२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छ : मन्त्री बडू

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको बुधबार निरीक्षण गरेपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छ : मन्त्री बडू

सरकारको स्वामित्वमा रहेको र हाल बन्द भएको चुरोट कारखानाका मेसिनहरुको अध्ययनपछि उनले उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताए । मन्त्री बडूले सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताए।

उनले पुराना उद्योगहरू पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने बताए । सरकारी स्वामित्वका रुग्ण उद्योगहरु निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भए पनि सञ्चालनमा ल्याउने उनको भनाइ छ। सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग बन्द छन् । बडूले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने 'जनकपुर चुरोट कारखाना अहिले निकै बेहाल अवस्थामा रहेको देखियो । कारखानाको सम्पत्ति कति उपयोग गर्न सक्ने अवस्थामा छौं । उद्योग चलाउँदा पुराना मेसिनहरु कति उपयोगमा आउन सक्छन् । किन उद्योग चलाउन सकिन्न ? त्यसको पनि सरकारले अध्ययन गर्नुपर्छ ।' निजी क्षेत्रलाई कारखाना लिजमा दिएर नाफा कमाएर सरकारलाई राजश्व तिर्न भन्न पनि सकिने उनले बताए ।

प्रकाशित : श्रावण ११, २०७९ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x