पश्चिम सेतीको समझदारीपत्र स्वीकृत- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — लगानी बोर्डको ५२ औं बैठकले सोमबार पश्चिम सेती परियोजनाको सर्वेक्षण अनुमतिका लागि गरिने समझादारीपत्र स्वीकृत गरेको छ । ७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ (एसआर–६) संयुक्त जलविद्युत् परियोजनाको विकासका लागि अध्ययन गर्न विकासकर्ता भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग गरिने सझदारीपत्र बैठकले स्वीकृत गरेको हो । एनएचपीसीसँग २ वर्षभित्रमा सर्वेक्षण सक्ने र अध्ययन प्रतिवेदन तयार पर्ने गरी सम्झौता गर्ने गरी समझदारीपत्र स्वीकृत गरिएको हो ।

बैठकले ६७९ मेगावाट उत्पादन क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताका सम्बन्धमा आवश्यक तयारी अघि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । भारतीय कम्पनी सतलज जलविद्युत् निगमले लाइसेन्स पाएको यो आयोजनाको डीपीआर बुझाइसकेको छ । अब लगानी स्वीकृत गरेर पीडीए अघि बढ्ने लगानी बोर्डको कार्यालयले जनाएको छ । बैठकले ३२७ मेगावाट उत्पादन क्षमताको माथिल्लो मस्याङ्दी–२ जलविद्युत् परियोजनाको अध्ययनका लागि हिमताल हाइड्रोपावर कम्पनी लिमिटेडलाई सर्वेक्षण अनुमतिपत्र दिने पनि निर्णय गरेको छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई २०८१ असारभित्र वित्तीय व्यवस्थापन गरिसक्ने गरी आयोजना कार्यान्वयनको सहजीकरणका लागि लगानी बोर्डको कार्यालयलाई अख्तियारी दिइएको छ । बैठकले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर १४ मा ‘सस्टेनेबल इस्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरम–२०२२’ आयोजना गर्ने निर्णय पनि बोर्डले गरेको छ । दाङ सिमेन्टको आयोजना लगानी सम्झौता (पीआईए) का लागि १ वर्ष समय थप्ने निर्णय पनि बोर्डले गरेको छ ।

प्रकाशित : श्रावण २४, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटक नआउँदा सुनसान गाउँ

आश गुरुङ

लमजुङ — पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा २ महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने प्रतिदिन दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन् । त्यसैले प्रतिदिन पर्यटकको स्वागत गर्दै आएकी कमला घले अहिले फुर्सदिली छन् । उनी मात्रै होइन, ४४ घर होमस्टे भएको घलेगाउँवासी कामविहीन छन् ।

‘धान–कोदो रोपेर सकियो । धेरैले रोप्न छाडेका छन् । पर्यटक आएपछि त्यहींबाट निर्वाह हुन्छ,’ घलेले भनिन्, ‘बर्खा भयो । पर्यटक आएका छैनन् । हामी फुर्सदमै छौं । कमाइ शून्य छ ।’ पर्यटक हुँदा कहिलेकाहीं मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेकामा अहिले आम्दानी शून्य रहेको उनको भनाइ छ । कुनै दिन पर्यटक आउँदैनन् । कुनै दिन दुई/चार जना आउँछन् । असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताए । ‘बर्खा भयो । बाटो राम्रो छैन । पानी परेको पर्‍यै छ,’ उनले भने, ‘पर्यटक आउनै गाह्रो भयो ।’ भदौ अन्तिमबाट पर्यटक बढ्ने उनको दाबी छ । घलेगाउँमा ४४ होमस्टे छन् । तिनमा ३ सयभन्दा बढी पर्यटक अटाउँछन् । यसअघि पनि असार, साउन र भदौमा खासै पर्यटक नआउने पर्यटन समितिका सचिव उमलबहादुर विकको भनाइ छ । पर्यटकले आउन चाहना गरे पनि बाटोले समस्या बनाएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

‘पर्यटक आउन खोज्छन् । फोन गर्छन् । बाटो राम्रो छैन भनिरहेको छु । केही भने हिँडेरै, मुस्किलले गाडी चढेरै गाउँ आइपुग्छन्,’ उनले भने । कहिलेकाहीं २ सय पर्यटक एकैपटक आउने भुजुङ अहिले सुनसान छ । गाउँले धान र कोदो रोपेर केही दिन फुर्सदमा छन् । केहीको गोडमेल सुरु भएको छ । ‘अब मौसम र बाटो सफा भएपछि भदौबाट पर्यटक आउलान्,’ उनले अपेक्षा गरे । घलेगाउँ, भुजुङसँगै काउलेपानी र राइनासकोटमा पनि यति बेला पर्यटक आएका छैनन् । लमजुङका अन्य ठाउँका होमस्टेमा पनि अहिले पर्यटकको चहलपहल छैन । खासुर, घनपोखरा, सिउरुङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत गाउँ पनि सुनसान छन् ।

प्रकाशित : श्रावण २४, २०७९ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×