साञ्जेन जलविद्युत् आयोजनाको साइट कार्यालयमा तोडफोड, कर्मचारी कुटिए- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साञ्जेन जलविद्युत् आयोजनाको साइट कार्यालयमा तोडफोड, कर्मचारी कुटिए

कान्तिपुर संवाददाता

काठमाडौँ — साञ्जेन जलविद्युत् कम्पनीले आयोजना प्रभावितका लागि छुट्याएको प्राथमिक सेयर (आईपीओ)प्रति असहमति जनाउँदै स्थानीयले साइट कार्यालयमा तोडफोड गरेका छन् । रसुवाको आमाछोदिङमो गाउँपालिका गत्लाङका स्थानीयले आइतबार दिउँसो साइट कार्यालय तथा सवारी साधन तोडफोड गरेको र कर्मचारीलाई पनि कुटपिट गरेको आयोजनाका एक कर्मचारीले बताए । 

‘वडा नम्बर ३ का ४०/५० जना स्थानीय आएर कार्यालय तोडफोड गरे । कर्मचारीलाई कुटपिट गर्दै लखेटे । एक जना गम्भीर घाइते छन् । अरु कर्मचारी लुकेर बसेका छन्’ ती कर्मचारीले भने, ‘८ वटा गाडी र १२/१५ वटा मोटरसाइकलमा तोडफोड भएको छ ।’ कुटपिटबाट आयोजनामा कार्यरत कर्मचारी सुरेश तामाङ गम्भीर घाइते छन् ।

साञ्जेन जलविद्युत् आयोजनाले आयोजना प्रभावित बासिन्दाका लागि १० प्रतिशत बराबर ३६ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो । आयोजनाबाट आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ अति प्रभावित, वडा नम्बर ४ लाई प्रभावित र अरु वडालाई सामान्य प्रभावितका रुपमा राखिएको छ । त्यस्तै रसुवा जिल्लाबासीलाई न्यून प्रभावितका रुपमा राखेर सेयर वितरण गरिएको थियो । कुल १० प्रतिशत सेयरमध्ये अति प्रभावितलाई ४, प्रभावितलाई ३ र सामान्य प्रभावित तथा न्यून प्रभावितलाई समान १.५ प्रतिशत सेयर दिने सहमति भएको थियो ।

‘जिल्ला समन्वय समितिमा सबै पक्षको भेला गराएर २०७६ माघ २९ गते यस्तो सेयर संरचना बनाउने भनेर सहमति भएको थियो,’ आयोजनाका ती कर्मचारीले भने, ‘तर अहिले आएर एकाएक कार्यालयमा तोडफोड गरे ।’ अहिले आयोजनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

प्रकाशित : श्रावण २९, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

४ हजार ८२९ परीक्षणमा ४५५ मा संक्रमण पुष्टि, २४ घण्टामा २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको तथ्यांकअनुसार २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमित फेला परेका हुन् । 

२४ घण्टामा ३०२ जना निको र २ जनाको मृत्यु भएको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ पुगेको छ ।

२४ घण्टामा १३ हजार ३२८ जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×