कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेल चालककाे याेग्यता : डिप्लाेमा पास, ३ वर्ष सहचालक भएकाे हुनुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — रेलको चालक र सहचालक बन्न सम्बन्धित विषयमा डिप्लोमा उत्तिर्ण गरेको र ४० वर्ष ननाघेको हुनुपर्ने भएको छ । राजत्रपमा प्रकाशित रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार चालक र सहचालक बन्न मान्यताप्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोवाइल विषयमा डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने उल्लेख छ । 

रेल चालककाे याेग्यता : डिप्लाेमा पास, ३ वर्ष सहचालक भएकाे हुनुपर्ने


त्यस्तै मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक वा सहचालकको तालिम लिई रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने छ । उमेर भने २१ बर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । रेल चालकको हकमा कम्तिमा तीन वर्ष रेलमा सहचालकको रुपमा काम गरेको हुनु पर्ने छ । सुरुमा रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चालक बन्न माध्यमिक तह पास गरेको र पाँच वर्ष सहचालक भएर काम गरेको हुनुपर्ने उल्लेख थियो । हाल संशोधन गरिएको हो ।

त्यस्तै विदेशी राष्ट्रबाट रेल चालक वा सहचालक अनुमतिपत्र प्राप्त गरेको भए त्यस्तो व्यक्तिले रेल चलाउन आवश्यक कागजी प्रक्रिया पूरा गरी निवेदन दिएमा रेलवे प्रशासकले चालक वा सहचालकको अनुमति पत्रका लागि लाग्ने दस्तुर लिई ऐन बमोजिम अनुपति पत्र दिन सक्ने छ । रेल चालक वा सहचालकले रेल चलाउनका लागि आफ्नो अनुमतिपत्र अन्य व्यक्तिलाई दिन पाउने छैन ।

यात्रुले टिकट वा अधिकारपत्र नलिई रेलवे प्लेटफर्ममा प्रवेश गर्न वा रेलमा यात्रा गर्न नपाउने जारी ऐनमा उल्लेख छ । रेलबाट यात्रा गर्न चाहने व्यक्तिलाई यात्रा बापत लाग्ने भाडा रकम बुझाएपछि रेलवे बोर्डले टिकट जारी गर्ने छ । बोर्डले कुनै ब्यक्तिले रेलबाट यात्रा गर्न भाडा तिर्नु नपर्नेगरी तोकिए बमोजिम अधिकार पत्र जारी गर्न सक्ने छ ।

यात्रीले रेलबाट यात्रा गर्न लाग्ने भाडा तिरी टिकट खरिद गर्न वा सो प्रयोजनका लागि अधिकारपत्र प्राप्त गर्नु पर्ने छ । बोर्डले यात्रीको सुविधाका लागि रेलवे स्टेसनमा अटोमेटिक टिकट भेन्डिङ मेसिन स्थापना गरेको भए यात्रुले गन्तब्य स्टेसनसम्म लाग्ने भाडा तिरी त्यस्तो मेसिनबाट टिकट लिन सक्ने छ । अहिले जयनगर–जनकपुर खण्डको ३४.९ किलोमिटर खण्डमा रेल सञ्चालनमा छ । थप १७ किलोमिटर विजलपुरा खण्डसम्म रेल चलाउने अन्तिम तयारी भएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । उनका अनुसार रेलवे कानुन आएसँगै विभिन्न अस्पष्टता हटेर गएको छ ।


प्रकाशित : श्रावण २०, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?