६२ प्रतिशत जनसंख्या बिमाबाहिर

धेरै नागरिकमा बिमासम्बन्धी चेतना नहुनु र कम्पनीहरु सहर तथा सुविधासम्पन्न क्षेत्रमा सीमित भएकाले अझै पनि जनसंख्याको ठूलो हिस्सा बिमा सेवाबाट वञ्चित
कान्तिपुर संवाददाता

काठमाडौँ — सम्भावित जोखिम सुरक्षणको बलियो आधार बिमा भए पनि अझै झन्डै ६२ प्रतिशत जनसंख्यामा बिमा सुविधा पुग्न सकेको छैन । बिमा क्षेत्रलाई राज्यले प्राथमिकता दिएको भनिए पनि मुलुकको कुल जनसंख्याको करिब ६२ प्रतिशत अझै बिमाको पहुँचमा नरहेको सरकारी तथ्यांकले देखाएको छ । 

६२ प्रतिशत जनसंख्या बिमाबाहिर

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिको गत असारसम्मको तथ्यांकअनुसार ३८.२६ प्रतिशत नागरिकमा मात्रै बिमा पहुँच पुगेको छ । यो तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बिमा समावेश छैन । ०७८ असारसम्म कुल जनसंख्याको २५.२३ प्रतिशत मात्र बिमा पहुँच पुगेको थियो । धेरै नागरिकमा बिमासम्बन्धी चेतना नहुनु र कम्पनीहरू सहर तथा सुविधासम्पन्न क्षेत्रमा सीमित भएकाले अझै पनि जनसंख्याको

ठूलो हिस्सा बिमा सेवाबाट वञ्चित रहेको जानकारहरू बताउँछन् ।

यद्यपि अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा बिमा पहुँच १३.०६ प्रतिशत विन्दुले बढेको देखिन्छ । तर उक्त अवधिमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य विस्तार भएका कारण मात्र बिमा पहुँच बढेको भने होइन । उक्त अवधिमा तथ्यांक गणना विधि परिमार्जन गरिएकाले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बिमा पहुँचको बढेको देखिएको समितिले जनाएको छ । ‘अघिल्ला आर्थिक वर्षहरूमा संगठित संस्थाहरूले सामूहिक रूपमा गरेको जीवन बिमालाई एउटा पोलिसी (बिमालेख) मानेर गणना गरिन्थ्यो,’ समिति स्रोतले भन्यो, ‘गत वर्षदेखि त्यस्ता सामूहिक बिमालेखमा कति जना व्यक्तिको बिमा भएको छ, तिनलाई छुट्टाछुट्टै गणना गर्न थालिएको छ । यसकारण अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको तथ्यांकमा बिमा पहुँच धेरै प्रतिशत विन्दुले बढेको देखिएको हो ।’ यद्यपि अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको बिमा शुल्क र बिमालेख बिक्री संख्या पनि बढेको समितिको तथ्यांक छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले अनिवार्य रूपमा बिमा गर्नुपर्छ । बिमा पहुँचको तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरूको बिमालाई अलग राखिन्छ । यस्तो बिमालाई हटाउँदा गत असारसम्म कुल जनसंख्याको करिब ३८ प्रतिशतभन्दा धेरैमा बिमा पहुँच पुगेको छ । तर वैदेशिक रोजगारीमा गएका नेपालीले गरेको बिमालाई पनि समावेश गर्दा गत असारसम्म करिब ४१.२० प्रतिशत नागरिकमा बिमा पहुँच पुगेको समितिको तथ्यांक छ । ०७८ असारसम्म यो आँकडा २७.५३ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगार बिमालेख बिक्री संख्या करिब २९ प्रतिशतले बढेको छ । यसअनुसार ०७८ असारसम्म ६ लाख ८६ हजार जनाले वैदेशिक रोजगार बिमा गरेकामा गत असारसम्म आइपुग्दा बढेर ८ लाख ९१ हजार पुगेको छ । गत वर्षमा कम्पनीहरूको कुल बिमा शुल्क संकलन पनि साढे १६ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले कुल १ खर्ब ५२ अर्ब ६५ करोड बिमा शुल्क संकलन गरेका थिए । गत आर्थिक वर्षमा यस्तो शुल्क बढेर १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

