पर्यटकले गर्ने खर्च दिनकै १७ डलरले घट्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकले गर्ने खर्च दिनकै १७ डलरले घट्यो

पर्यटन बजार पुरानै लयमा फर्किने आसमा होटल, रिसोर्ट, प्याराग्लाइडिङजस्ता साहसिक र मनोरञ्जनात्मक क्षेत्रमा समेत खर्च गर्दै निजी क्षेत्र
सुरज कुँवर

काठमाडौँ — पर्यटकहरूले नेपाललाई धेरै सस्तो मुलुककै सूचीमा राख्दै आइरहेका छन् । भारतबाट ट्यांकरमा बोकेर ल्याइने हवाई इन्धनका कारण महँगो पर्ने ‘एयर–फेयर’ (हवाई भाडा) लाई एकछिन बिर्सिने हो भने विदेशीले नेपालीले नै तिर्ने मूल्यमा खाना, लज, भ्रमण, आन्तरिक यातायात, गाइड, किनमेल गर्न पाउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘प्रतिपर्यटकको नेपालमा हुने प्रतिदिन खर्च’ को आँकडाले पनि यसलाई पुष्टि गर्छ ।

मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा भ्रमणमा आएका पर्यटकले दिनको ४८ डलर (६ हजार १ सय ८ रुपैयाँ) खर्च गरेका थिए । यसअघि योगेश भट्टराईले पर्यटन मन्त्रालयल सम्हालेको वर्ष २०७६/७७ मा पनि ५६ डलर प्रतिदिन लक्ष्य राखिएकामा ८ डलरले घटेर ४८ नै पुगेको थियो । २०७७/७८ मा भने पर्यटकले दिनको ६५ डलरसम्म (८ हजार २ सय ७१ रुपैयाँ) खर्च गरेका थिए ।

‘क्वारेन्टाइन बसाइका कारण विदेशी पर्यटकको बसाइ अघिल्लो आर्थिक वर्ष १५ दशमलव ५ दिनमा पुग्यो तर आम्दानी अघिल्लो वर्षको दाँजोमा घटेको देखिन्छ,’ योजना आयोग र मन्त्रालयले संयुक्त आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रवक्ता पाण्डेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई सुनाए । उनका अनुसार गत वर्ष सरकारले पर्यटकको प्रतिदिनको खर्च ६३ डलर (८ हजार १७ रुपैयाँ) पुर्‍याउने लक्ष्य राखेको थियो । तर, पर्यटकको आगमन १ लाख ५० हजारमै खुम्चिएका कारण विदेशीले प्रतिदिन गर्ने खर्चको लक्ष्य प्राप्त हुन सकेन । गत वर्ष नेपाल आएका पर्यटक २०७६/७७ को पर्यटक आगमनको दाँजोमा करिब साढे १० लाखले कम हो भने २०७७/७८ को दाँजोमा ८० हजारले कम हो ।

होटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले कोभिडको विश्वव्यापी असर, पश्चिमा मुलुकको आर्थिक मन्दी, युक्रेन र रसियाबीच द्वन्द्वलगायतका कारण नेपालले धेरै आकांक्षा गर्न सकिने अवस्था नहरेको बताइन् । ‘काठमाडौंमै अझै दुइटा ५ तारे होटल लकडाउनपछि खुलेकै छैनन्,’ उनले भनिन्, ‘अझै कोभिड संक्रमण बढ्ने अनुमान सुनिरहेका छौं, त्यसैले गत वर्ष पर्यटकले जति खर्च गरेको तथ्यांक आइरहेको छ, यसमा गुनासो गरिहाल्नुपर्ने देखिँदैन ।’

पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीका अनुसार पछिल्ला वर्ष पर्यटकले ४८ देखि ५५ डलर औसत प्रतिदिन खर्च गर्ने गरेका तथ्यांकहरूमा देखिन्छ । यो आँकडामा पर्यटकले गरेको विस्तृत खर्च विवरण नसमेटिएको जोशीको दाबी छ । ‘अहिले धेरैजसो पर्यटक डिजिटल प्लेटफर्मबाट होटल तथा टुर प्याकेज बुक गरिरहेका हुन्छन् । आफ्नै मुलुकका एजेन्टमार्फत नेपाल भ्रमणमा आउँछन्,’ उनले भने, ‘अझ चिनियाँ पर्यटक त हुइच्याटमार्फत खर्च गर्छन् ।’

राष्ट्र बैंक, पर्यटन विभागलगायतले पर्यटकको खर्चबारे तथ्यांक मोडल समयसापेक्ष नभएको भन्दै उनले स्याटलाइट एकाउन्ट सञ्चालन हुनुपर्ने सुझाए । पर्यटकको यथार्थ खर्च र संख्याको तथ्यांक जहिल्यै अपुरो हुने गुनासो आएपछि तत्कालीन मन्त्री रवीन्द्र अधिकारीले बोर्डलाई स्याटलाइट एकाउन्ट सञ्चालन गर्न निर्देशन दिए पनि काम अझै सकिएको छैन ।

