कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य बिमाको भुक्तानी रोकिँदैन : स्वास्थ्यमन्त्री  

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य बिमाको पैसा भुक्तानी हुँदैन कि भन्ने चिन्ता नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आग्रह गरेका छन् । भुक्तानीका लागि तोकिएको समयभन्दा केही दिन पछि हुन सक्ने भएपनि पैसा नै नपाउने भन्ने अवस्था नभएकाले सेवाग्राही र सेवा प्रदायकले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

स्वास्थ्य बिमाको भुक्तानी रोकिँदैन : स्वास्थ्यमन्त्री  

उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको स्वास्थ्य बिमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङले यस्तो बताएका हुन् । स्वास्थ्य बिमा राज्यको कार्यक्रम भएको र सामाजिक सुरक्षा अन्तर्गत सञ्चालन गरिएकाले भुक्तानीको दायित्व पनि सरकारको भएको उनले बताए । ‘स्वास्थ्य बिमा अन्तर्गत पनि धेरै समस्या देखिएका छन्,’ उनले भने, ‘समस्या हुँदैमा कार्यक्रम बन्द नै हुने भन्ने हुँदैन । तिनलाई सुधार गर्दै जाने हो । आउँदा दिनमा स्वास्थ्य बिमा कार्यक्रमलाई झनै व्यापक र प्रभावकारी बनाउने सरकारको योजना छ ।’ स्वास्थ्य बिमालाई संविधानले नै आधारभूत मौलिक हकको रुपमा राखेकाले राज्यले यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने उनले दाबी गरे ।

स्वास्थ्य बिमा विषयमा अहिले देखा परेको गतिरोध र अन्यौलता हटाई यो कार्यक्रमलाई दीगो र भरपर्दाे बनाउन यस किसिमको छलफल आवश्यक भएकाले आफूहरुले त्यसमा समन्वयात्मक भूमिका खेलेको उद्योग वाणिज्य महासंघ स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालले बताए । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सरकारबाट चालिएको कदम, नीति निर्णयको फलस्वरुप स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको स्वास्थ्यसम्बन्धी विभिन्न सूचकहरुले देखाएको उनले दाबी गरे । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नसेकेकै कारण अझै पनि स्वास्थ्य सेवा सर्वसाधारण जनताको लागि सुलभ र सहज हुन नसकेको उनले बताए । गरिब, पिछडिएका, अपाङ्ग, वृद्धवृद्धा र सिमान्कृत समुदायका जनतालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीति रहे पनि व्यवहारमा त्यो सहज हुन नसकेको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण ३०, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?