कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

तुलसीपुर हवाई इन्धन डिपोमा तालाबन्दी

दुर्गालाल केसी

दाङ — तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी भएको छ । दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले आइतबार संयुक्त रूपमा ताला लगाएका हुन् ।

तुलसीपुर हवाई इन्धन डिपोमा तालाबन्दी

जहाजमा तेल भर्न जेठ १२ गते ११ हजार लिटर क्षमताको बाउजर ल्याइएको थियो । इन्धन भर्न प्रयोग हुने बाउजर अझै सञ्चालनमा आइसकेको छैन । लामो प्रयासपछि मात्र नियमित सञ्चालनमा आएको विमानस्थलाई बन्द गराउने षड्यन्त्रस्वरूप बाउजर लैजान थालिएपछि ताला लगाउनुपरेको उपप्रमुख चौधरीले बताइन् ।

नेपाल आयल निगम तुलसीपुरमा ध्यानाकर्षणपत्र बुझाई बाउजर नलैजान सचेत पनि गराइएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष चालिसेले बताए । ध्यानाकर्षणपत्रमा बाउजरलाई यथावत राख्न अनुरोध गर्दै मागको बेवास्ता गरे सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिइएको उनले जानकारी दिए ।

दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन ओसारपसारका लागि ल्याइएको बाउजर । तस्बिर : रासस

तुलसीपुर डिपोमार्फत नेपाल आयल निगम केन्द्रीय कार्यालय काठमाडौं, क्षेत्रीय कार्यालय नेपालगञ्ज, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत पत्र पठाइएको चालिसेले बताए । टरिगाउँ विमानस्थलमा हालसम्म नेपाल वायु सेवा निगमको जहाज मात्रै चल्दै आएको छ । इन्धन डिपो नभएकै कारण अन्य जहाजहरु सञ्चालन हुन सकिरहेका छैनन् ।

आयल निगमबाट बाउजर काठमाडौं पठाएर अर्को ल्याउने आश्वासन पाएको आयल निगम तुलसीपुर डिपो प्रमुख विपिन श्रेष्ठले बताए । अहिले स्थानीयले बाउजर लैजान नपाइने माग गरेपछि उक्त जानकारी केन्द्रमा गराएको उनले बताए ।

प्रकाशित : श्रावण १५, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?