बोर्डका सीईओ धनञ्जय रेग्मीले स्याटलाइट एकाउन्टका लागि प्रश्नावली बनाउने काम भइरहेको बताए । विदेशमा प्रवर्द्धन, प्रचार र पर्यटक वृद्धि गर्ने उद्देश्य लिई २६ वर्षअघि स्थापना भएको स्वायत्त संस्था पर्यटन बोर्ड छ । गत वर्ष ९२ करोड बजेट विनियोजन गरिएको बोर्डले नेपालमा पर्यटक बढाउन त्यसअघिको वर्ष ५६ करोड खर्च गरेको थियो ।

पर्यटकको आगमनबाट संकलन गरिने १ हजार प्रतिपर्यटक सेवा शुल्क नै मुख्य आम्दानीको स्रोत रहेको यही संस्थाको समेत पर्यटकको संख्या घट्दा आम्दानीमा असर परेको छ । तर, निजी क्षेत्र पर्यटन बजार पुरानै लयमा फर्किने आकांक्षामा होटल, रिसोर्ट, प्याराग्लाइडिङजस्ता साहसिक र मनोरन्जनात्मक क्रियाकलापमा खर्च गरी नै रहेका छन् । गत वर्ष थपिएका २० वटा होटलको संख्याले पनि यो चित्र देखाउँछ ।

मन्त्रालयका अनुसार, गत वर्षसम्म देशभर १८ वटा ५ तारे र १ सय ४४ वटा एकदेखि चारतारे होटल पुगेका छन् । यीबाहेक पर्यटक स्तरीय होटल करिब १२ सय तथा ४ सय हाराहारी होमस्टे छन् । होमस्टेलाई समेत समेट्दा बेड संख्या ५० हजार हाराहारी पुगेको देखिन्छ ।

प्रकाशित : श्रावण २५, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

सत्ताका खेलाडी नीतीश

राष्ट्रिय जनता दल र भारतीय राष्ट्रिय कंग्रेसको समर्थनमा फेरि बिहारको मुख्यमन्त्री बन्ने 
एजेन्सीहरू

पटना — भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतीश कुमारले सरकार परिवर्तन गर्ने कलामा आफू माहिर रहेको पुनः एक पटक प्रमाणित गरिदिएका छन् । सन् २००५ यता आठ महिनामात्र मुख्यमन्त्रीको कुर्सीबाहिर रहेका नीतीशले मंगलबार भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन तोडेका हुन् । 

यसलाई नीतीशले सन् २०१७ मा भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलाएन्स (एनडीए) गठबन्धनमा आबद्ध हुन राष्ट्रिय जनता दल (राजद) नेतृत्वको महागठबन्धनलाई ‘लात हान्ने’ घटनासँग जोडेका छन् ।

कतिपयले भने नीतीशको पछिल्लो कदमलाई राष्ट्रिय कंग्रेससँगको गठबन्धन तोडेर भाजपा र शिव सेनाको विद्रोही पक्षबीचको सरकार गठनको जवाफका रूपमा हेरेका छन् । ‘बिहार महाराष्ट्र नामक सिक्काको अर्को पाटो बनेको छ,’ मौलाना आजाद इन्स्टिच्युट अफ एसियन स्टडिजका पूर्वप्राध्यापक तथा राजनीतिक विश्लेषक रणवीर समदरले भने ।

सन् १९५१ को मार्च १ मा जन्मिएका निशित कुमार पहिलो पटक सन् २००० मा मुख्यमन्त्री बनेका थिए । छोटो समयको मुख्यमन्त्रीको कार्यकालपछि उनी अटल बिहारी बाजपेयी सरकारमा मन्त्री बने । रेलमन्त्रीका रूपमा उनले भारतीय रेलसेवामा चामत्कारिक सुधार गरेका थिए ।

सन् २००५ मा दोस्रो पटक मुख्यमन्त्री बनेपछि नीतीशले ‘सुशासन बाबु’ का रूपमा चिनिए । विकासको मामिलामा पुछारमा रहेको बिहारमा उनले कानुनी शासन स्थापित गरे । सडक, पुल लगायतका संरचनाको उल्लेख्य विकास गरे र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याए ।

मुख्यमन्त्रीका रूपमा उनले एक लाखभन्दा बढी शिक्षकहरू नियुक्त गरे । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले काम गर्ने वातावरण सिर्जना गरे र कैयौं गाउँलाई झलमल्ल पारे । नयाँ सडकहरू बनाए, महिला साक्षरतामा उल्लेख्य सुधार गरे । समग्रमा बिहारीको औसत आम्दानी दोब्बर बनाइदिए ।

तर ‘सत्ताको चास्नीमा डुबिरहन×’ चाल्ने पटकपटकको कित्ता परिवर्तन गर्ने कदमले पछिल्लो समय नीतीशको छवि भने धूमिल हुँदै गएको छ । अझ भनौं, राजनीतिको पूर्वार्द्धमा ‘सुशासन बाबु’ को उपनामले चर्चित नीतीश अब ‘कुर्सीको लिसो’ का रूपमा चिनिन थालेका छन् ।

