कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिकिलो ९५० रुपैयाँमा बिक्री भइरहेको सुपारी ४०३ रुपैयाँमा भारत पठाइँदै

देवनारायण साह

मोरङ — यहाँका स्थानीय खुद्रा पसलेहरूले थोक विक्रेताबाट प्रतिकिलो ७ सय रुपैयाँसम्ममा सुपारी किनेर खुद्रामा प्रतिकिलो ९ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । थोक विक्रेताले पनि सुपारी उत्पादक किसानबाट प्रतिकिलो ५ सय रुपैयाँमा किन्छन् । तर यहाँका ठूला व्यवसायीले प्रतिकिलो ४ सय ३ रुपैयाँमा सुपारी भारत निर्यात गरिरहेका छन् ।

प्रतिकिलो ९५० रुपैयाँमा बिक्री भइरहेको सुपारी ४०३ रुपैयाँमा भारत पठाइँदै

ठूला व्यापारीले तेस्रो मुलुकबाट समेत ४ सय ५५ रुपैयाँ प्रतिकिलोको दरमा सुपारी आयात गरेका छन् । उनीहरूले महँगोमा किनेको सुपारी सस्तोमा निर्यात गर्नुका पछाडि ठूलो खेल भएको स्थानीय व्यवसायीको आरोप छ । गत आर्थिक वर्षमा व्यवसायीले किसानसँग प्रतिकिलो ६ सय रुपैयाँमा सुपारी किनेको सुपारी खेती विकास संस्था अर्जुनधारा, झापाका अध्यक्ष देवीप्रसाद खतिवडाले जनाए ।

इन्डोनेसियाको सुपारी थाइल्यान्ड र सिंगापुरको बन्दरगाहबाट विराटनगरका ६ वटा व्यापारिक फर्मले गत आर्थिक वर्षमा ७५ करोड ४९ लाख ३२ हजार मूल्य बराबरको ५ हजार ७ सय ८४ दशमलव २६ टन सुपारी आयात गरेको विराटनगर भन्सार कार्यालयको तथ्यांक छ । प्रहरीले बरामद गरेको ८ ट्रक सुपारीसहित ९० करोड ६७ लाख १८ हजार मूल्य बराबरको २२ लाख ४८ हजार ८ सय ५ किलो सुपारी भारत निर्यात भएको भन्सारले जनाएको छ ।

सुपारी आयात गर्नेमा सौर्य एयरलाइन्सका सञ्चालक झापाका दीपक पोखरेलको अम्बे ट्रेडिङ, विराटनगरका दिनेश राठीको राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेसनल, विराटनगरका प्रदीप मुरारकाको पिके ट्रेडर्स, विराटनगरका मुलचन्द राठीको तिरुपति ट्रेड लिंक्स र विराटनगरकै सञ्जय अग्रवालको नेसनल मोटर्स छ । तर सुपारी निर्यात गर्नेमा विराटनगर घर भई क्रिकेट संघ मोरङका अध्यक्ष तथा प्रदेश १ का उपाध्यक्ष नवीन घिमिरेको मनोकामना ट्रेडर्स विराटनगर–१४ मात्रै छ । सुपारी खरिद र निर्यातबारे उनले केही बोल्न चाहेनन् ।

घिमिरे सञ्चालक रहेको मनोकामना ट्रेडर्सले भारतको आइसा एक्सपोर्ट कोलकातालाई बेचेको ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी लोड भएको ८ वटा ट्रक प्रहरीले रानीबाट साउन ५ मा नियन्त्रणमा लिएर कारबाहीका लागि साउन ७ गते राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो । उक्त सुपारी एकीकृत भन्सार जाँच चौकी विराटनगरबाट जाँच पास भएर भारतको जोगबनी एकीकृत भन्सारले समेत पास गरी रि–रुट गरेर भारत लग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारत निर्यात भइसकेको सुपारीको अनुसन्धान गर्ने अधिकार आफूसँग नभएको राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले बताउँदै आएका छन् । तर इटहरी कार्यालयमा रहेको सुपारीको ट्रक छाड्न पनि सकेका छैनन् । पीके ट्रेडर्स विराटनगरका सञ्चालक प्रदीप मुरारकाले जोगबनी भन्सार कार्यालयका कर्मचारीलाई सुपारी छुटाउन पहल गरिदिन आग्रह गर्दै आएका छन् । त्यसैले जोगबनी भन्सारले पटकपटक विराटनगर भन्सारलाई लिखित र मौखिक रूपमा दबाब दिँदै आएको छ । जोगबनी भन्सारले सुपारी छुटाउन दबाब दिइरहेको विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद काफ्लेले स्विकारे ।

वैधानिक तरिकाले सुपारी छुटाउन नै सुपारी निर्यातकर्ता घिमिरेले उच्च अदालतमा सुपारी तत्काल छाड्न र भारतको जोगबनी भन्सार कार्यालयले लगाएको सिल यथास्थितिमा राख्न अन्तरिम आदेशका लागि गत बिहीबार रिट निवेदन दायर गरेका थिए । घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीविरुद्ध रिट दायर गरेका थिए ।

उच्च अदालत विराटनगरले ८ ट्रक सुपारी छाड्न अन्तरिम आदेशका लागि मंगलबार दुवै पक्षलाई बोलाएर छलफल गर्ने भएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको एकल इजलासले आइतबार ट्रकको सिलबन्दी यथास्थितिमा राख्न र अन्तरिम आदेशका लागि छलफलमा दुवै पक्षलाई उपस्थितिका लागि बोलाउन आदेश गरेको हो ।

प्रकाशित : श्रावण ३०, २०७९ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?