करोड ६७ लाख १८ हजार मूल्य बराबरको २२ लाख ४८ हजार ८ सय ५ किलो सुपारी भारत निर्यात भएको विराटनगर भन्सारको तथ्यांकले जनाएको छ । सुपारी आयात गर्नेमा अम्बे ट्रेडिङ, राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेसनल, पिके ट्रेडर्स, तिरुपति ट्रेड लिंक्स र नेसनल मोटर्स छ तर निर्यात गर्नेमा मनकामना ट्रेडर्स मात्रै छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?