कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक वर्षमै भित्रियो सवा अर्बको मास्क, स्वदेशी उत्पादन भने उद्योगमै थन्कियो

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब २५ करोड ९७ लाख रुपैयाँ बराबरको मास्क आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष १५ करोड ३ लाख ५७ हजार २७४ वटा (पिस) मास्क आयात भएको हो । साे आयात अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को तुलनामा एक अर्ब ३१ करोड ६७ लाख ५३ हजार रुपैयाँले कम हो ।

एक वर्षमै भित्रियो सवा अर्बको मास्क, स्वदेशी उत्पादन भने उद्योगमै थन्कियो

आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५७ करोड ६५ लाख रुपैयाँको मास्क आयात भएको थियो । स्वदेशमै फेस मास्क उत्पादन पर्याप्त हुन थाले पनि आयात प्रभावकारी रुपमा घट्न सकेको छैन । स्वदेशी उद्योगका मास्क कारखानामै थन्किएका छन्  । दमकस्थित ग्रिन नेपालको कारखानामा झण्डै आठ लाख थानभन्दा बढी मास्क थन्किएका छन् । बजारमा माग नहुँदा कारखानामै मास्क थन्किएको सञ्चालक नन्दलाल पाण्डेले बताए । ‘पहिला दैनिक आठ लाखभन्दा बढी मास्क उत्पादन हुन्थ्यो, अहिले १० हजार मात्रै उत्पादन गर्छौं, तर पनि बिक्री हुँदैन,’ उनले भने । करिब ४ महिनादेखि उद्योग घाटामा चलिरहेको उनले सुनाए । यस्तै उपत्यकाभित्रै सञ्चालित आहा उद्योगले समेत अहिले मास्कको बजार नभएको जनाएको छ । यीबाहेक अन्य उद्योगले पनि मास्ककाे बजार घटेकाे र उत्पादन थन्किएको गुनासो गरेका छन् ।

नेपालमा अष्ट्रेलिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, फ्रान्स, जर्मन, हङकङ, भारत, इन्डोनेसिया, इराक, इजरायल, इटाली, जापान, कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार र अमेरिका लगायत मुलुकबाट मास्क आयात हुने गरेकाे विभागले जनाएको छ ।

कोरोनाको संक्रमणपछि मात्रै नेपालमा कच्चापदार्थ आयात गरी मास्क उत्पादन गर्न थालिएको हो । आर्थिक वर्ष ०७७/०७८ मा नेपालबाट ४ करोड २१ लाख ९६ हजार रुपैयाँको फेस मास्क निर्यात भएको थियो । गत आर्थिक वर्ष भने जम्मा १० लाख ८१ हजार रुपैयाँ बराबरको १ लाख १८ हजार ९९३ वटा (पिस) मात्रै मास्क निर्यात भएको विभागले जनाएको छ । कोरोना महामारी अगावै भने नेपालमा मास्क आयात मात्र गरिन्थ्यो । नेपालमा उत्पादित मास्क भारत, जापान, न्युजिल्याण्ड, पाकिस्तान, कतार, अमेरिका, बेलायत लगायत मुलुकमा निर्यात भएको विभागले जनाएको छ ।


प्रकाशित : श्रावण ३०, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?