कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिबन्धअगावै एलसी खोलेका गाडी पनि भन्सारमै अड्किए

पटक–पटक भन्सार विभाग र मन्त्रालयको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको व्यवसायीको गुनासो
विमल खतिवडा

काठमाडौँ — विदेशी विनिमय सञ्चिति कम भएको भन्दै सरकारले आयातमा प्रतिबन्ध लगाउनुअघि नै प्रतीतपत्र (एलसी) खोलेका चारपांग्रे सवारी साधनहरू पनि भन्सारमा रोकिएका छन् ।

प्रतिबन्धअगावै एलसी खोलेका गाडी पनि भन्सारमै अड्किए

विदेशी विनिमय सञ्चिति अर्थात् सवारीसाधनहरू खरिद गर्दाको रकमसमेत भुक्तानी भइसकेका करिब ९ सय सवारीसाधन छुटाउन नपाएको व्यवसायीले जनाएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै १० वटा वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । दोस्रो पटक गत असार ३१ मा फेरि राजपत्रमा सूचना प्रकाशन गर्दै मन्त्रालयले पुनः उक्त वस्तुहरूको आयात भदौ १४ सम्म बन्देज लगाएको छ । तर सूचनामा वैशाख १३ भन्दाअघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया पूरा भइसकेको हकमा भने आयात प्रतिबन्धनको व्यवस्था लागू नहुने उल्लेख छ ।

नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार ४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी मूल्यका गाडी अहिले भन्सारमा थन्किएका छन् । ‘सूचनामा जानाजान गल्ती भएको हो कि भूलवश हो भन्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं,’ उनले भने, ‘पहिला एलसी खोलिसकेका गाडीलाई रोक्न नपर्ने हो, पछिल्लो पटक प्रकाशित राजपत्रमा मोटरसाइकल, मोबाइल उल्लेख छ तर गाडीका बारेमा केही छैन ।’ एलसी खुलेर अर्डर गरिसकेका तर भन्सारमा रोकिएका सवारीसाधनहरूमा जिप, कार र भ्यान बढी छन् ।

भन्सार जाँचपास नहुँदा वीरगन्जको आईसीपी परिसरमा थन्किएका नयाँ सवारी साधन । तस्बिर : शंकर आचार्य/कान्तिपुर

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य आकाश गोल्छाले पनि सरकारले प्रतिबन्ध लगाउनुअघि नै एलसी खोलेर मगाइएका गाडीहरू विभिन्न भन्सार नाकामा आएर रोकिएको बताए । ‘राजपत्रमा प्रकाशित सूचनाअनुसार पहिल्यै एलसी खोलिसकेका गाडीहरूलाई ल्याउन दिने भनिएको थियो, अहिले तिनै गाडी भन्सारमा रोकिएका छन्,’ उनले भने, ‘यसबारे भन्सार विभाग, मन्त्रालय सबैको ध्यानाकर्षण गराइसक्यौं, अहिलेसम्म सुनुवाइ भएको छैन ।’ उनका अनुसार एलसी खोलेका केही भन्सारमा र केही आयातकै क्रममा छन् । घट्दो विदेशी मुद्रा सञ्चिति जोगाउन भन्दै विलासी वस्तुको आयातमा रोक लगाइए पनि भन्सारमा आएका सबै गाडीको पहिल्यै भुक्तानी भइसकेको उनको भनाइ छ ।

‘पहिले नै पैसा तिरिसकेका गाडीहरू भन्सारमा रोकेर विदेशी विनिमय सञ्चिति बढ्दैन,’ उनले भने, ‘पहिल्यै एलसी खुलिसकेका गाडीहरू बिनाअवरोध ल्याउन पाउनुपर्छ भनेर सरकारलाई जानकारी गराएका छौं ।’ यसबारे आश्वासन पाएको तर निर्णय नभएको उनको भनाइ छ । ‘पैसा तिरेर भन्सारमा सामान नै आइसक्यो भने यसलाई किन रोक्नु ? भन्सार शुल्क लिएर गाडी छाड्न केले रोक्यो ? रोक्नुको कारण के हो ?’ उनले प्रश्न गर्दै भने, ‘मन्त्रालय धाइरहेका छौं, निर्णय गरिहाल्छौं भन्ने जवाफ आउँछ, तर अहिलेसम्म केही भएको छैन ।’ नेपाली बजारमा भने ग्राहकले गाडी खरिद गर्न खोज्दा दिन सक्ने अवस्था नरहेको बताए । ‘तातोपानी, वीरगन्ज र भैरहवा भन्सार नाकामा आएर गाडी रोकिएका छन्,’ गोल्छाले भने, ‘प्रक्रिया पुर्‍याएर ल्याएका गाडीलाई किन रोक्नु ? नरोके सरकारले भन्सार शुल्क, व्यापारीले बिक्री गर्न र ग्राहकले समयमै गाडी पाउन सक्थे ।’

मन्त्रालयले यसलाई साधारण कुरा हो भने पनि निर्णय सच्याउन ढिला गर्दा समस्या भएको व्यवसायीहरूको भनाइ छ । ‘एलसी खोलिसकेको गाडी हामीले रकम भुक्तानी गरेर ल्याएका हौं, न अब फिर्ता गर्न मिल्छ,’ एक व्यवसायीले भने, ‘तुरुन्त निर्णय नभए गाडी भन्सारमै थन्किने र बिग्रिने अवस्थामा पुग्ने हुन्छ ।’

भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई राजपत्रमा प्रकाशित सूचना स्पष्ट नहुँदा यस्तो भएको बताउँछन् । ‘सूचना स्पष्ट नहुँदा भन्सारमा गाडी रोकिएका हुन्,’ उनले भने, ‘सूचना स्पष्ट गराउन मन्त्रालयमा लेखेर पठाइसकिएको छ, त्यहाँबाट निर्णय भएर आएपछि समस्या समाधान हुनेछ ।’ वाणिज्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद रेग्मी असार ३१ मा राजपत्रमा प्रकाशित सूचना वैशाख १३ कै निरन्तरता भएको बताउँछन् । ‘व्यवसायीको कुरा मन्त्रालयमा आएको छ,’ प्रवक्ता रेग्मीले भने, ‘अब राजपत्रमा प्रकाशित गरेर हुन्छ कि कसरी हुन्छ छिट्टै पहिल्यै एलसी खोलेर भन्सारमा रोकिएका गाडी ल्याउने व्यवस्था हुनेछ ।’

प्रकाशित : श्रावण २६, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?