कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा बिजुली बेच्दा नेपालले कति शुल्क तिर्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले वर्षायाममा बढी भएको बिजुली भारतीय बजारमा बेचिरहेको छ । अहिले नेपालको करिब ३ सय ६४ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मा दैनिक बोलकबोल प्रक्रियाबाट खरिद–बिक्री भइरहेको छ ।

भारतमा बिजुली बेच्दा नेपालले कति शुल्क तिर्छ ?

गत असार मसान्तसम्ममा करिब पौने ४ अर्ब रुपैयाँको बिजुली भारतीय बजारमा बेचेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ । यसरी बिजुली बेच्दा निश्चित रकम सेवा शुल्कका रूपमा तिर्नुपर्छ । भारतीय बजारसम्म बिजुली पुर्‍याउन प्रयोग हुने प्रसारण लाइन, बिजुली बेच्न मध्यस्थता गरिदिने कम्पनी (नोडल एजेन्सी) र बोलकबोल प्रक्रिया (अक्सन) मा भाग लिएबापत आईईक्सलाई प्राधिकरणले निश्चित शुल्क तिरिरहेको छ ।

विद्युत् प्राधिकरणका अनुसार भारतमा बिक्री भइरहेको बिजुलीमा प्रतियुनिट औसत भारु ५३ (नेरु ८४.८) पैसा सेवा शुल्कका रूपमा खर्च भइरहेको छ । ‘भारतमा बिजुली बेच्दा लाग्ने कुल सञ्चालन खर्च भनेको प्रतियुनिट औसत भारु ५३ पैसा हो । यस्तो शुल्कमध्ये आईईक्सलाई प्रतियुनिट भारु २ पैसा, मध्यस्थकर्ता कम्पनीका रूपमा काम गर्ने एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई प्रतियुनिट भारु १.७५ पैसा (पौने दुई पैसा भारु) र बाँकी रकम ट्रान्समिसन चार्जका रूपमा जान्छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रसारण लाइनलाई तिर्नुपर्ने रकम (ह्विलिङ चार्ज) भनेको जति टाढासम्म बिजुली जान्छ, त्यति बढी हुन्छ ।’ भारतका विभिन्न ठाउँमा बिजुली पुर्‍याउँदा प्रसारण लाइनको शुल्क भारु ४२ पैसादेखि ४९ पैसासम्म तिर्ने गरेको उनको भनाइ छ ।

आईईएक्समा मध्यस्थता गरिरहेका कारण नेपालको बिजुली कहाँसम्म पुग्छ र त्यसका लागि करिडोर चार्ज कति तिर्नुपर्छ भन्ने निर्धारण एनभीभीएनले गर्छ । उल्लिखित सेवा शुल्क भारतको मुजफ्फरपुरभन्दा बाहिर जाने बिजुलीका लागि हो । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनका लागि भने नेपालले वार्षिक १ अर्ब रुपैयाँ तिर्ने गरी बुक गरेको छ । अर्थात् नेपाल–भारत बिजुली व्यापारमा ढल्लेबर–मुजफ्फरपुर प्रसारण लाइनको रकम पनि सेवा शुल्कका रूपमा लाग्ने खर्चमा जोडिन्छ ।

नेपालले यस वर्ष बिक्री गरेको बिजुलीमा कुल २१ करोड १० लाख ८१ लाख ७ सय ३४ रुपैयाँ सेवा शुल्कका रूपमा तिरेको प्राधिकरणको तथ्यांक छ । यसमध्ये करिडोर चार्जतर्फ १९ करोड ४३ लाख ६३ हजार ५ सय २२, आईईक्सलाई तिरेको रकम ८९ लाख १६ हजार ३ सय ७९ र एनभीभीएन चार्ज ७८ लाख १ हजार ८ सय ३१ रुपैयाँ रहेको छ । भारतसँगको विद्युत् व्यापारमा नेपालले ८ रुपैयाँ ३२ पैसा खुद नाफा कमाइरहेको प्राधिकरण प्रवक्ता भट्टराईले जनाए । ८४ पैसा सेवा शुल्कसमेत जोड्दा प्रतियुनिट औसत ९ रुपैयाँ १६ पैसामा बिजुली भारतमा बिक्री भइरहेको देखिन्छ । अर्थात् भारतसँगको बिजुली व्यापारमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनले तिने शुल्कबाहेक कुल बिजुली व्यापारको ९.१७ प्रतिशत रकम सेवा शुल्कका रूपमा खर्च भइरहेको छ । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) ले पाउँछ ।

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष भारतलाई करिब १६ अर्ब रुपैयाँ बराबरको बिजुली बेच्ने बताउँदै आएको छ ।

उक्त परिमाणमा बिजुली बिक्री हुँदा (पीटीसीएन) लाई तिर्नुपर्ने शुल्कको अनुपात करिब ६.२५ प्रतिशत बराबर हुन जान्छ । यसरी आईईएक्स, एनभीभीएन र करिडोर चार्जमा ९.१७ प्रतिशत र पीटीसीएनलाई तिर्नुपर्ने ६.२५ प्रतिशतसमेत गर्दा नेपालले कुल बिजुली व्यापारमा १५.४२ प्रतिशत सेवा शुल्कमा मात्र खर्च हुने देखिन्छ । पीटीसीएनमा नेपाल विद्युत् प्राधिकरण, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), पावर ग्रिड कर्पोरेसन इन्डिया लिमिटेड (पीजीसीआईएल) र आईएल एन्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड (आईईडीसीएल) को संयुक्त स्वामित्व छ ।

प्रकाशित : श्रावण १८, २०७९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?