कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन मन्त्रालयको खर्च ५३% मात्र

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ मा २६ अर्ब २५ करोड रुपैयाँ बजेटमध्ये ५३ प्रतिशत अर्थात् १३ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।

पर्यटन मन्त्रालयको खर्च ५३% मात्र

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सोमबार मन्त्रालयका सहसचिव टोकराज पाण्डेले प्रस्तुत गरेको तथ्यांकअनुसार पर्यटन मन्त्रालयले गत आर्थिक वर्षमा पुँजीगततर्फ विनियोजित २ अर्ब २४ करोड रुपैयाँमध्ये १ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको छ । वित्तीयतर्फ विनियोजित २० अर्ब रुपैयाँमध्ये ९ अर्ब मात्रै खर्च गर्न सकेको छ । चालु खर्चतर्फ भने ३ अर्ब ३४ करोड रुपैयाँमध्ये ३ अर्ब रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा नेपालले विदेशी पर्यटक आगमनबाट २५ करोड रुपैयाँ मात्रै आम्दानी गरेको मन्त्रालयले जनाएको छ । सरकारले उक्त वर्ष विदेशी पर्यटकबाट १ अर्ब ७६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जनको लक्ष्य राखेको थियो । ०७७/७८ को दाँजोमा भर्खरै सकिएको आर्थिक वर्षमा पर्यटकबाट आर्जन भएको विदेशी मुद्रा २० करोड रुपैयाँले बढेको हो । अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान १.६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गत वर्ष डेढ लाख हाराहारी विदेशी पर्यटक नेपाल आएका थिए । त्यस्तै नेपालमा पर्यटकको औसत बसाइँ १५ दशमलव ५ दिन पुगेको छ । अघिल्लो वर्ष यो १५ दशमलव १ थियो । औसत बसाइँ बढ्नुमा कोभिड र क्वारेन्टाइन प्रमुख कारण रहेको सहसचिव पाण्डेले बताए ।

गत वर्ष देशभर हवाई यात्रा गर्ने ३५ लाख र अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या १४ लाख पुगेको छ । नेपालले दुईपक्षीय हवाई यातायात सम्झौता गरेका मुलुक ४१ छन् । विदेशका २२ वटा वायुसेवाले नेपालमा उडान सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित : श्रावण २४, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?