बिमा पहुँचको तथ्यांक गणना गर्दा जीवन बिमा सेवा लिएको जनसंख्यालाई मात्र समावेश गरिन्छ । यो अन्तर्राष्ट्रिय प्रचलन हो । निर्जीवन बिमा निश्चित अवधिको (म्यादी) हुने भएकाले बिमा पहुँचमा समावेश नगरिएको हो । एक व्यक्तिले एकभन्दा बढी जीवन बिमा पनि गरेका हुन्छन् । यसकारण जारी बिमालेखकै आधारमा त्यत्तिकै संख्यामा नागरिकसम्म सुविधा पुग्यो भन्ने हुँदैन । बिमा पहुँचको तथ्यांक गणना गर्दा यस्तो दोहोरोपन हटाउनुपर्छ । यसका लागि कुल जारी बिमालेखबाट ५ प्रतिशत घटाएर बचेको बिमालेख सोही अवधिको कुल जनसंख्यासँग तुलना गरेर बिमा पहुँच गणना गर्ने विश्वव्यापी प्रचलन छ । यसअनुसार गत असारसम्म जीवन बिमा कम्पनीहरूले १ करोड ३० लाख ९९ हजार ६ सय ३२ वटा बिमालेख बिक्री गरेका छन् । ०७८ असारसम्म यो संख्या करिब ८६ लाख १२ हजार ८ सय ५० थियो ।

मुलुक वित्तीय संरचनामा गएको पाँच वर्ष पूरा भइसक्दा पनि बिमा क्षेत्रमा अझै विकेन्द्रीकरण हुन सकेको छैन । बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीहरूले संकलन गरेको कुल बिमा शुल्कमध्ये करिब ७७ प्रतिशत हिस्सा वाग्मती प्रदेशको छ । सोही अवधिमा ती कम्पनीहरूले बिक्री गरेको कुल बिमालेखमध्ये वाग्मतीको हिस्सा करिब ४६ प्रतिशत छ । जीवन बिमा कम्पनीहरूले गत आर्थिक वर्षमा संकलन गरेको कुल बिमा शुल्कमध्ये करिब ४० र सक्रिय बिमालेखमध्ये करिब ६९ प्रतिशत हिस्सा वाग्मतीको छ ।

पछिल्ला वर्षहरूमा बिमासम्बन्धी चेतना विस्तार गर्न विभिन्न प्रशिक्षण तथा प्रचारप्रसार बढाइएको, प्रादेशिक कार्यालयहरू सञ्चालनमा आएकोलगायत कारणले पहुँच बढेको बिमा समितिका कार्यकारी अधिकृत राजुरमण पौडेल बताउँछन् । बिमा क्षेत्रको दायरा विस्तार गर्नकै लागि गत आर्थिक वर्षमा तीन प्रदेश (मधेस, कर्णाली र सुदूरपश्चिम) मा प्रदेशिक कार्यालय सञ्चालनमा आएको र चालु आर्थिक वर्षमा बाँकीमा प्रादेशिक कार्यालय खोल्ने तयारी समितिले गरेको उनले जानकारी दिए  ।

बिमा पहुँच विस्तारको तथ्यांक समितिले सार्वजनिक गरिरहँदा कोरोना बिमाबापत सवा लाख जनाभन्दा बढी बिमितले रकम पाउन सकेका छैनन् । कोरोना बिमा मापदण्डअनुसार सरकारले तिर्नुपर्ने रकम अर्थ मन्त्रालयले पछिल्लो एक वर्षदेखि रोकिँदा बिमितले भुक्तानी नपाएका हुन् । यसमा अर्थ मन्त्रालयले अनेक कारण देखाउँदै आएको बिमा कम्पनीहरूको गुनासो छ । ०७७ चैतदेखि कम्पनीहरूले भुक्तानी ठप्प पारेका छन् । बिमा समितिका अनुसार कोरोना बिमाबापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । संख्याका आधारमा हेर्दा करिब १ लाख १३ हजार बिमितले भुक्तानी पाउन बाँकी छ, जसमध्ये धेरैजसोको प्रतिव्यक्ति १ लाख रुपैयाँका बिमा छन् । हाल मुलुकभर १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र दुई वटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । विभिन्न बिमा कम्पनीहरूले ३ हजार ३ सय ६६ वटा शाखा कार्यालयमार्फत मुलुकभर बिमा सेवा दिँदै आएका छन् । अघिल्लो असारसम्म यो संख्या २ हजार ९ सय ३३ थियो ।

प्रकाशित : श्रावण २९, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?