कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

भदौमा पनि निक्षेपको ब्याज नबढाउने बैंकहरूको सहमति, संस्थागतको ब्याज घट्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्ला महिनाहरूमाजस्तै आउँदो भदौमा पनि वाणिज्य बैंकहरूले निक्षेपको ब्याज नबढाउने सहमति गरेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको बैठकमा यस्तो सहमति भएको हो ।

भदौमा पनि निक्षेपको ब्याज नबढाउने बैंकहरूको सहमति, संस्थागतको ब्याज घट्दै

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दरहरु (बैंक रेट, पोलिसी रेट, सीआरआर,एसएलआर आदि) बढाएकाले भदौदेखि निक्षेपको ब्याजदर बढ्ने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने अपेक्षा गरिरहेका बेला बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका हुन् ।

‘ब्याज बढाए पनि निक्षेप बढ्ने होइन । झन् साउन महिनामा त निक्षेप करिब १ खर्बले घटेको छ । यसकारण ब्याज खर्च (लागत) नबढाउने सहमति भएको हो,’ बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले भने । तर, भदौदेखि नै संस्थागत निक्षेपको ब्याजदर भने राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको भन्दा २ प्रतिशत विन्दुले कम हुने छ । ‘राष्ट्र बैंकको निर्देशन अनुसार संस्थागत निक्षेपकर्ताको ब्याज व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा २ प्रतिशत विन्दुले घट्छ,’ उनले थपे, ‘यो निर्णयका लागि यही साउन महिनाको अन्तिम साता संघको बैठक बस्छ । तर, अरु निक्षेपको ब्याज भने कम्तीमा आउँदो असोजसम्म नबढाउने भन्ने सहमति बैंकहरुबीच भएको छ ।’

संघका अध्यक्ष उपाध्यायको भनाइ अनुसार आउँदो भदौमा पनि वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । तर, एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत रहनेछ । यो वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा २ प्रतिशत विन्दुले कम ब्याज दिन निर्देशन दिएको छ । यसअघि यस्तो अन्तर एक प्रतिशत विन्दु थियो ।

पछिल्ला चार महिनायता बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । तर, कर्जाको ब्याजदर भने निरन्तर बढिरहेको छ । साउनदेखि कर्जाको ब्याजदर फेरि बढेको छ । बैंकहरुले निक्षेपको ब्याजदर नबढाएपनि राष्ट्र बैंकले नीतिगत दरहरु बढाएकाले बैंकहरुको लागत बढ्ने देखिन्छ । लागत बढेपछि आधार दर बढ्छ । आधार दर बढेपछि कर्जाको ब्याजदर पनि बढ्छ ।

प्रकाशित : श्रावण २२, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×