यसअघि २०१५ मा जनता दल युनाइटेड (जदयू), राजद, कांग्रेस र वामपन्थी दलहरूले महागठबन्धन बनाएर भाजपाविरुद्ध चुनाव लडेका थिए । उनीहरूले सरकार बनाए पनि नीतीशले बीचमै गठबन्धन तोड्दै भाजपासँग सहकार्य गरेका थिए । त्यसपछि सन् २०१७ मा उनी एनडीए गठबन्धनमा गएका थिए । सन् २०१७ मा ७१ सिट भएको जदयूले भाजपासँगको तालमेलमा सन् २०२० को चुनावमा ४५ सिट जितेको थियो ।

नीतीशको जदयूले भाजपासँगको सत्ता सहकार्य तोडेसँगै सात दलीय नयाँ गठबन्धन निर्माण गरेका छन् । मंगलबार पटनास्थित राजभवन पुगेर राज्यपाल फागु चौहानलाई राजीनामा बुझाएका नीतीश राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कंग्रेस र वाम दलहरूको समर्थनमा पुनः मुख्यमन्त्री बन्दै छन् । उनले बुधबार मुख्यमन्त्रीको शपथ लिने जनाइएको छ ।

२४३ सदस्यीय बिहार विधानसभामा सरकार गठनका लागि १२२ विधायकको समर्थन आवश्यक पर्छ । सबैभन्दा ठूलो दल राजदका ७९ सदस्य छन् । जदयूको ४५, राष्ट्रिय कंग्रेसको १९ र वामपन्थी दलहरूको १६ सिट छ । ७७ विधायक रहेको भाजपा विधानसभाको दोस्रो ठूलो दल हो । विधानसभाको गणित हेर्दा नीतीश अब करिब २ तिहाइ विधायकको समर्थनमा मुख्यमन्त्री बन्ने भएका हुन् ।

योसँगै उनले भारतको राजनीतिक इतिहासमै सबैभन्दा बढी अर्थात् ८ पटक मुख्यमन्त्री बन्ने कीर्तिमान कायम गरेका छन् । उनी यस्तो मुख्यमन्त्री हुन् जसको पार्टीले कहिल्यै पूर्ण बहुमत ल्याएको छैन, तर पनि सन् २००५ यता ८ महिनाबाहेक राज्य सरकारको नेतृत्व सम्हालेका छन् ।

पत्रकारसँग कुरा गर्दै नीतीशले आफ्नो दलका सबै सांसदहरूको सहमतिमा भाजपा नेतृत्वको गठबन्धन छाड्ने निर्णय भएको बताए । नयाँ सरकार गठनका लागि कांग्रेस र वामपन्थी दलहरूले राजदका नेता तेजस्वी यादवलाई समर्थन पत्र बुझाइसकेका छन् ।

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजस्वीले गृह मन्त्रालय र सभामुख आफ्नो दलले पाउनुपर्ने माग राखेका छन् । तेजस्वी यसअघि नीतीश नेतृत्वको सरकारमा उपमुख्यमन्त्री थिए । उनी पुनः उपमुख्यमन्त्री हुने तय भएको छ ।

पछिल्लो समय भाजपाले क्षेत्रीय दलहरूसँग तालमेल गरी विभिन्न राज्यमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ भने प्रतिपक्ष दलहरू झन् कमजोर देखिएका छन् । तर पछिल्लो कदमपछि नीतीशको सशक्त प्रतिपक्ष नेताका रूपमा हेरिएको छ ।

पछिल्लो समय बिहारमा नाटकीय रूपमा जुटेको सत्ता गठबन्धनले भने भाजपालाई झस्काएको छ । पछिल्लो समीकरण कायमै रहेको खण्डमा बिहारको आगामी चुनाव भाजपाका लागि वास्तविक ‘राजनीतिक रणमैदान’ हुने देखिएको छ ।

भारतमा सन् २०२४ मा लोकसभा र २०२५ मा बिहार विधानसभा चुनाव हुँदै छ । सन् २०१९ को लोकसभा चुनावमा बिहारले एनडीएलाई ठूलो जित दिलाएको थियो । बिहारका ४० मध्ये ३९ सिट एनडीएले जितेको थियो ।

सन् २०२४ को लोकसभा चुनावमा प्रतिपक्ष नेताका रूपमा नीतीशसहित पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसम्मका नेताहरूले चुनौती थप्ने देखिएको छ । तर देशव्यापी रूपमा सशक्त प्रतिपक्षको सामना नगरेको भाजपाले कम्तीमा अझै एक कार्यकाल सरकार बनाउने विश्लेषकहरूको दाबी छ ।

७१ वर्षीय नीतीश बिहार विद्युत् बोर्डका पूर्वइन्जिनियर हुन् । सन् १९७० को दशकमा उनी समाजवादी नेता राम मनोहर लोहिया र जयप्रकाश नारायणको आन्दोलनमा सहभागी भएका थिए । समाजवादी पार्टीको पटकपटकको विभाजन र एकीकरणपछि नीतीशले जदयू गठन गरेका हुन् ।

प्रकाशित : श्रावण २५, २०७९ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×